कोरोनासँग निमोनिया झन खतरा

नेपालमा कोरोनाभाइरस संक्रमण तिब्र गतिमा फैलिरहेको छ। संक्रमितको संख्या बढ्दै गइरहेको छ भने जाडो मौसम पनि सुरु भएको छ।

पछिल्लो समय संक्रमण भएर लक्षण नदेखिएमा वा लक्षण देखिए पनि गम्भीर खालको समस्या नदेखिएसम्म अस्पताल जानु पर्दैन भन्ने आमधारणा बन्दै गएको छ।

कोरोना लक्षण देखिएर स्वासप्रश्वासमा समस्या आएमा होमआइसोलेसनमा अक्सिजनको सहायतामा बिरामी बस्दै आएका छन्। हाल होम आइसोलेसनमा बसेका संक्रमितलाई निमोनिया समस्या बढ्दै गएको चिकित्सकले बताउँदै आएका छन्।

कोरोना संक्रमणको प्रकोप बढिरहेकै स्थितिबीच मुलुकमा जाडो मौसम सुरु भइसकेको छ। जाडो मौसम बढेसँगै होमआइसोलेशनमा बसेका संक्रमतिलाई छिटो निमोनिया हुन सक्छ। जाडो बेलामा निमोनिया कसरी हुन्छ, कसरी सावधानी अपनाउने भन्ने विषयम त्रिवि शिक्षण अस्पताल (टिचिङ) का छाती रोग विशेषज्ञ तथा कोभिड संयोजक डा.सन्तकुमार दाससँग हेल्थपोस्टकर्मी रेणु त्वानाबासु गरेको कुराकानी :

निमोनिया के ले हुन्छ? 

तीन किसिमका किटाणुले निमोनिया गराउँछ। इन्फ्लुएन्जा (स्वाइन फ्लु, बर्ड फ्लु) ब्याक्टेरियल तथा रेगुलर फ्लु र कोरोनाले निमोनिया हुन्छ। त्यसैले म छातीरोगको विशेषज्ञ भएकाले फोक्सोका बिरामीलाई इन्फ्लुएन्जा खोप लगाइदिने गरेको छु।

जाडो महिना सुरु हुने बित्तिकै दसैंताका लगाइदिने गरेको छु। यसले गर्दा यो एक फ्लुले त निमोनिया हुन पाउँदैन। यो खोप सबैले लगाउँदा हुन्छ। दीर्घरोगीले लगाउँदा झ्न फाइदाजनक हुन्छ। फोक्सोका बिरामीलाई प्रत्येक वर्ष लगाउने गरेका छौं। अरू पनि बिरामीलाई लगाउँदा हुन्छ। इन्फ्लुएन्जा खोप लगाउँदा हुन्छ। यसले पनि निमोनिया हुन कम गराउँछ।

निमोनिया र रुघाखोकी कसरी थाहा पाउने त?

अहिले जाडो मौसमको सिजन छ। अधिकांशलाई समान्य रुखाखोकी लाग्ने गर्दछ। सामान्य रुघाखोकी एक–दुई दिनमा निको हुन्छ। तर, निमोनिया भएको वा हुन लागेको छ भने जिउ दुख्ने, निरन्तर खोकी लाग्ने श्वासप्रश्वासमा गाह्रो हुने र १ सय डिग्रीभन्दा बढी ज्वरो आउने गर्दछ। यस्तो भएको खण्डमा अस्पताल गइहाल्नुपर्छ। नभए यसले गम्भीर स्टेजमा पुर्‍याउनसक्छ बिरामीलाई। साथै यस वर्ष त झन् कोरोना माहामारीले खतरनाक भएको छ निमोनिया।

कोरोना संक्रमित भएका बिरामीलाई निमोनिया हुनसक्छ कि सक्दैन?

सक्छ नि, निमोनिया भनेकै कमजोर तथा बिरामीलाई हुने हो। कोरोना संक्रमित बिरामीमा त झन् अहिले निमोनिया भइरहेको अवस्था छ। धेरैजसो बिरामी निमोनिया भएरै आइसियुमा बसेका छन्। अरू बेला निमोनिया भए पनि समयमा उपचार गरेको खण्डमा निको हुने सम्भावना बढी हुनुका साथसाथै निको पनि हुन्थ्यो।

अहिले त यदि कोरोना संक्रमित व्यक्तिलाई निमोनिया भयो भने बिरामी बचाउन गाह्रो भइरहेको छ। धेरै कोरोना संक्रमितको निमोनिया भएर नै मृत्यु भएको छ। अक्सिजनमात्र दिनुपर्ने गरी निमोनिया भएको छ भने निको हुने सम्भावना बढी छ। निको भएर घर गएका छन्। यदि कोरोना संक्रमित निमोनिया भएर भेन्टिलेटरमा राख्नुपरेको खण्डमा उसको अवस्था एकदम गम्भीर भएको बुझ्नुपर्छ।

निमोनिया कुन उमेर समूहलाई बढी लाग्छ?

