झापाको शनिश्चरेमा आँखा अस्पताल सञ्चालनमा
झापाको पुरानो शहर शनिश्चरेमा आँखा अस्पताल सञ्चालनमा आएको छ।
स्थानीय स्तरमा नै आँखा तथा कानको उपचार सेवा दिने उद्देश्य अस्पताल सञ्चालनमा ल्याइएको अस्पतालका डा. रविन्द्र ओलीले बताए ।
अस्पतालको अर्जुनधारा नगरपालिकाका प्रमुख हरिकुमार रानाले उद्घाटन गरेका हुन् ।
अस्पतालले दशैं अघि नै सेवा सुरु गरेको थियो।
औपचारिक रुपमा सेवा बिस्तार गर्न केही समय लागेको डा.ओलीले बताए।
सेवा बिस्तारसँगै आँखा तथा कानका बिरामीले अन्य अस्पताल जानु पर्ने बाध्यता हटेको छ।
बिर्तामोडको दृष्टि आँखा हस्पिटलसँगको सहकार्य र प्राविधिक सहयोगमा सेवा बिस्तार गरिएको अस्पताल व्यवस्थापन समिति अध्यक्ष पुष्प प्रसाईँले बताए । अस्पतालमा दैनिक ४ सय देखि ५ सय जनासम्म सेवाग्राही आउने गरेका छन्।
पहिला सोमबार र बिहीबार मात्रै सेवा दिँदै आएको अस्पतालले अहिले सातै दिन सेवा उपलब्ध गराएको अध्यक्ष प्रसाईंको भनाइ छ।
विशेष गरेर अस्पतालमा झापाको अर्जुनधारा नगरपालिका, बुद्धशान्ति गाउँपालिका, इलामको माई नगरपालिका, सुर्योदय नगरपालिका र रोङ गाउँपालिकाका र इलाम नगरपालिकाका बिरामी आउने डा. ओलीले जानकारी दिए ।
समय सापेक्ष र आवश्यकताअनुसार अस्पतालको स्तर वृद्धि गर्दै लाने सञ्चालकहरुको योजना छ।
अस्पतालबाट प्रभावकारी सेवा दिइरहेको उनीहरूले दाबी समेत गरे।
दृष्टिका सञ्चालक राम उप्रेतीले अर्जुनधारा नगरपालिकासँगको सहकार्यमा सेवा सुरु गरिएको जनाए।
उनले सेवाग्राहीको चाप भएको अस्पताल तथा स्वास्थ्य केन्द्रमा सहकार्य गर्ने दृष्टिको योजना रहेको सुनाए।
ओपीडी सेवा निःसुल्क दिन सुरु गरेको अस्पतालले आँखा तथा कानको उपचारमा स्वास्थ्य बीमा गरेका व्यक्तिले पनि सेवा लिन सक्ने छन् ।
अस्पतालमा आठ जना बढी चिकित्सकले आँखा र कानका बिरामीलाई सेवा दिँदै आएका छन् ।