स्वास्थ्यका २० पेशागत संगठनले मन्त्रालयलाई बुझाए १८ बुँदे माग

स्वास्थ्यका क्रियाशील २० वटा संगठनले १८ बुँदे माग राख्दै स्वास्थ्य तथा जनसंख्या मन्त्रालयलाई ज्ञापनपत्र बुझाएका छन्।

कोरोना महामारीमा ज्यानको बाजी लगाएर अहोरात्र खटिरहेको बेला स्वास्थ्यकर्मीलाई सामान्य सुरक्षामा समेत ध्यान नदिएको भन्दै विभिन्न पेसागत संगठनले विभिन्न १८ वटा माग राखेका छन्।

आइतबार नागरिकको निःशुल्क उपचारलगायत स्वस्थ जीवन जिउन संविधानले दिएको अधिकारप्रति सरकार गम्भीर नभनेको भन्दै स्वास्थ्यमा क्रियाशील सम्पूर्ण सरोकारवाला संगठनहरूले १८ बुँदे माग राख्दै ज्ञापनपत्र बुझाएका हुन्।

कोरोनालगायत जनताको अन्य जटिल रोगको सम्पूर्ण उपचार राज्यले निःशुल्क गर्नुपर्ने, आइसियु र भेन्टिलेटरलगायत उपकरणको संख्या बढाउनुपर्ने, कोरोनाको परीक्षण, उपचारको दायरा बढाउनुपर्ने, स्वास्थ्यकर्मीलाई दिइने भनिएको जोखिमभत्ता, बीमा लगायतका सुविधा सहज तरिकाले उपलब्ध गराउनुपर्ने, निश्चित मापदण्डका आधारमा सबै स्वास्थ्यकर्मीलाई क्वारेन्टाइनको व्यवस्था हुनुपर्ने जस्ता माग राखेका छन्।

संगठनहरूले २१ दिनभित्र माग पूरा गरी नागरिकप्रति आफ्नो दायित्व निर्वाह गर्न सरकारलाई आग्रह गरेका छन्। अन्यथा भविष्यमा आउने समस्याको जवाफदेही नेपाल सरकार हुनुपर्ने संगठनहरूले ज्ञापनपत्रमा उल्लेख गरेका छन्।

साथै संगठनले माग पूरा गर्न सहयोग गरिदिन जनसमुदाय, नागरिक समाज, बुद्धिजीवी, राजनीतिक दल, पत्रकार, स्वास्थ्यकर्मी, सुरक्षाकर्मीलगायत सरोकारवाललाई अनुरोध गरेका छन्।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित समाचार

  • ताजा समाचार
  • जनप्रिय