कोरोनाले गलाएकी नर्स– आफैंलाई श्रद्धाञ्जली लेखौंजस्तो लागेको थियो!

हेल्थपोस्ट नेपाल

कोरोनालाई सामान्य लिनु हुँदैन। र, कसैले पनि सामान्य लिने चेष्टा नगर्नुहोला!

कोरोनालाई बालबाल जितेकी एक नर्स भन्छिन्, ‘जतिबेला म अस्पताल पुगेँ। ममा बाँच्ने झिनो आसा पनि थिएन। मलाई लाथ्यो म जीवनको अन्तिम पल बाँचिरहेकी छु। ढुकढुक हुने मुटुको कुन धडकन अन्तिम हुन्छ? मनमा डर भइरहन्थ्यो। र, लाग्थ्यो जीवन केही पनि रहेनछ।’

कल्पना श्रेष्ठ, नेपाल नर्सिङ संघकी कोषाध्यक्ष पनि हुन्। उनी वीर अस्पतालमा अध्यापन गराउँछिन्।

संघको महत्वपूर्ण जिम्मेवारीमा रहेकी उनी कोरोना कहरबीच स्वास्थ्यकर्मीका समस्या समाधानका लागि थुप्रै अस्पताल पुगिन्। थुप्रै छलफलमा सहभागी भइन्।

कोरोना संक्रमितको उपचारमा खटिएका नर्सलगायत स्वास्थ्यकर्मीले कुनै समस्या भोग्न नपरोस् भन्ने ध्येयसाथ उनी दौडिरहेकी हुन्थिन्। आखिर उनको पदीय जिम्मेवारी पनि त त्यही हो।

जिम्मेवारी पालना गर्दागर्दै उनमा कतिबेला कोरोना संक्रमण भयो पत्तै भएन।

कात्तिक २५ रातिदेखि कल्पनाको शरीर गल्न थाल्यो। जिउमा शक्ति नै छैन झैं हुन थाल्यो। टाउको टन्टन्ती दुख्यो। मुखले स्वाद पाउन छोड्यो। ज्वरो र खोकीले विस्तारै शरीर गाल्दै गयो। शरीरको कुनै पनि भाग दुख्न बाँकी रहेन र स्वाब दिन अस्पताल जाने निधो गरिन्।

उनले भोलिपल्टै वीरको प्रयोगशालामा स्वाब दिइन्।

कोरोनाका सबै लक्षण मिल्दोजुल्दो रहेको हुँदा संक्रमण हुन सक्ने पक्कापक्की जस्तै थिइन्। स्वाब दिएको २४ घन्टापछि रिपोर्ट आयो– कोरोना पोजिटिभ।

आफैं स्वास्थ्यकर्मी भए पनि लक्षणसहित संक्रमण पुष्टि भएकाले उनी थोरै आत्तिइन्। घरमै आइसोलेसन बस्ने निधो गरे पनि उनलाई त्यो उपयुक्त लागेन। आफ्नो निर्णय फेरिन्। र, वीरको आइसोलेसन वार्ड पुगिन्।

‘टाउको फनफन घुमाइरहन्थ्यो। केही खान मन लाग्थेन। शरीर पूरै गलेको थियो,’ कल्पना भन्छिन्, ‘घरमा पल्स अक्सिमिटरले अक्सिजन नापिरहेकी हुन्थेँ। विस्तारै श्वासपश्वासमा समस्या बढ्दै गयो। अक्सिमिटर घट्दै गयो। र, अस्पताल पुग्नुपर्ने अवस्था आयो।’

संक्रमण भएको दुई दिनपछि उनी वीरमा भर्ना भइन्।

चाडपर्वको रौनक छाइसकेको थियो। अस्पतालका धेरै स्वास्थ्यकर्मी बिदामा थिए। भएका थोरै स्वास्थ्यकर्मीलाई बिरामी हेर्ने दैडधुप निक्कै थियो।

‘अस्पताल जाने बित्तिकै राम्रो हेरचाह र तत्काल औषधी चलाएको भए आइसियुसम्म जान पर्दैन थियो होला। डाक्टरको उपस्थिति नै कम भएको पाएँ। र, समयमै उपचार हुन नसक्दा आइसियुमै भर्ना हुनुप¥यो,’ उनी ती दिन सम्झन्छिन्, ‘आइसोलेसन वार्डमा भर्ना भएँ। असाध्यै गाह्रो भइरहेको थियो। स्वास लिन खोज्दा पनि छाति दुख्थ्यो।’

अस्पताल पुग्दा कल्पनालाई ‘साइलेन्ट निमोनिया’ भइसकेको रहेछ।

‘स्याचुरेसन लेभल घट्दै गएको थाहा नै नहुँदो रहेछ। शरीर पुरै शिथिल भएको हुन्थ्यो,’ उनी भक्कानिइन्, ‘अब मेरो जीवन भगवानको हातमा छ भन्दै बसेकी थिएँ। जे होस् भगवानको कृपा लाग्यो। र, मैले कोरोना जितेँ।’

