होटलबाट चल्दै वीर अस्पतालको अफिस
मुलुककै जेठो अस्पताल वीरका स्वास्थ्यकर्मी तथा कर्मचारी ४० दिनदेखि आन्दोलनमा छन्। यति लामो आन्दोलन गर्दा पनि उनीहरूका माग अझै पूरा भएका छैनन्।
चिकित्सा विज्ञान राष्ट्रिय प्रतिष्ठान (न्याम्स) का स्वास्थ्यकर्मीहरूले अस्पताल प्रशासनले बेवास्ता गरेको भन्दै मंसिर ४ देखि पदाधिकारीलाई अस्पताल प्रवेश निषेध गरेका छन्। उनीहरूले पदाधिकारीहरूलाई नै बहिष्कार गरेर आन्दोलनलाई चर्काएका हुन्।
नेपाल स्वास्थ्यकर्मी संघ वीर अस्पतालका अध्यक्ष खुबराज आचार्यले निषेध गरिसकेपछि यसबारे अस्पताल प्रशासनको ध्यानार्कषण हुन्छ कि भन्ने आसा गरिए पनि उल्टो भएको बताए।
‘अस्पताल प्रशासनलाई दबाब पुग्नु त कहाँ हो कहाँ, यहाँ त ठ्याक्कै उल्टो भइरहेको छ,’ आर्चायले भने, ‘माग पूरा गर्न सकिँदैन भनेर विज्ञप्ति निकाल्दै, वीर अस्पतालमा निषेध ग¥यो भनेर पदाधिकारीहरू होटल एलो प्यागोडामा अफिस राखेर काम गरिरहेका छन्। के यो न्यासंगत छ?’
स्वास्थ्य मन्त्रलायले पनि केही नहेरेको उनको गुनासो छ। ‘यति धेरै दिन आन्दोलन भइरहँदा पनि स्वास्थ्य मन्त्रालय आँखामा पट्टी बाँधेर बसेको छ,’ उनले भने, ‘पदाधिकारीसमेतलाई निषेध गरे पनि किन गरेको भनेर सोध्न वा छानबिन गर्न कोही आएका छैनन्।’
आचार्यले ‘स्रोत छैन भन्दै दिनरात काम गरेका कर्मचारीको बेवास्ता गर्ने अस्पताल प्रशासनलाई होटलमा बसेर अफिस चलाउने पैसा कहाँबाट आयो’ भन्ने प्रश्न गरेका छन्।
‘अहिले अस्पतालबाट फाइल मगाएर सही गर्ने काम होटलबाटै भइरहेको छ। यो कतिसम्म सही हो?,’ आचार्यले भने, ‘समस्या समाधान गर्न नसक्ने पदाधिकारीले पद ओगटिराख्नुको कुनै औचित्य छैन। अब त उनीहरूको पदमाथि नै प्रश्न उठ्न थालेको छ।’
कामै नलाग्ने पदाधिकारीले राजीनामा नदिएसम्म आन्दोलन जारी रहने र झनझन चर्काउँदै जाने आचार्यको भनाइ छ।
उनले बिहीबार प्रधानमन्त्री तथा मन्त्रिपरिषदको कार्यालयमा समेत ज्ञापनपत्र बुझाइएको बताए।
‘प्रधानमन्त्रीज्यू नभएका कारण उहाँको सरकारी निवासमा ज्ञापनपत्र बु्झाएर आएका छौं,’ उनले भने।
वीर अस्पतालका कार्यकारी निर्देशक डा. केदार सेन्चुरी भने काम बन्द नहोस् र सेवा प्रभावित नहोस् भनेर होटलमा बसेर काम गरिरहेको बताउँछन्।
कोरोना भत्ता जुटिसकेपछि आन्दोलित कर्मचारीलाई वार्ताका लागि बोलाइने उनले बताए। उनले तत्काल अन्य भत्ताको व्यवस्था भने गर्न नसकिने बताए।