नेपालमा कोरोना घटेकै हो त ?

नेपालमा कोरोना भाइरस संक्रमित संख्या दिनहुँ घटिरहेको छ। ठूला पर्व दसैं र तिहारसँगै पिसिआर परीक्षण पनि घटेको छ।

संख्याका आधारमा परीक्षणकै अनुपातमा संक्रमितको तथ्यांक आउँछ। तर, पछिल्लो एक महिनाबीच परीक्षण संख्याकै आधारमा संक्रमण हुने दर पनि न्यून देखिएको छ।

तथ्यांकका आधारमा आमसर्वसाधारणदेखि कतिपय स्वास्थ्यविदसमेत नेपालमा कोरोनाको जाेखिम घटेको विश्लेषण गरिरहेका छन्। तर, भाइरस र महामारी विज्ञ भने यसमा सहमत छैनन्।

स्वास्थ्य मन्त्रालयको नियमित आँकडाले मृत्यु संख्या बढे पनि कोरोना संक्रमण दर घटेको देखाइरहेको छ।

नेपालमा कात्तिक १३ गते संक्रमण दर २४.१९ प्रतिशत थियो। त्यसको एक महिनापछि (मंसिर १३) मा संक्रमण दर १३.४ प्रतिशत झरेको छ।

अर्थात, संक्रमण दर १०.७९ प्रतिशत घटेको छ।

कात्तिक १३ मा ९ हजार ७ सय ६९ जनाकाे परीक्षण हुँदा २ हजार ३ सय ६४ मा संक्रमण पुष्टि भएको थियो।

एक महिनापछि मंसिर १३ मै ९ हजार ३ सय ६८ जनामा परीक्षण हुँदा १ हजार ३ सय ८० जनामा संक्रमण पुष्टि भएको स्वास्थ्य मन्त्रालयको तथ्यांकले देखाउँछ।

यो तथ्यांकले नेपालमा संक्रमण दर घटेको देखिएको छ। तर, विज्ञहरूले यसलाई नतिजाभन्दा ‘कृत्रिम चित्र’ मात्रै भनेका छन्।

संक्रामक रोग विशेषज्ञ डा. अनुप सुवेदी उक्त तथ्यांकले वास्तविकता दिन नसकेको बताउँछन्।

‘उक्त तथ्यांकले अहिलेको कृत्रिम चित्रमात्रै दिन्छ,’ डा. सुवेदीले हेल्थपोस्टसँग भने, ‘यसले वास्तविकताको प्रतिविम्ब दिएको छैन।’

डा. सुवेदीका अनुसार नेपालमा संक्रमण घट्नुका वा परीक्षणमा नेगेटिभ बढ्नुका ५ कारण छन् :

पहिलो- अधिकांशमा लक्षण सुरू भएको सात दिनपछि मात्रै पिसिआर परीक्षण गर्नु

स्वास्थ्यमा गम्भीर समस्या निम्तिएपछि मात्रै अस्पताल जाने जमातको संख्या बढेको देखिएको छ। तर, परीक्षण गराउने प्रवृत्तिमा परिवर्तन आएको छ।

भाइरस लक्षण भएका मानिस एकदेखि दुई सातासम्म घरै बस्ने र रोगले गलाएपछि र कडा लक्षण देखिएमात्रै अस्पताल आउने गरेको पाइएको छ।

उनीहरू सकेसम्म कोरोना परीक्षण नगराइकनै भाइरस परास्त गर्न सकिन्छ भन्ने मनाेविज्ञनबाट गुज्रिएका छन्।

‘कोरोना उपचार तथा परीक्षण महँगो भएका कारण सबैको पहुँचमा छैन,’ डा. सुवेदी भन्छन्, ‘त्यसमाथि कोरोना लागिहाले औषधी उपचार छैन भन्ने मानसिकतामा घर बसेका छन्। रोगले नगलाएसम्म मानिस घरमै रोग पालेर बसिरहेका छन्।’

