कोरोनाले चुँडेको नेपाली चिकित्सा क्षेत्रका तीन तारा

(स्वर्गीय डा. नारायणबहादुर थापा,डा. सुनिल झा र डा. ध्रुव शर्मा मुडभरी)

आठ दशक टेक्न लागिसक्दा पनि डा. ध्रुव शर्मा मुडभरीको जोश कुनै युवा चिकित्सकभन्दा कम थिएन।

क्लिनिक सेवा, अस्पताल व्यवस्थापनदेखि सामाजिक तथा पेसागत अभियानमा उनको सक्रियता देख्न समकक्षी चिकित्सकसमेत लोभिन्थे।

‘जति बुढो उति जोश कहाँबाट आउँछ मुडभरी डा.साब?,’ अधिकांश भेटमा सहकर्मीका यस्तै ठट्यौली चल्थ्यो।

सेवा क्षेत्रमै खटिने क्रममा डा. मुडभरीलाई कोरोना संक्रमण भयो। सुरुमा देखापरेका जटिलताको उपचारपछि डिस्चार्ज भएर घरसमेत फर्किएका उनले कोरोनाको अर्को जटिलता थेग्न सकेनन्।

शनिबार डा. मुडभरी सदाका लागि बिदा भए। उनले आफैं स्थापना गरेका अस्पताल ओममा अन्तिम श्वास लिए।

नेपाली चिकित्सा क्षेत्रले डा. मुडभरीभन्दा केही दिनअघि मात्रै दुई हस्ती बाल शल्य चिकित्सक डा. नारायणबहादुर थापा र मुटुरोग विशेषज्ञ डा. सुनिल झालाई गुमायो। दुवैले कोरोनासँग हार माने।

यसअघि असोज १५ मा कर्णाली प्रदेश अस्पताल सुर्खेतका अर्थोपेडिक सर्जन डा. हरि सापकोटाको पनि कोरोना संक्रमणकै कारण निधन भएको थियो।

दुर्गमदेखि दरबारसम्म सेवा दिएका डाक्टर

‘शाही सर्जन’ का रूपमा चर्चित डा. मुडभरीले दरबारसँगको सम्बन्धको रवाफ कहिल्यै देखाएनन्।

उनी राजा वीरेन्द्रका सर्जन थिए। लामो समय मुलुकै जेठो अस्पताल वीर हाँकेका मुडभरीको निजी क्षेत्रको चर्चित अस्पताल ओम हस्पिटल एन्ड रिसर्च सेन्टर स्थापनामा समेत निकै महत्वपूर्ण भूमिका छ।

उनका सहकर्मी एवं वरिष्ठ स्त्रीरोग विशेषज्ञ डा. भोला रिजालका अनुसार राजधानीमा मात्रै नभएर मुलुकका विभिन्न ठाउँमा सर्जरी सेवा सुरु गर्न डा. मुडभरीको महत्वपूर्ण योगदान छ।

‘उहाँले उपत्यकाबाहेक पूर्वी र पश्चिमका विभिन्न ठाउँ गएर सर्जरी सेवा प्रारम्भ गर्नुभएको थियो,’ डा. रिजालले भने, ‘दरबारसँग सम्पर्क भए पनि उहाँ धेरै नै सर्वसाधारणसँग घुलमिल गर्ने व्यक्तित्व हुनुहुन्थ्यो।’

कोरोना संक्रमण भएपछि डा. मुडभरीलाई कडा निमोनिया भएको थियो।

दाैंतरी चिकित्सकहरूका अनुसार डा. मुडभरीको सबैसँग मिल्न सक्ने र अरूलाई सहयोग गर्न तत्पर रहने स्वभाव थियो।

राजनीतिक रूपमा पनि सचेत उनी राष्ट्र र राष्ट्रियताप्रति प्रतिबद्ध थिए।

डा. मुडभरी करिब ३० वर्षदेखि ओम अस्पतालमा कार्यरत थिए।

‘जहाँ जे गरौंभन्दा पनि कहिल्यै नाइँ नभन्ने उहाँको स्वभाव थियो। बुढो शरीर हुँदा पनि उहाँको काम गर्ने इच्छाशक्ति युवा उमेरभन्दा कम थिएन,’ डा. रिजाल सम्झिन्छन्।

