परीक्षणबिनै कोरोना नेगेटिभ रिपोर्ट दिएको आरोप निराधार : स्टार अस्पताल

सानेपास्थित स्टार अस्पतालले परीक्षण नै नगरी कोरोना नेगेटिभ दिएको भन्ने आरोप निराधार भएको जनाएको छ ।

अस्पतालले नमुना संकलन, परीक्षणदेखि रिपोर्टको संरक्षणसमेत सफ्टवेयरमार्फत हुने भन्दै गलत रिपोर्ट दिने कुनै सम्भावनै नरहेको स्पष्ट पारेको छ ।

स्टार, ह्याम्सलगायत अस्पतालका प्रयोगशालामा परीक्षणपछि केही व्यक्तिको नतिजा गन्तव्य देश पुगेपछिको परीक्षणमा पोजिटिभ देखिएपछि यस्तो विषय बाहिर आएको थियो ।

सुरु परीक्षण क्रममा नेगेटिभ रिपोर्ट आएर नेपाल एयरलाइन्समार्फत सम्बन्धित देश पुगेर परिक्षण गर्दा पोजिटिभ देखिनुमा अन्य प्राविधिक पक्ष जिम्मेवार हुनसक्ने अस्पतालको भनाइ छ ।

अस्पतालमा परीक्षण गरेका नमुना भ्यालिडेसनका लागि राष्ट्रिय जनस्वास्थ्य प्रयोगशाला (एनपिएचएल) मा परीक्षण गर्दासमेत उस्तै रिपोर्ट आएको जनाएको छ ।

पर्यटन मन्त्रालयले प्रश्न उठाएकामध्ये १० वटा नमुना स्टार अस्पतालमा परीक्षण गरिएका थिए। तीमध्ये तीनवटाको एनपिएचएलमा परीक्षण गरिएको उही नतिजा आएको थियो।

यो तथ्यले प्रयोशालाको विश्वासनियतामा शंका उब्जाउने वा प्रश्न गर्ने ठाउँ नरहने दाबी अस्पतालको छ ।

भेलिडेसन पास भइसकेका नमुना केही दिनपछि गन्तव्य देश पुगेर गरिएको परीक्षणभन्दा फरक देखिनु अन्य वैज्ञानिक कारण हुनसक्ने अस्पतालका मेडिकल डाइरेक्टर डा. शैल रुपाखेतीले बताए ।

‘संसारभर नै २ देखि ३७ प्रतिशतसम्म फल्स नेगेटिभ रिपोर्ट हुनसक्ने अध्ययनहरूले समेत प्रमाणित गरिसकेका छन,’ उनले भने, ‘परीक्षणपछि संक्रमण भएको, स्वाब संकलन अवधि विन्डो पिरियड भएको हुनसक्ने वा नपरीक्षण गर्दाको समयमा भाइरस लोड पर्याप्त भइनसकेका कारण नेगेटिभ देखिएको हुनसक्छ ।’

उनले प्राविधिक पक्ष नबुझी, विनाअनुसन्धान आरोप लगाइएको भन्दै दुःख व्यक्त गरे ।

प्राविधिक विषय नबुझिकनै पर्यटन मन्त्रालयले प्रयोगशालाहरूले गलत रिपोर्ट दिएको निष्कर्ष निकालेर स्वास्थ्य तथा जनसंख्या मन्त्रालयलाई पत्राचार गरेको थियो ।

पर्यटन मन्त्रालयले छानबिनबिनै प्रयोगशालाहरूले स्वाब संकलन नै नगरी रिपोर्ट दिएको, रिपोर्ट म्यमनुपुलेसन गरेको र स्वाबको नमुना सहीरूपमा भण्डारण नगरेको आरोप लगाएको छ ।

मन्त्रालयको पत्रका आधारमा स्वास्थ्य मन्त्रालयले एनपिएचएल र स्वास्थ्य सेवा विभागका प्राविधिक सम्मिलित छानबिन समिति समेत गठन गरेको थियो ।

