‘मृत्यु भएका ‘सरकारी’ स्वास्थ्यकर्मीका परिवारलाई मात्रै २५ लाख राहत’

चिकित्सक र स्वास्थ्यकर्मीमा पनि कोरोना संक्रमणको दर बढ्दै गएको छ।

कतिपय स्वास्थ्यकर्मीको मृत्यु पनि भइसकेको छ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको तथ्यांक अनुसार कोरोना संक्रमणबाट १२ जना स्वास्थ्यकर्मीले ज्यान गुमाइसकेका छन्।

नेपालमा कोरोना संक्रमणबाट ५ जना चिकित्सकको मृत्यु भइसकेको मन्त्रालयका सह—प्रवक्ता डा. समीर अधिकारीले बताए।

‘कोरोना संक्रमणबाट ५ जना चिकित्सकको मृत्यु भएको छ’ डा. अधिकारीले भने, ‘मृत्यु हुनेमा नर्स, अहेब, ल्याब टेक्निसियन पनि छन्।’

सरकारले कोरोना भाइरसको रोकथाम तथा उपचारमा खटिएका स्वास्थ्यकर्मीलाई मृत्य भएमा स्वास्थ्यकर्मीको परिवारलाई २५ लाख दिने निर्णय गरेको छ।

कोरोना संक्रमित स्वास्थ्यकर्मीको सम्पूर्ण उपचार खर्च सरकारले बेहोर्ने र मृत्यु भइहालेको खण्डमा मृतकका परिवारलाई नगद २५ लाख राहत दिने निर्णय सरकारले गरिसकेको छ।

तर, मन्त्रालयका प्रवक्ता डा. जागेश्वर गौतमका अनुसार उक्त रकम सरकारी स्वास्थ्यकर्मीले मात्रै पाउँछन्।

‘हामीले जो—कोहीलाई दिन सक्दैनौं। यो राहत रकम कोरोना उपचारमा खटिएका स्वास्थ्यकर्मीका मात्रै परिवारले पाउँछन्,’ डा. गौतमले हेल्थपोस्टसँगको कुराकानीमा भने, ‘त्यसमाथि पनि सरकारी स्वास्थ्य कर्मचारी हुनुपर्दछ।’

डा. गौतमका अनुसार निजी स्वास्थ्य संस्थामा काम गर्ने चिकित्सकको मृत्यु भएमा त्यसको जिम्मा सरकारले लिँदैन।

‘सरकारले सरकारी स्वास्थ्य कर्मचारी मात्रै रकम दिन्छ। निजीमा काम गर्ने कर्मचारीको हकमा उहाँहरूकै संस्थाले व्यवस्थापन गरेको होला,’ डा. गौतमले भने।

मन्त्रालयको तथ्यांक अनुसार देशभर ५ हजारभन्दा बढी स्वास्थ्यकर्मी कोरोनाबाट संक्रमित भइसकेका छन्।

जसमध्ये आधाभन्दा बढी संक्रमित स्वास्थ्यकर्मी उपत्यकामै छन्।

कोभिड–१९ अस्पताल, प्रयोगशाला, होम आइसोलेसन, क्वारेन्टाइन, कन्ट्याक्ट ट्रेसिङजस्ता अग्रपंक्तिमा काम गर्ने स्वास्थ्यकर्मीमा संक्रमण बढिरहेको अधिकारीले बताए।

संक्रमण दर बढि भएका अस्पताल वा क्षेत्रका चिकित्सकहरूले स्वास्थ्यकर्मीलाई साप्ताहिक सिफ्ट बनाएर काम नगर्दा संक्रमण बढिरहेको  छ।

त्यस्तै विश्व स्वास्थ्य संगठनको प्रोटोकलको पालनामा संस्था वा व्यक्तिबाट हुनसक्ने कमजोरी र बिरामीसँग दूरीमा आवश्यक सावधानी नअपनाउँदा पनि संक्रमण बढिरहेकोस्वास्थ्यकर्मी संगठनहरूको ठहर छ।

नेपालमा कोरोना संक्रमितको संख्या २ लाख २९ हजार ३४३ जना पुगेको छ। जसमध्ये संक्रमणमुक्त हुनेको संख्या २ लाख ९ हजार ४ सय ३५ पुगेको छ। १ हजार ४ सय ३५ जनाको मृत्यु भइसकेको मन्त्रालयले जनाएको छ।

 

 

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित समाचार

  • ताजा समाचार
  • जनप्रिय