डा. मुडभरीले एमबिबिएस, एमएस भारतबाट गरेका थिए।

‘राजाहरूको पालामा बाहिर गएर उपचार गर्न हुँदैन, नेपालमा उपचार सम्भव छ भन्ने हेतुले स्वास्थ्य सेवालाई अगाडि बढाउनुभएको थियो,’ डा. रिजाल सम्झिछन्, ‘वीर

अस्पतालमा राजाहरूको यहीँ उपचार गर्न सकिन्छ, किन बाहिर जाने भन्नेमध्ये उहाँ एक हुनुहुन्थ्यो।’

मुडभरीले धेरै वर्ष वीर अस्पतालको निर्देशक भएर नेतृत्व पनि गरेका थिए।

‘उहाँजस्तो क्षमतावान अब उत्पादन हुन गाह्रो छ, जसलाई जे पर्दा पनि सल्लाह दिने खालको हुनुहुन्थ्यो। उहाँको निधनले राष्ट्रलाई अपुरणीय क्षति पुगेको छ,’ डा. रिजालले भने।

बाल सर्जरीका पायोनियर डा. थापा

कोरोनाका कारण नेपाली चिकित्सा क्षेत्रले गुमाएको अर्का चर्चित चिकित्सक हुन् डा. नारायणबहादुर थापा।

इसान बाल तथा महिला अस्पतालका अध्यक्षसमेत रहेका डा. थापा नेपालमा बाल शल्य चिकित्सा सुरु गर्नेमध्ये एक मानिन्छन।

बेलायतमा पेडियाट्रिक सर्जरी पढेर १० वर्ष उतै काम गरेपछि नेपाल फर्किएका थिए। बेलायतको विलासिता छाडेर फर्किएपछि उनले वीर अस्पतालमा सेवा सुरु गरे।

नेपालमा पेडियाट्रिक सर्जरी सुरुवात गर्नेमा डा. थापा र डा. केशरबहादुर राजभण्डारी अग्रणी हुन्।

एकमात्र सरकारी बाल अस्पताल कान्तिमा पेडियाट्रिक विभाग स्थापना गर्ने र अस्पताललाई एउटा उचाइमा पु¥याउन डा. थापाको महत्वपूर्ण भूमिका रहेको बाल शल्य चिकित्सक डा. आरपी चौधरी बताउँछन्।

उनले निजी क्षेत्रमा समेत बाल अस्पताल स्थापनामा महत्वपूर्ण भूमिका खेलेका थिए।

‘हामीले देशकै एक कुशल र वरिष्ठ बाल सर्जन गुमाएका छौं,’ इसान बाल तथा महिला अस्पतालका निर्देशकसमेत रहेका डा. चौधरीले भने।

कोरोना संक्रमणबाट डा. थापाको कात्तिक ३१ गते उपचार क्रममा मेडिसिटी अस्पतालमा निधन भएको थियो।

श्वासप्रश्वासमा कठिनाइ भएपछि उपचार क्रममा डा. थापालाई मेडिसिटी लगिएको थियो। त्यहीँ कोरोना जाँच गर्दा पोजेटिभ देखिएको थियो।

स्वास्थ्य सुधार नभएपछि उनलाई केही दिन भेन्टिलेटरमा राखेर उपचार गरिएको थियो।

थापाको ८० वर्षको उमेरमा निधन भएको हो।

डा. चौधरीका अनुसार थापाको सरकारी र निजी दुवै क्षेत्रमा योगदान अतुलनीय छ।

डा. चौधरीले सरकारी अस्पताल सुधारका लागि सरकारले तदारुकता नदेखाएको अवस्थामा निजी क्षेत्रले त्यसको अग्रसरता लिएको र त्यसमा डा. थापाको महत्वपूर्ण भूमिका रहेको बताए।

डा. थापाले २०५२ सालमा निजी क्षेत्रबाट पहिलो बाल अस्पताल इसान स्थापना गरेका थिए। १५ बेडबाट सुरु भएको अस्पताल अहिले विशिष्ठ बाल अस्पतालका रूपमा सञ्चालित छ।

धनकुटामा जन्मिएका डा. थापाले भारत केरलाबाट एमबिबिएस गरेर बेलायतमा पेडियाट्रिक सर्जरी अध्ययन गरेका थिए।

