शवबाट यसरी कोरोना सर्‍यो भक्तपुरका राजेन्द्रलाई

हेल्थपोस्ट नेपाल

नेपालमा कोरोना भित्रिएको लगभग आठ महिना भइसकेको छ। अहिले पनि ‘यो कोरोना सोरोना केही होइन, खास यो रोग नै होइन जस्तो छ, हावा गफमात्र हो।

अहिलेसम्म मर्नेहरू पनि कोरोनाले मरेका होइनन्, अरू रोगले मरे पनि कोरोना भनेका छन्’ जस्ता कुराकानी भएको हाम्रै टोल समाजमा सुनिन्छन्।

यस्तो भन्नेका लागि कोरोना के हो त? भनेर जवाफ चाहिए भक्तपुर–९ का ५२ वर्षीय राजेन्द्र प्रजापतीसँग सोध्नुस्। कोरोना संक्रमित भएपछि एउटा सिटामोल पनि नखाएकाले नौ दिन अस्पतालमा बिताएका छन्।

राजेन्द्र पनि सुरुसुरुमा कोरोना केही होइन, कोरोना छ कि छैन नेपालमा भनेर अलमलिएका थिए।

‘कोरोना लाग्यो भनेकाहरू कोही तीन दिन, कोही पाँच दिन त कोही हप्ता दिनमा घर फर्केका छन्,’ उनको दिमागमा यो प्रश्नले घर गर्नुको कारण के हो भनेर सोध्दा उनले भने, ‘यसले गर्दा मलाई कोरोना खास केही होइन कि भन्ने लाग्थ्यो।’

सुरुमा सरकारले १४ दिन क्वारेन्टिन बस्नुपर्ने, त्यस अवधिमा अवधिमा दुईपटक पिसिआर परिक्षण गर्नुपर्ने र नेगेटिभ आए घर जान मिल्ने प्रावधान बनाएको थियो।

‘तर, यहाँ त कोरोना संक्रमणको रिपोर्ट नआउँदै घर बाहिर आउने जस्ता व्यवहारले पनि सर्वसाधारणको मनमा यस्तो प्रश्न उब्जिएको हुनसक्छ,’ उनले भने।

राजेन्द्र पनि तीमध्ये एक थिए। उनले हेल्चेक्र्याइँ गरेकै कारण असोज २९ गते एक्कासि ज्वरो आएको थियो। ज्वरो आए पनि उनले साधारण ज्वरो होला भनेर वास्ता गरेनन्। तीन दिन लगातार ज्वरो आएपछि उनले अब चाहिँ भएन भनेर भक्तपुर जनस्वास्थ्य सेवा केन्द्र जँचाउन गए।

‘एक्लै गएको थिएँ, तर जनस्वास्थ्यका स्वास्थ्यकर्मीहरू मेरो अवस्था देखेर डराए,’ उनले भने, ‘कसैले पनि मलाई छोएनन्। आफूलाई त याद भएन तर अरू बेलाभन्दा एकदम कालो अनि डराउँदो देखिएको भन्ने कुरा गरेका थिए जनस्वास्थ्यका साथीहरूले।’

त्यसपछि उनलाई स्वास्थ्यकर्मीले ‘जनस्वास्थ्यमा उपचार गर्न सकिँदैन’ भन्दै भक्तपुर अस्पताल पठाइदिए। त्यहाँ उनलाई इमर्जेन्सी वार्डमा राखियो। त्यही दिन उनको

पिसीआर परिक्षण गर्न स्वाब लिइयो। पिसिआर परिक्षण मेसिन नभएका कारण रिपोर्ट आउन झन्डै पाँच दिन लाग्यो।

ती पाँच दिन उनलाई ज्वरोले झन् च्यापेको थियो। साथै श्वास फेर्न गाह्रो हुने, खोकी लागिरहने जस्ता लक्षण देखापरेको उनी सुनाउँछन्।

इमर्जेन्सीमा उनलाई गाह्रो भएपछि डाक्टरहरूसँग आग्रह गरेर जनरल वार्डमा लैजान भने। तर, रिपोर्ट नआएका कारण स्वास्थ्यकर्मी पनि अलमलमा थिए। पाँचौं दिन

पिसिआर रिपोर्ट आयो– कोरोना पोजिटिभ।

‘रिपोर्ट पोजिटिभ आउने बित्तिकै मलाई कोरोनाको आइसियु वार्डमा लगियो,’ उनले सुनाए।

उनका अनुसार आइसियु वार्डमा जम्मा ६ वटा बेड थियो। एउटा खाली थियो। खाली बेड देखेर मनमनै सोचेँ यो चाहिँ आकस्मिकका लागि राखिएको होला।

आइसियु लगेको केही घन्टामै एकजनाको मेरै आँखा अगाडि मृत्यु भयो। त्यो देखेर मेरो आखाँबाट यतिकै आँशु बग्यो। स्वास्थ्यकर्मीले त्यता नहेर्नु दाइ भन्दै थिए। तर, मान्छेको जात जता नहेर भन्छन्, आँखा त्यतै जाने रहेछ।

‘म पनि यस्तैगरी मर्छु होला, बाँचिदैन होला, घर जान पाउँदिन होला भन्ने मनमा लागिरह्यो,’ उनले अनुभव सुनाए, ‘नलागोस् पनि किन? त्यो मृत्यु हुने व्यक्ति मभन्दा १२–१५ वर्ष कान्छो थियो। सबैले पाको भएपछि झन् धेरै कोरोनाले च्याप्छ, निको हुँदैन भनेर सुनेको थिएँ। म पनि ५२ वर्षको भएँ। बुढो त भएँ नि भन्ने लागिरह्यो।’