डाक्टरले त्यसपछि उनलाई आइसियुमा सारे।

त्यसपछि उनी पूरै अचेत अवस्थामा थिइन्। तीन दिन आइसियु रहिन्।

‘त्यसबेला के–के भयो त्यति याद छैन। सबैतिर अक्सिजन लगाइरहेका बिरामीमात्र देख्थेँ। दिमागले केही सोच्न सक्दैन थियो,’ उनी भन्छिन्।

अस्पताल बस्दा सबैभन्दा बढी छोराछोरी सम्झिइन्। डाक्टरले उनलाई भेन्टिलेटरमा राख्नुपर्ने हुनसक्ने र परिवारलाई त्यहीअनुसार तयार रहन आग्रह गरे।

तर, औषधिले विस्तारै काम गर्न थालेपछि शरीरमा अक्सिजन लेभल बढ्दै गयो।

तीन दिनपछि आइसियुबाट वार्डमा सारिदिए।

बेलाबेला सामाजिक सञ्जाल खोल्ने हेर्थिन्। त्यहाँ भएका मार्मिक स्टाटसले उनको मन छुन्थ्यो।

‘बेलाबेला आफैंलाई रिप (श्रद्धाञ्जली) लेख्नुपर्ने हो कि जस्तो महसुुस भएको थियो,’ उनी भन्छिन्, ‘सबैले माया मारिसकेका थिए।’

जीवनमरणको संघर्षसँग जुधिरहेकी थिइन् कल्पना।

‘सँगै राखेको एकजनाको मृत्यु पनि भयो। एकदमै डर लाग्यो,’ उनी त्यो क्षण सम्झन्छिन्, ‘जीवनको केही भरोसा हुँदो रहेनछ। त्यस रात त निद्रै लागेन।’

तीन दाजुभाइको एकमात्र बहिनी हुन् कल्पना।

‘घरपरिवारका सबैले तनाव लिइरहनुभएको थियो। श्रीमानलाई आफैंले अस्पताल शय्याबाट केही भएको छैन भनेर सम्झाउनुपर्थ्यो,’ उनी भन्छिन्।

उनका लागि कोरोनाले एउटा तीतो अनुभव दिलायो।

‘अहिलेसम्म कुनै पनि तिहार मिस भएको थिएन। भाइटिकाको दिन अस्पतालको बेडमा हुँदा मेरा लागि त्यो क्षण जीवनकै तीतो बन्न पुग्यो,’ उनले भनिन्।

श्वास लिन गाह्रो भएका बेला उनी समय–समयमा घोप्टो परेर सुत्ने गर्थिन्।

‘आइसियुबाट वार्डमा सारे पनि बेला–बेला अक्सिजन आवश्यकता पर्थ्यो,’ उनले भनिन्, ‘अस्पताल बसाइको सात दिनपछि अक्सिजन लेभल तथा श्वासप्रश्वास सहज भएको महसुस गरेँ।’

स्वास्थ्यमा सुधार आएपछि विस्तारै उनको आत्मबल बढ्दै गयो। त्यसपछि अलि ढुक्क साथ निदाउन थालिन्।

उनलाई घरपरिवारबाट नै नियमित अस्पतालमा खाना पुग्थ्यो।

‘अस्पतालका स्वास्थ्यकर्मीले उपचारमा कुनै कसर बाँकी राख्नुभएन। परिवारका कोही नहुँदा पनि हेरचाह एकदमै राम्रो भयोे,’ उनी भन्छिन्, ‘साँच्चै स्वास्थ्यकर्मीले अनेक भूमिका निर्वाह गरेका हुन्छन्।’

११ दिनको अस्पताल बसाइपछि उनी बुधबार घर फर्किन्।

‘अस्पताल बसाइमा धेरै शुभचिन्कले सदभाव देखाउनुभयो। उहाँहरूको मायाले नै आफूमा भएको रोग आधा घट्दो रहेछ,’ उनी भन्छिन्, ‘मृत्यु नै जितेर आएपछि परिवारबीच आएको त्यो खुसीको क्षण याद आइरहेको छ। त्यसबेला मलाई लाग्यो मैले संसार नै जितेँ।’

कोरोनालाई कोही–कसैले पनि हल्का लिन नहुने उनको अनुभवले देखाएको छ।

‘हरेक परिवारमा पल्स अक्सिमिटर किनेर राख्नुहोस्। संक्रमित भएको आशंका लाग्नासाथ अक्सिमिटरमा अक्सिजन हेर्नुहोस्, होम आइसोलेसन होस् या अस्पताल आइसोलेसन वार्ड। ९० भन्दा कम देखिए तुरुन्तै अस्पताल जाने तयारी गर्नुहोस्,’ उनले सुझाव दिइन्।



Leave a Reply

Your email address will not be published. Required fields are marked *