नेप्लिज एसोसिएसन अफ पेडियाट्रिक सर्जनका निवर्तमान अध्यक्ष रहेका उनी नेपाल बर्न सोसाइटीलगायत स्वास्थ्य तथा सामाजिक संघसंस्थामा आबद्ध थिए।

चिकित्सा  र प्राध्यापनमै अब्बल डा. सुनिल

वरिष्ठ मुटुरोग विशेषज्ञ डा. सुनिल झाले कोरोना संक्रणणबाट सामान्य अवस्थामा फर्किन एक महिनाभन्दा लामो समय कठिन सघर्ष गरे।

त्रिवि आइओएमअन्तर्गतको मनमोहन कार्डियोथोरासिक भास्कुलर तथा ट्रान्सप्लान्ट सेन्टरमा कार्यरत डा. झाको निधनले सिंगो देशको अब्बल मुटुरोग विशेषज्ञ र विद्यार्थीले असल प्राध्यपक गुमाएका छन्।

डा. झाका सहपाठी डा. प्रकाशराज रेग्मीका अनुसार झा प्राध्यापन र चिकित्सा दुवैमा अब्बल थिए।

डा. झाले भारतको अल इन्डिया मेडिकल इन्स्टिच्युट (एम्स) बाट एमडी गरेका थिए।

‘त्यतिबेला एम्समा एमडी पढ्न पाउनु निकै ठूलो कुरा थियो,’ डा. रेग्मीले भने, ‘उहाँ चिकित्सा क्षेत्रमा अब्बल व्यक्ति हुनुहुन्थ्यो।’

डा. झाले ३० वर्षभन्दा बढी त्रिवि शिक्षण अस्पतालमा काम गरे।

नेपालमा मुटुरोगको डिएम कार्डियोलोजी प्रोग्राम सुरुवात गर्न डा. झाको महत्वपूर्ण भूमिका थियो।

‘कार्डियोलोजीको प्रोफेसर भएपछि डिएम कार्डियोलोजीका धेरै विद्यार्थीलाई उहाँले गाइड गर्नुभएको थियो,’ डा. रेग्मी भन्छन्, ‘धेरै विद्यार्थीका प्रिय अभिभावक नै हुनुहुन्थ्यो।’

प्रा. डा. झाले डा. अरुण सायमीसँगको सहकार्यमा ‘डाक्टर साब भन्नुहुन्छ’ भन्ने मुटु रोगसम्बन्धी किताबसमेत लेखेका छन।

उनी कार्डियोलोजिस्ट सोसाइटी अफ नेपालको अध्यक्ष भएका थिए।

केही वर्ष पहिला नै डा. झा नेपाल हार्ट फाउन्डेसनको सहमहासचिवसमेत भएका थिए।

‘उहाँ पठनपाठन, क्लिनिकल र सामाजिक क्षेत्रमा त्यत्तिकै सक्रिय हुनुहुन्थ्यो,’ डा. रेग्मी भन्छन्, ‘उहाँको विभिन्न क्षेत्रमा त्यतिकै योगदान रहेको छ।’

डा. रेग्मीका अनुसार उनी जतिसुकै अप्ठ्यारो परिस्थितिमा पनि धैर्यपूर्वक काम गर्ने चिकित्सक थिए।

डा. झाले निकै अप्ठ्यारा दिनमा काम गरेर नेपालको उपचार प्रणाली विकासमा ठूलो योगदान गरेको रेग्मी बताउँछन्।

कात्तिक दोस्रो साता कोरोना संक्रमण भएका डा. झा त्रिवि शिक्षण अस्पतालमा उपचाररत थिए। उनमा प्लाज्माथेरापी र रेमडिसिभिर चलाइएको थियो। तर, कुनै पनि उपचार पद्धतिले काम नगरेपछि उनलाई भेन्टिलेटरमा राखिएको थियो।

६१ वर्षका झाको कात्तिक १ मा निधन भएको थियो।



One thought on “कोरोनाले चुँडेको नेपाली चिकित्सा क्षेत्रका तीन तारा

  1. डा हरि प्रसाद सापकोटा बरिष्ठ ( चिफ ) कन्सल्टेन्ट हाडजोर्नी बिज्ञ कोरोनाको पहिलो सिकार, कसरि वहाको नाम छुट्यो पत्रकार ज्यु????

Leave a Reply

Your email address will not be published. Required fields are marked *