त्यति सोच्दासोच्दै एक रात बित्यो। आइसियु वार्डमा दोस्रो दिन फेरि अर्का एक बिरामीको मृत्यु भयो। त्यसपछि फेरि उनको आत्मविश्वास डगमगाउन थाल्यो।
‘आइसियमा पुगेपछि बाँचिदैन रहेछ, घर जान पाउँला जस्तो छैन। यही मर्छु होला अरूजस्तै यस्तै मनमा नेगेटिभ कुरा आउन थाल्यो,’ उनी सुनाउँछन्।

नआओस् पनि किन? उनको स्वास्थ्यमा सुधार भइरहेको थिएन। फेरि चौथो दिन पनि अर्का एकको मृत्यु भयो। त्यतिबेला भने मन एकदम दरो गरेर बसेको उनले सुनाए।

‘आइसियुमा गएपछि त मेरो शरीरमा घोचेको घोच्यै गरे। बिहान–बेलुका पेटतिर दुइटा सुई दिन्थे। केका लागि हो थाहा भएन। पछि मैले ती सुईले के काम गर्छ भनेर सोधेँ। उनीहरूले रगत पातलो बनाउँछ भने,’ राजेन्द्र भन्छन्।

आइसियु वार्ड राखेको दोस्रो दिनदेखि उनलाई घोप्टो पारेर राखेका थिए। दिनभरि घोप्टो परेर सुत्दा गाह्रो भएर उठ्न र पल्टिन खोज्थे तर नर्सहरूले हँदैन भन्थे। त्यसरी तीन दिन राखे।

‘एक छिन घोप्टो परेर बस्दा त छाती फुट्लाजस्तो हुन्छ, म त तीन दिन बसेँ। ओहो, तीन दिनपछि कोल्टो फर्किन पाउँदा उपाधि पाएको जस्तो महसुस भयो,’ राजेन्द्र भन्छन्, ‘आइसियुमा बसेको दुई दिनपछि भने स्वास्थ्यमा सुधार हुँदै आयो।’

आइसियु बस्दाको दुखाइ साथसाथै अस्पतालबाट दिएको खाना उनले कहिल्यै खाएनन्। घरबाटै खाना आइपुग्थ्यो। त्यो पनि खान मन लाग्थेन। किनकि, उनको कोरोनाले उनको जिब्रोको स्वाद हराएको थियो। अनि, सकिनसकी खान्थे।

त्यसपछि एउटै सुईको ६–७ हजार पर्ने सुई सातवटा किनाएका थिए परिवारलाई। जुन पाउन एकदम गाह्रो थियो। स्वास्थ्यकर्मीले ६ वटा किन्नु भने पनि नपाइएला भनेर परिवारले एउटा बढी किनेको रहेछ।

पाँच आइसियु बस्दा कोरोनालाई हेल्चेक्र्याँइ गरेकोमा उनी खुबै पछुताए। आफू कसरी कोरोना संक्रमित भएँ भनेर उनी घोत्लिए। अनि पत्ता लगाए– ज्वरो आएको तेस्रो दिन शव लिन गाडी लिएर गएका थिए।

त्यति बेला मृत्यु भएको व्यक्तिमा कोरोना हुनसक्ने सम्भावना रहेको र पिसिआर परीक्षण गराउन स्वास्थ्यकर्मीले अनुरोध गर्दा पनि उक्त परिवारले नगराउने भनेका रहेछन्। त्यही शव लिएर घाट सम्म पु¥याएका थिए। त्यही शवबाट भाइरस सरेको हुनसक्छ।

चार दिन इमर्जेन्सी र पाँच दिन आइसियु बसेर आइसकेपछि अहिले उनले साथीभाइलाई पनि मास्क लगाऊ भन्न थालेका छन्। कोही भेट्न आए मास्क लगाएर दुई मिटरको दुरी कायम गर्छन्।

घर फर्किने बेला स्वास्थ्यकर्मीले एक हप्ता घरमै बस्न भनेका थिए, तर १२ दिन घर बाहिर निस्किएनन्। सुत्ने बेला अक्सिजन लाएर सुत्ने गरेका उनी एक सातायता बिनाअक्सिजन सुतिरहेका छन्।

‘कोरोना निको भइसकेपछि पनि त्यसले सजिलै छोड्ने रहेनछ,’ उनी भन्छन्, ‘अहिले पनि केही दुरीमा हिँड्दा पिडांैला दुख्ने, जिउ गलेको जस्तो, खुट्टा कामेको जस्तो महसुस हुन्छ।’

लक्षण भएमात्र कोरोना जाँच गराउनु भन्ने सरकारको निर्णय भएका कारण उनले परिवारले कसैसँग केही लक्षण नभएका कारण जाँच गराएको थिएन। अहिलेसम्म परिवारका अन्य सदस्य सुरक्षित छन्।

कोरोना उपचार गर्न नौ दिनमा ७० हजार रुपैयाँ खर्च भएको उनी बताउँछन्।

‘कोरोना भाइरसले दीर्घरोगीमात्र नभई स्वास्थलाई पनि बिरामी बनाउँछ र अरू रोगजस्तो केही दिनमा निको हुँदैन,’ २९ वर्षदेखि भक्तपुर नगरपालिकामा कार्यरत तर पहिल्लोपटक शव वाहन हाँकिरहेका राजेन्द्र भन्छन्, ‘निको भए पनि यसको असर लामो समयसम्म हुने रहेछ। त्यसैले कसैले पनि लापरबाही नगर्नुहोला।’

 



Leave a Reply

Your email address will not be published. Required fields are marked *