दुईचोटी कोरोना संक्रमित भएकी नर्स भन्छिन् -स्वास्थ्यकर्मीहरु नै हेँलाको दृष्टिले हेर्थे

अहिले म ३७ वर्षकी भएँ। १४ वर्षदेखि स्टाफ नर्स भएर काम गरिरहेकी छु। सुरुमा एक वर्ष मोरङको एउटा निजी अस्पतालमा काम गरेँ। त्यसपछि लोकसेवा दिएर २०६५ सालमा सरकारको छैठौं तहमा नाम निकालेँ। सात वर्षदेखि पर्सामा रहेको नारायणी अस्पतालमा काम गरिरहेकी छु। त्यसअघि इलामको एक स्वास्थ्य संस्थामा काम गरेँ।

परिवारमा श्रीमान र एउटा ६ वर्षको छोरा। तीनैजना अस्पतालको क्वार्टरमा बस्थ्यौंं। नारायणी अस्पतालमा गत चैत २९ देखि कोभिड–१९ का बिरामी हेर्न थालेँ।

बिरामी हेर्दाहेर्दै आफैं दुईपटक कोरोना पोजिटिभ हुन पुगेँ। चैत २९ मा कोरोना संक्रमितको सेवामा लागेको वैशाख ३१ मा आफैं संक्रमित भएँ।

अस्पतालमा कोरोना पोजिटिभ भएको सायद म पहिलो थिएँ होला नर्समध्ये। कोरोना पोजिटिभ भए पनि मलाई केही लक्षण भने देखापरेको थिएन। तर, कोरोना नेपाल छिरेको दुई महिना भएर पनि होला मलाई आफ्नै स्वास्थ्यकर्मीले हेर्न नजर पनि फरक भएको थियो। साथीहरू पनि अस्पतालको क्वार्टरमा बस्थे। उनीहरूले पनि साथ दिएका थिएनन्। उनीहरूले नराम्रो व्यवहार र हेँलाको दृष्टिले हेर्थे।

पहिलोपल्ट कोरोना पोजिटिभ भएका बेला साथीहरू ‘दुई जिब्रे’ भएका थिए। मसँग कुरा गर्दा ठिक हुन्छ पीर नलिनू भन्थे अनि मेरो पछाडि अस्पतालको प्रमुखलाई क्वार्टरबाट हटाउन दबाब दिइरहेका थिए। अचम्म लागेको थियो स्वास्थ्यकर्मी भएर आफ्ना साथीले यस्तो व्यवहार गरेको देखेर।

…..

पहिलोपल्ट मलाई कोरोना पोजिटिभ हुँदा छोरा र श्रीमानको भने नेगेटिभ रिपोर्ट आएको थियो। त्यसमा खुसी थिएँ। त्यसपछि सहकर्मीहरूले प्रमुखलाई दबाब दिएका हुनाले बिरामीसँग आइसोलेसन नबसी अस्पतालको एउटा क्वाबिनमा बस्न गएँ। १४ दिनपछि नेगेटिभ रिपोर्ट आयो र फेरि क्वार्टरमै बस्न थालेँ।

मान्छेहरु स्वार्थी हुदा रहेछन् भन्ने सुनेको मात्र थिएँ, तर कोरोना पोजिटिभ भएपछि थाहा भयो साँच्चै हो रहेछ। जति पढेलेखेका ज्ञानी भए पनि आफ्नो मर्ने–बाँच्ने कुरा आएपछि स्वार्थी हुने रहेछन्।

स्वास्थ्यकर्मीको सोच त परिवर्तन भएन भने समाजको कुरा छोडिदिउँ। मलाई त पछि समाजमा यस्तो गरे त्यस्तो व्यवहार ग¥यो भन्ने समाचार सुनेर केही आश्चर्य भएन। किनभने, म आफैंले भोगेँ नि, त्यो पनि स्वास्थ्यकर्मीबाटै। जसले कोरोनाबारे त्यो समयमा धेरै बुझेका थिए। समाजले त पछिमात्रै बुझ्न थालेको हो।

