प्रमाणित हुनेबित्तिकै नेपालीले कोरोना खोप पाउँछन् : मन्त्री ढकाल

हेल्थपोस्ट नेपाल

स्वास्थ्य तथा जनसङ्ख्यामन्त्री भानुभक्त ढकालले सरकारले कोभिड–१९ विरुद्धको खोप प्रमाणित भएर बजारमा आउनेबित्तिकै नेपाली नागरिकले प्रयोग गर्न पाउने बताएका छन्।

मन्त्रालयले आयोजना गरेको ‘विश्व प्रतिजैविक सचेतना सप्ताह’को समापन गर्दै उनले कोभिड–१९ विरुद्धको खोपको परीक्षण भइरहेको र सफल परीक्षण भई प्रमाणित हुनेबित्तिकै नेपाली नागरिकले पाउने बताए।

उनले कोभिड–१९ को रोकथाम र नियन्त्रण गर्न दृढ भएर लागेको उल्लेख गर्दै त्यसका लागि सबैको सहयोग आवश्यक भएको बताए।

केही दिनअघि राष्ट्रपति विद्यादेवी भण्डारीले सरकारको सिफारिसमा कोभिड–१९ विरुद्धको खोप उपलब्धता सहज बनाउनेलगायत व्यवस्था गर्नका लागि औषधि (तेस्रो संशोधन) अध्यादेश, २०७७ प्रमाणित गरेकी थिइन्।

सप्ताहका अवसरमा चित्रकला प्रतियोगिता पनि आयोजना गरिएको थियो। प्रतियोगितामा नेशनल स्कूल अफ साइन्सकी कक्षा ११ मा अध्ययनरत राजकी अर्याल प्रथम, होप इन्टरनेशनल कलेजमा स्नातक तह अध्ययनरत स्वस्तिका सापकोटा द्वितीय र ललितकला क्याम्पसकी स्नातक तहमा अध्ययनरत विनिता खड्काले तृतीय भएका थिए। अठ्ठाइस सहभागीमध्येबाट २४ जनाको कला छनोट गरिएको थियो।



Leave a Reply

Your email address will not be published. Required fields are marked *