ढिला परीक्षण गर्ने बानीले पनि वास्तविक चित्र नदिएको बुझाइ डा. सुवेदीको छ।

लक्षण सुरु भएको दुई-चार दिनमा कोरोना परीक्षण गरियो भने पिसिआरले पोजिटिभ देखाउने सम्भावना बढी हुन्छ। तर, लक्षण सुरू भएको हप्ता दिनमा परीक्षण गर्दा त्यसको प्रभाव धेरै घट्नसक्छ, अथवा पिसिआरले पोजिटिभ नदेखाउन पनि सक्छ।

डा. सुवेदीका अनुसार ढिलो परीक्षण गर्ने अनुपात बढिरहेको छ।

सुरुमा एक-दुई दिन ज्वरो, खोकी र अन्य समस्या देखा पर्‍याे। तर, त्यो समस्याले आठ-१० दिनपछि थप समस्या निम्त्यायो। उदाहरणका लागि अक्सिजन लेभल घट्न थाल्यो वा श्वासप्रश्वासमा समस्या हुने गरेका व्यक्ति अस्पताल जान्छन्।

यो बेला उनीहरूमा संक्रमण नेगेटिभ देखिन सक्छ। तर, स्वास्थ्य समस्या भने गम्भीर हुन्छ।

‘समस्याले गलाएपछि मात्रै मानिस पिसिआर परीक्षण गर्ने र अस्पताल आउने गरेका छन्। त्यसतिबेला रोग नै रहेछ भने पनि पिसिआर नेगेटिभ देखिनसक्छ,’ डा. सुवेदी भन्छन्, ‘यस्ता कारणले गर्दा पनि संक्रमण दर घटिरहेको देखिएको छ।’

दोस्रो- वैदेशिक रोजगारीकf लागि परीक्षण गर्ने संख्या बढ्नु

नेपालबाट विदेश जान बाध्यामक रूपमा पनि पिसिआर अनिवार्य गरिएको छ। विस्तारै उडान संख्या बढेसँगै विदेश जाने क्रम पनि बढ्दो छ। घटिरहेको परीक्षण गराउनेमा पनि विदेश जान परीक्षण गराउनेको संख्या बढी छ।

जसका लागि हजारौं संख्या बढेको छ तर संक्रमण दर कम गराइरहेको छ। तर, जोखिम समूहमा नपरेका यस्ता व्यक्तिहका परीक्षण गर्दा नेगेटिभ रिपोर्ट दर बढिरहेको छ।

‘अहिले अधिंकाशले वैदेशिक रोजगारीका लागिमात्रै परीक्षण गर्ने गरेका छन्। उनीहरूमा कोरोनाको जोखिम नभएत पनि बाध्यतात्मक कारणले परीक्षण गरिरहेका हुन्,’ डा. सुवेदीले भने, ‘यस्ता मानिसको परीक्षण हुँदा नेगेटिभ आउने सम्भावना बढी हुन्छ।’

डा. सुवेदीका अनुसार यस्ता विभिन्न कारणले पनि अहिले नेगेटिभ हुने प्रतिशत बढिरहेको छ।

तेस्रो- संक्रमण गति थाहा नहुनु 

महामारीले आफ्नो गति लिने गरेको हुन्छ। इटाली, चीन तथा अन्य युरोपेली देशमा केही समय अगाडि संक्रमण तथा मृत्यु दर धेरै बढ्यो। तर, ती देशले जनस्वास्थ्यका दृष्टिकोणबाट गरेका कामले संक्रमण दर घट्न धेरै मद्दत मिल्यो।

संसारमा केही देशले राष्ट्रिय प्रयासबाट नै कोरोना पराजित गरेका छन्।

ती देशले संक्रमण दर कम गर्न धेरै संख्यामा परीक्षण, आइसोलेसन तथा क्वारेन्टिनको राम्रो व्यवस्था, कन्ट्याक्ट ट्रेसिङको गति छिटो हुनाले भएका थिए।

