स्टार अस्पतालले भन्यो– नक्कली रिपोर्ट दिएको प्रमाणित भए कारबाही भोग्न तयार छौं

ललितपुर सानेपास्थित स्टार अस्पतालले परीक्षण नै नगरी रिपोर्ट दिएको भन्ने लागेको आरोप झुठो भएको दाबी गरेको छ ।

अस्पतालले मगंलबार पत्रकार सम्मेलन गर्दै प्राविधिक पक्ष नबुझी, बिनाअनुसन्धान आरोप लगाइएको जनाएको छ ।

अस्पतालका मेडिकल डाइरेक्टर डा. शैल रुपाखेतीले नक्कली रिपोर्ट प्रकरणमा अस्पतालले कुनै रिपोर्ट नक्कली नदिएको दाबी गरे ।

‘हामीले कुनै पनि रिपोर्ट नक्कली दिएका छैनौं । यसबीचमा सरकारी छानबिन समितिले पनि औंल्याइसकेको छ,’ डा. रूपाखेतीले भने, ‘गल्ती हाम्रो तर्फबाट देखियो भने कारबाही भोग्न तयार छौं ।’

उनले नमुना संकलन, परीक्षणदेखि रिपोर्टको संरक्षणसमेत सफ्टवेयरमार्फत हुने भन्दै गलत रिपोर्ट दिने कुनै सम्भावनै नरहेको दाबी गरे ।

केही समयअघि सञ्चारमाध्यममा स्टार, ह्याम्सलगायत अस्पतालका प्रयोगशालामा परीक्षणपछि केही व्यक्तिको नतिजा गन्तव्य देश पुगेपछिको परीक्षणमा पोजिटिभ देखिएपछि यस्तो विषय बाहिर आएको थियो ।

स्बाब दिइसेकपछि यात्रा गर्ने समयमा संक्रमण हुनसक्ने तथ्यलाई नकार्न नसकिने अस्पतालले जनाएको छ ।

अस्पतालमा परीक्षण गरेका नमुना भ्यालिडेसनका लागि राष्ट्रिय जनस्वास्थ्य प्रयोगशाला (एनपिएचएल) मा परीक्षण गर्दासमेत उस्तै रिपोर्ट आएको जनाएको छ ।

‘परीक्षणको नतिजा र रिपोर्ट मेसिनको डाटा क्लाउडमा सधैं रहिरहनाले जुनसुकै बेलामा पनि उक्त रिपोर्ट हेर्न सकिन्छ,’ डा. रूपाखेतीले भने, ‘राष्ट्रिय जनस्वास्थ्य प्रयोगशाला (एनपिएचएल) मा परीक्षण गर्दा समेत उस्तै रिपोर्ट आएको छ ।’

‘संसारभर नै २ देखि ३७ प्रतिशतसम्म फल्स नेगेटिभ रिपोर्ट हुनसक्ने अध्ययनहरूले समेत प्रमाणित गरिसकेका छन,’ उनले भने, ‘परीक्षणपछि संक्रमण भएको, स्वाब संकलन अवधि विन्डो पिरियड भएको हुनसक्ने वा नयाँ परीक्षण गर्दाको समयमा भाइरस लोड पर्याप्त भइनसकेका कारण नेगेटिभ देखिएको हुनसक्छ ।’

उनले प्राविधिक पक्ष नबुझी, बिनाअनुसन्धान आरोप लगाइएको भन्दै दुःख व्यक्त गरे ।

प्राविधिक विषय नबुझिकनै पर्यटन मन्त्रालयले प्रयोगशालाहरूले गलत रिपोर्ट दिएको निष्कर्ष निकालेर स्वास्थ्य तथा जनसंख्या मन्त्रालयलाई पत्राचार गरेको थियो ।

 

पर्यटन मन्त्रालयले बिनाछानबिन प्रयोगशालाहरूले स्वाब संकलन नै नगरी रिपोर्ट दिएको, रिपोर्ट म्यानुपुलेसन गरेको र स्वाबको नमुना सहीरूपमा भण्डारण नगरेको आरोप लगाएको छ ।

तर, अस्पतालले राष्ट्रिय जनस्वास्थ्य प्रयोगशलाको मापदण्डमा रहेर हाल नमुना भण्डार रहेको जनाएको छ ।