निमोनिया पाँच वर्षमुनिका बालबालिका र ६५ वर्ष कटेकालाई बढी हुने सम्भावना रहन्छ। बालबालिकाको स्वास्थ्य राम्रो नै भए पनि रोगसँग लड्ने क्षमता विकसित भइसकेको हुँदैन भने वृद्धावस्थामा पनि रोगसँग लड्ने क्षमता कमजोर भएको हुन्छ। अन्य एचआइभी संक्रमित, सुगर र किडनीका बिरामी, दीर्घरोग भएकासँग पनि रोगसँग लड्ने क्षमता कमजोर हुन्छ। चुरोट पिउने, रक्सी सेवन गर्ने तथा धुवाँधुलोमा बस्नेलाई अन्यभन्दा निमोनिया हुने सम्भावना धेरै हुन्छ।

साइलेन्ट हाइपोक्सिया भनेको के हो?

साइलेन्ट हाइपोक्सियामा अक्सिजनको कमी हुन्छ। अक्सिजन कमी भयो भने मान्छेलाई श्वास फेर्न गाह्रो हुन्छ। जसले गर्दा रिङटा लाग्ने, टाउको दुख्ने, आँखा धमिलो हुने, बेहोस होलाजस्तो हुने गर्दछ। यसलाई हेभी हाइपोक्सिया पनि भनिन्छ। किनभने यसमा बिरामीको भित्रभित्रै अक्सिजन कम भइराखेको हुन्छ। कोरोनाका बिरामीको शरीरभित्र अक्सिजन कम हुँदा पनि केही असर परेको हुँदैन तर बिरामी बाहिरबाट भने खुसी नै हुन्छ। तर, यसले गम्भीर अवस्थामा पुर्‍याउने गर्छ।

इन्फ्लुएन्जा हो कि कोरोना कसरी थाहा पाउन सकिन्छ?

इन्फ्लुएन्जा हो कि, कोरोना हो त्यो यत्तिकै थाहा हुँदैन। यो अस्पतालमा चेक गराएपछि मात्र थाहा हुन्छ। कोरोना संक्रमण भएको दुई हप्तामा निमोनिया भएको हुन्छ। त्यसैले जिउ दुख्ने, ज्वारो सय डिग्री छ, श्वास फेर्न असजिलो छ भने अस्पताल गइहाल्नुपर्छ। यत्तिकै निको हुन्छ भनेर घरमै बसेको खण्डमा पछि अस्पतालमा बस्नु हुँदैन। बेड नपाउने खतरा हु्न्छ। किनकि, त्यति बेलासम्म बिरामीलाई आइसियुमा राख्नुपर्नें अवस्था हुन्छ। त्यसैले अहिले अधिकांश बिरामी गम्भीर अवस्थामा वा निमोनिया भइसकेका मात्र आउने भएकाले अस्पतालमा आइसियु बेड सबै भरिएका छन्।

आजभोलि होम आइसोलेसनमा भएका बिरामी घरमै अक्सिजन लिएर बस्ने पनि छन्। यो कतिको ठिक छ?

म त गलत नै भन्छु। यदि अस्पताल वा कुनै डाक्टरलाई देखाएर अक्सिजन राखेको छ भने ठिक छ। नभए एकदम गलत हो। यसले गर्दा बिरामी मृत्युको मुखमा जान सक्छ। किनकि, थाहा हुँदैन परिवारलाई कि बिरामीलाई कति अक्सिजन चाहिने। उदाहरणको लागि ८–१० लिटर अक्सिजन चाहिने बिरामीलाई २–३ लिटर दिएको हुन्छ। त्यसैले घरमै अक्सिजन दिने भए पनि पहिला अस्पतालमा जचाउन ल्याउनुस् त्यसपछि डाक्टरको परर्मशमा उपचार गर्नुस् घरमै भए पनि।