तर, नेपालमा अझै पनि संक्रमण अवस्था यकिन हुन सकेको छैन।

डा. सुवेदीका अनुसार सरकारले जनस्वास्थ्यका दृष्टिकोणले उचित कुनै पनि काम गरेको छैन।

‘परीक्षण संख्या घटाइएको छ। कन्ट्याक्ट ट्रेसिङ त भएकै छैन। आइसोलेसन र क्वारेन्टिन पनि उचित किसिमले भएको छैन,’ डा. सुवेदीले भने, ‘यस्ता कारण अझै जोखिम समूह पहिचान गर्न गाह्रो भइरहेको छ।’

चौथो- संक्रमण पूरै समुदायमा नफैलिनु

सरदरमा हेर्ने हो भने एक घरमा एकजनालाई मात्रै संक्रमण भएको अवस्था छ।

डा. सुवेदीकf अनुसार नेपालमा कोरोना महामारीको अवस्था आउन अझै बाँकी छ।

एकचोटि समुदायस्तरमा नै संक्रमण फैलिएपछि मात्रै संक्रमण दर विस्तारै कम हुने उनको अनुमान छ।

‘नेपालमा रोग पूरै फैलिएर संक्रमित हुनुपर्ने हो, त्यति भएको छैन,’ डा. सुवेदीले भने, ‘समूदायस्तरमा संक्रमण अझै भएको छैन। जोखिम समूहलाई संक्रमण हुन अझै बाँकी छ।’

डा. सुवेदीको उदाहरण यस्तो छ-

विकसित देशमा हेरौं, इटालीका सडकमै मृत्यु हुने अवस्था आउँदा पनि ६-७ प्रतिशत मानिसमा मात्रै संक्रमण भएको थियो।

ठूला-ठूला सहरमा २० प्रतिशतसम्म पुगेको थियो। तर, त्यस्ता देशले जनस्वास्थ्यमा काम गरेपछि संक्रमण दर कम भयो।

तर, नेपालमा समुदायस्तरमा नफैलिएकाे हुनाले महामारीको रूप अझै बाँकी रहेको छ।

पाँचौ- परीक्षणै नगरी होम आइसोलेसन बस्ने प्रवृत्ति

अस्पताल आउने बिरामीको तथ्यांक हेर्दा परीक्षणै नगरी हाेम आइसाेलेसन बस्ने सख्या बढिरहेको छ।

जसले गर्दा समग्रमा संक्रमित संख्या घटेको त देखिएको छ तर, मृत्यु हुने संख्या भने बढिरहेको डा. सुवेदी बताउँछन्।

होम आइसोलेसन बसेकालाई पनि विभिन्न समस्या देखिन थालेका छन्।

‘होम आइसोलेसनमा संक्रमित व्यक्ति मात्रै छुट्टै बसेर हुँदैन। परिवारका अन्य व्यक्ति पनि छुट्टै बस्नुपर्छ। घुलमिल हुनाले संक्रमण फैलिनसक्छ,’ उनी भन्छन्, ‘नेपालमा सुरक्षित होम आइसोलेसनमा एदकमै कम मान्छे छन्।’

उनका अनुसार आइसोलेसन सेन्टरमा राख्ने जिम्मा सरकार, महानरपालिकाले गर्नुपर्ने हो।

‘घरमा बसेकाले स्वास्थ्यको निगरानी राम्रो नगर्दा मृत्युको मुखसम्म पुगेका छन्,’ डा. सुवेदी भन्छन्, ‘स्वास्थ्य निगरानीमात्रै राम्रो भयो भने पनि धेरै बिरामीलाई बचाउन सकिथ्यो।’

डा. सुवेदीका अनुसार होम आइसोलेसन बस्ने संक्रमितले पल्स अक्सिमिटरमा अक्सिजनको मात्रा हेर्ने र ९० भन्दा तल जाँदा तुरुन्तै अस्पताल जानुपर्छ।



Leave a Reply

Your email address will not be published. Required fields are marked *