राष्ट्रिय प्रयोगशालाको मापदण्डअनुसार नेगेटिभ रिपोर्टका हकमा ४८ घन्टा र पोजिटिभका हकमा एक महिनासम्म नमुना भण्डार गर्नुपर्ने हुन्छ ।

केही समयअघि स्वास्थ्य मन्त्रालयले नेगेटिभ आएको रिपोर्ट एक महिना र पोजिटिभ तीन महिनासम्म भण्डार गर्नुपर्ने निर्देशन दिएको थियो ।

‘हामी अहिलेसम्म स्वास्थ्य मन्त्रालयबाट आधिकारिक रूपमा नमुना भण्डार गर्ने विषयमा पत्र पाएका छैनौं,’ डा. रूपाखेतीले भने, ‘स्वास्थ्य मन्त्रालयबाट आधिकारिक पत्र पाएपछि हामीलाई भण्डार गर्न खासै समस्या रहेको छैन ।’

छानबिन समितिले समेत पर्यटन मन्त्रालयको आरोपजस्तो परीक्षणबिनै रिपोर्ट दिएको तथ्य नभेटिएको निष्कर्षसहितको प्रतिवेदन मन्त्रालयमा बुझाइसकेको छ ।

‘स्वास्थ्य मन्त्रालयको छानबिन टोलीले गरेको निरीक्षणमा स्वाब नै नलिइकन रिपोर्ट दिइएको भन्ने गलत भएको र परीक्षण नै नगरी रिपोर्ट दिइएको भन्ने जस्ता आरोप पनि गलत रहेको पुष्टि भैसकेको छ,’ डा. रुपाखेतीले भने, ‘उक्त प्रतिवेदन स्वास्थ्य मन्त्रालयले चाँडै सार्वजनिक गर्छ भन्ने प्रतिक्षामा छौं ।’

डा. रुपाखेतीले निजी क्षेत्रकै प्रतिष्ठित अस्पताल र प्रयोगशालाले नक्कली रिपोर्ट दिने कुरा सोच्न पनि नसक्ने विषय भएको बताए ।

‘निराधार आरोप लगाइयो र हामीसँग सोध्दै नसोधी स्टारले गलत रिपोर्ट दियो भनेर प्रचार गरियो,’ उनले भने, ‘यो केही सञ्चारमाध्यमले अस्पतालले आर्जन गरेको प्रतिष्ठालाई सिध्याउन रचिएको षडयन्त्र हो ।’

अस्पतालका कोरोना फोकल पर्सन डा. अनिल पोखरेलले पिसिआर रिपोर्ट आफैंमा सतप्रतिशत विश्वसनियता नभएको उल्लेख गरे ।

‘पिसिआर रिपोर्ट आफैंमा सय प्रतिशत विश्वसनियता जाँच हुँदैन,’ डा. पोखरेलले भने, ‘विश्वभरि नै परीक्षणको विश्वसनियता ६७ देखि ७० प्रतिशत रहेकाले कुनै पनि व्यक्तिको स्वाब दिँदा संक्रमणको विन्डो पिरियडमा रहेका बेला नेगेटिभ आउनसक्ने तथ्यलाई नकार्न सकिँदैन।’

अस्पतालले असार २९ गते पहिलोपटक कोरोना परीक्षण अनुमति पाएको थियो । यस अवधिमा झन्डै ७६ हजारभन्दा बढी नमुना परीक्षण गरिरहेको र पछिल्ला दिनमा

समेत दैनिक ७ सयदेखि १ हजार नमुना परीक्षण गरिरहेको जनाएको छ ।

हाल अस्पतालमा कोरोना उपचारका लागि ५० जनरल बेड र १० आइसियु बेड छन् । २ सयभन्दा बढी कोरोना संक्रमितले अस्पतालबाट सेवा लिइसकेको अस्पतालको तथ्यांक छ ।

 

One thought on “स्टार अस्पतालले भन्यो– नक्कली रिपोर्ट दिएको प्रमाणित भए कारबाही भोग्न तयार छौं

  1. Fake press reporter haru Lai kada sajaye dinu parxa ra uniharu Lai sabaiko agadi sorry Vanna launu parxa. Chainae kurama report garnu xaina.

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित समाचार

  • ताजा समाचार
  • जनप्रिय