निमोनिया श्वासप्रश्वासको रोग भएका कारण शरीरमा अक्सिजनको कमी छ भने निमोनिया हुन्छ। त्यसैले ९२ भन्दा अक्सिजन लेभल कम भयो भने अस्पताल जानुपर्छ। अहिले घरमै अक्सिजन दिएर बस्नेहरु ७० पुगेपछि मात्र अस्पताल आउने गर्छन्। त्यसले गर्दा गाह्रो हुन्छ। त्यसैले कोरोना संक्रमित सबैले घरमै एउटा अक्सिजन नाप्ने किट राखेको राम्रो। जसलाई पल्स अक्सिमिटर भनिन्छ। जसले हातको औंलामा च्यापेर समयसमयमा शरीरमा अक्सिजनको मात्रा ठिक छ कि छैन भनेर थाहा पाउन सकिन्छ। यसले बिरामीलाई गम्भीर अवस्थामा जान रोक्छ। यो दीर्घरोगीका लागि उपयोगी हुन्छ।

के यो पल्स अक्सिमिटर प्रयोग गरेका छन् त बिरामीले?

अरू ठाउँमा थाहा भएन तर काठमाडौंमा भने ५० प्रतिशतभन्दा बढीले प्रयोग गरेको पाइन्छ।

अहिले कस्ता बिरामी धेरै अस्पताल आउने गर्दछन्?

अहिले आएका बिरामी सबै निमोनिया भएका र अक्सिजन दिनुपर्ने खालका छन्। अधिकांशको अक्सिजन लेभल ७० मा झरेको छ। निमोनिया भएर भेन्टिलेटरमा राखेका बिरामी सयजनामा २० जनामात्र बाँच्ने सम्भावना हुन्छ। त्यसैले ५–७ दिनमा नै धेरै गाह्रो भएको छ, अक्सिजन लेभल कम छ भने अस्पताल गएर पिसिआर चेक गराउनुहोला। २ हजारको लोभमा आफ्नो ज्यान जोखिममा नराख्न आग्रह गर्दछु।

अहिले पनि कोरोना केही होइन भन्ने पनि छन्? यसबारे के भन्नुहुन्छ?

करिब एक वर्ष भइसक्यो अहिले पनि कोरोना रोग केही होइने भन्नेलाई त म कि उनीहरूमा ज्ञानको कमी छ कि त बुझ्न नचाहेको हुनसक्छ भन्छु। त्यसैले कोरोना केही होइन भन्ने सोच राख्नेलाई अहिलेसम्म कोरोनाबाट मृत्यु भएकामा सबै उमेर समूहका छन्। युवामा पनि आफ्नै आँखा अगाडि मुत्यु भएका छन्। शिक्षण अस्पतालमा मात्र अहिलेसम्म १ सय १२ जनाको मृत्यु भइसकेका छन्।

आफूलाई पर्‍यो भने गाह्रो हुन्छ। त्यसैले आफू स्वस्थ छु भनेर लापरबाही नगर्नुस् तपाईंको कारणले परिवारका अरू सदस्यलाई रोग नलागोस्। आफू स्वस्थ भयो भन्दैमा परिवारका सबै सदस्य स्वस्थ हुँदैनन्। भोलि तपाईंलाई यो रोग लाग्यो भने न सरकारले केही गर्न सक्छ न डाक्टरले। त्यसैले आफूले आफैंलाई जोगाउनुपर्छ। केही नभएको भए त संसारमा तहल्का मच्चाउने थिएन कोरोनाले।

शिक्षण अस्पतालको आइसियुमा १५ वटा बेड भरिएका छन् र अक्सिजन दिनुपर्नेमा ९० बेड छन् तर ती सबै भरिएका छन्। जनरल बेड खाली छन्। त्यसैले समयमा नै अस्पतालमा जानुस्, सिकिस्त भएको अवस्थामा बेड नपाइन सक्छ।

कसरी बच्ने त निमोनियाबाट?

न्यानो कपडा लगाउने, तातो चिज खाने, मास्क लगाउने, भौतिक दुरी कायम गर्ने, स्यानिटाइजर वा साबुन पानीले हात धुने। यीबाहेक श्वास फेर्न असजिलो, ज्वरो सयभन्दा बढी र अक्सिजन लेभल ९२ भन्दा कम भयो भने अस्पताल जाने। सकिन्छ भने इन्फ्लुएन्जा खोप लगाउँदा हुन्छ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित समाचार

  • ताजा समाचार
  • जनप्रिय