अमेरिकामै अस्ताए प्रिय डाक्टर रोसनदाइ!
मन भक्कानिएको छ।
ओठहरू कापिरहेका छन्।
डियर रोसन झा दाइ। तपाइलाई कसरी भनौ अबिदा भनेर!
आखिर दैवको नियति यस्तै रहेछ। हुनेहार दैव नटार भन्ने उखान चरितार्थ भएझै लागिरहेको छ।
विगतमा तपाईसँग बित्ताएका एकएक पल मानसपटलमा घुमिरहेका छन्।
तपाईको बारेमा केही लेख्दै सकेको छैन। केही लेख्दा खोज्दा हात कापिरहेका छन्।
अमेरिकामा डा. रोसन झाको ३३ वर्षको उमेरमा बुधबार निधन भयो। एक कुसल डाक्टर गुमाउनु परेपछि डाक्टरआयास लुइँटेलले डाक्टर स्टोरी नेपालको पेजमा निकै भावुक बनेर लेखेका शब्द हुन् माथिका।
‘एउटा असल डाक्टर सदासादका लागि यस धर्तीबाट बिलिन भएका छन्। यो दैवको कठोर निर्णय हो’, डा. लुईटेलले भनेका छन्, ‘रोशन दाइ हजुरको आत्माको चीर शान्तिको कामना।’
डा. झाको ४ दिनअघि अमेरिकाको न्युवर्कमा निधन भएको हो। तर, उनको मृत्युको कारण भने खुलेको छैन।
उनी करिब ३ वर्ष अगाडी अध्ययनको लागि अमेरिका पुगेका थिए।
मेडिसिन विषयमा पिजी अध्ययानका लागि अमेरिका पुगेका डा. झाले पढाईपछि उतै करिअर अगाडि बढाएका थिए ।
सोसाइटी अफ इन्टर्नल मेडिसिन अफ नेपालका अध्यक्ष डा. महेश राज सिग्देल झालाई चिकित्सक क्षेत्रका एक अब्बल व्यक्तिको रूपमा लिन्छन्।
‘ज्ञान तथा व्यवहारको हिसाबले एक दक्ष हुनुहुन्थ्यो,’ डा. सिग्देलले भने , ‘उहाँको पढाईंप्रतिको लगनशीलताले जो—कोहीँ पनि लोभिन्थे।’
०००
डा. झाले धरानबाट एमबिबिएस गरेका थिए।
उनले केही वर्ष अगाडी मनमोहन कार्डियो सेन्टरमा मेडिकल रेजिडेन्ट रुपमा काम गरेका थिए।
डा. सिग्देलका अनुसार झाको मृत्यु मुटुको कारणले भएको आशंका गरिएको छ।
‘उहाँ साह्रै मिलनसार हुनुहुन्थ्यो। प्रोफेसरहरूले पनि रोसन दाइलाई औधी राम्रो मान्नु हुन्थ्यो’, डा. लुईटेलले भन्छन्, ‘राउन्डमा प्रश्नहरू सोध्दा प्रश्नहरू पास हुँदै जान्थे।दाइ सामु पुगेको जति नै गाह्रो प्रश्न होस, त्यसले सजिलै उत्तर पाउँथ्यो।’
डा. झा एमबिबिएस पढ्दादेखि नै पढाइमा अब्बल थिए। ‘उहाँ झर्केको, रिसाएको या कसैसँग नराम्रो व्यवहार गरेको मैले कहिले थाहा पाइन। ज्ञानको भण्डार नै हुँदा पनि उहाँमा कहिले घमन्ड आएन’, डा. लुईटेलले भने।
उनले डा. झाको विरामीसँग गर्ने व्यवहार पनि एकदमै भद्र हुने गरेको बताए।
उनी समयसँगै अगाडि बढ्न चाहने व्यक्ति भएको डा. लुईटेलको बुझाइछ।
‘बन्नुपर्ने त यस्तो डाक्टर पो हो, कस्सो नसकिएला? गफ गर्दा र काम गरेको देख्दा हामीलाई पनि उहाँ जस्तै मिजासिलो बन्नुपर्छ भन्ने लाग्थ्यो’, उनले भने।
डा. झा सोसाइटी अफ इन्टर्नल मेडिसिन अफ नेपालका आजीवन सदस्य रहेका थिए। सोसाइटीले उनको निधनप्रति दु:ख व्यक्त गरेको छ।