सुरुमा त कोरोनाबाट डर लागेको थिएन। जब आफूलाई पोजिटिभ भइसकेपछि चाहिँ डर लाग्यो। सुरुमा डर नलाग्नुको अर्को कारण, पहिला एचआइभी पोजिटिभ भएका बिरामीको सेवामा जुटेकी थिएँ। जब एचआइभी लागेको भनेपछि मान्छेलाई छुनै हुँदैनजस्तो व्यवहार गर्थे। त्यतिबेला नै उनीहरूको सेवामा लागेको भएर मलाई कोरोनादेखि डर नलागेको होला। साथै, कोरोना लागेपछि के हुन्छ भनेर धेरै थाहा पाएर पनि होला। धेरै ज्ञान भएको पनि कहिलेकाहीँ त बेफाइदा हुँदोरहेछ जस्तो लाग्यो।

……

दोस्रोपटक साउन २५ मा श्रीमानलाई कोरोना पोजिटिभ देखियो। त्यसको भोलिपल्ट म पनि संक्रमित भएँ। दोस्रोपटक भने केही समस्या भएन। किनभने त्यति बेलासम्म अस्पतालका अधिकांश स्वास्थ्यकर्मीलाई कोरोना पोजिटिभ भइसकेको थियो। लगभग नारायणी अस्पतालका ८० स्वास्थ्यकर्मीलाई कोरोना लागिसकेका थियो। दोस्रोपटक पनि पनि मलाई कुनै लक्षण देखिएको थिएन।

श्रीमानलाई भने कोरोनाको सबै लक्षण देखापरेका थिए। श्वासप्रश्वासमा समस्या, ज्वरो, खोकी, जिउ दुख्नेजस्ता समस्या थिए। त्यसपछि श्रीमानलाई नारायणी अस्पतालको आइसोलेसनमा लग्यौंं। श्रीमानसँगसँगै म पनि गएँ। खास श्रीमानको अवस्था गम्भीर भएको देख्दा त आइसियुमा राख्नुपर्ने हो। तर, अस्पतालमा आइसियुको बेड खाली नभएकै कारण उनलाई आइसोलेसमै राखेर उपचार गरियो

अस्पतालमा जम्मा पाँचमात्र आइसियु बेड थियो। सबैमा बिरामी थिए। अस्पतालको आइसोलेसनमा २५ दिन राखेर बिरामी र म डिस्चार्ज भएका थियौं।

कोरोना सुरु हुने बित्तिकै बाबुलाई आफ्नो माइती पठाएँ, उतै छ। यता राखेर पनि हेर्ने कोही छैन। श्रीमान पनि यही क्षेत्रमा हुनुहुन्छ। अहिलेसम्म कहिले पनि बिदा नलिई बिरामीको सेवा गरिरहेकी छु।

…..

डर छ, तर डर लाग्यो भनेर जागिर नै छोड्छु भनेर मनमा चाहिँ कहिल्यै लागेन। अहिले पनि कोरोना केही होइन भनेर बस्ने छन्

आफूलाई परेपछि थाहा हुन्छ भनेर नबस्नू। अरूले भोगेका पीडा देखेर सतर्क हुन अनुरोध गर्दछु। कोरोना भ्याक्सिन कहिले आउँछ थाहा छैन। त्यसैले मास्क लगाउन, सकेसम्म भौतिक दुरी कायम गर्न र समयसमयमा हात धुनुहोला। यति गरे आफू, अनि परिवार र समाजलाई कोरोनाबाट बचाउन सकिन्छ।

कोरोनाले आइसियु र भेन्टिलेटरमा राख्नुपरे ज्यान बच्छ कि बच्दैन, ठेगान हुँदैन। त्यसैले सबैजना सतर्क भएर स्वास्थ्स्य सुरक्षा अपनाएर आफ्नो काम गर्नुहुन अनुरोध गर्दछु।

अहिले नारायणी अस्पतालमा भदौसम्म कोरोनाका बिरामीलाई सेवा दिएका थिए। अहिले भने पर्सामा अवस्थित नेसनल मेडिकल कलेजले कोरोनाका बिरामी हेर्ने गरेको छ। अहिले कोरोनाका बिरामी आए त्यहाँ पठाइरहेका छौं।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित समाचार

  • ताजा समाचार
  • जनप्रिय