छानबिन समितिले समेत पर्यटन मन्त्रालयको आरोपजस्तो परीक्षणबिनै रिपोर्ट दिएको तथ्य नभेटिएको निष्कर्षसहितको प्रतिवेदन मन्त्रालयमा बुझाइसकेको छ ।

डा. रुपाखेतीले निजी क्षेत्रकै प्रतिष्ठित अस्पताल र प्रयोगशालाले नक्कली रिपोर्ट दिने कुरा सोच्न पनि नसक्ने विषय भएको बताए ।

‘निराधार आरोप लगाइयो र हामीसँग सोध्दै नसोधी स्टारले गलत रिपोर्ट दियो भनेर प्रचार गरियो,’ उनले भने, ‘यो अस्पतालले आर्जन गरेको प्रतिष्ठालाई सिध्याउन रचिएको षडयन्त्र हो ।’

स्वास्थ्य मन्त्रालयले नै छानबिन गरिरहेको भन्दै अन्य मन्त्रालयले लगाएको निराधार आरोपबारे सरकारले नै आमसेवाग्राहीमा स्पष्ट सन्देश दिने गरी सत्यकुरा बाहिर ल्याउने विश्वाससमेत डा. रुपाखेतीले व्यक्त गरे ।

स्टारका प्रयोगशाला प्रमुख गोविन्द अकेलाका अनुसार परीक्षणको प्रक्रिया बारकोडबाट हुने र डाटा आइक्लाउडमा बस्ने भएकाले म्यानुपुलेसनको सम्भावना नै हुँदैन ।

परीक्षण भएको नमुना भण्डारणसमेत तोकिएको निर्देशिकाअनुसार नै नेगेटिभ आए ४८ घन्टा र पोजिटिभ आए एक महिनामा गर्ने गरिएको उनले बताए ।

स्वास्थ्य मन्त्रालयले गलत रिपोर्ट दिएको भनी कुनै आरोप लगाएको छैन । तर, स्वास्थ्य प्रवक्ता डा. जागेश्वर गौतमले आइतबारको पत्रकार सम्मेलनमा तोकिएको

अवधिसम्म पोजिटिभ देखिएका नमुना भण्डारण नगरेको भन्दै केही प्रयोगशालासँग स्पष्टीकरण सोध्ने निर्णय गरेको उल्लेख गरेका थिए ।

डा. गौतमले पोजिटिभ देखिएका नमुना तीन महिनासम्म र नेगेटिभ देखिएका नमुना एक महिनासम्म भण्डारण गर्नुपर्ने नियम रहेको दाबी गरेका छन् ।

तर, अकेलाले परीक्षण सन्दर्भमा जारी निर्देशिकाअनुसार सबै नमुना सुरक्षित राखिएको भन्दै निर्देशिकामै पोजिटिभ देखिएका नमुनाको एक महिनासम्म र नेगेटिभ देखिएका नमुना ४८ घन्टासम्म भण्डारण गर्ने गरिएको बताए ।

‘निर्देशिकाअनुसार नै नमुना सुरक्षित गरिएको छ,’ उनले भने, ‘अन्य नमुना पठाउँछौ भन्दा एनपिएचएलले ठाउँ छैन भनेरै नपठाएका हो ।’

अस्पतालले असार २९ गते पहिलोपटक कोरोना परीक्षण अनुमति पाएको थियो । यसअवधिमा झन्डै ७६ हजारभन्दा बढी नमुना परीक्षण गरिरहेको र पछिल्ला दिनमा समेत दैनिक ७ सयदेखि १ हजार नमुना परीक्षण गरिरहेको जनाएको छ ।

अकेलाले निजी क्षेत्रमै सम्भवतः धेरै दक्ष जनशक्ति भएको प्रयोगशाला भएको र २४ घन्टा सेवा दिइरहेको भन्दै छानबिन गरेर दोषी पाइए कारबाही स्वीकार्य हुने समेत दाबी गरे । स्वास्थ्य अधिकारीले समेत निजी क्षेत्रका प्रयोगशालाले गम्भीर त्रुटि गरेको नदेखिएको जनाएका छन् ।

 

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित समाचार

  • ताजा समाचार
  • जनप्रिय