कहिले हुन्छ पिजीको परीक्षा?

चिकित्सा शिक्षाको स्नातकोत्तर तह (पिजी) परीक्षा अझै अन्योल कायमै छ।

सर्वोच्च अदालतले मंसीर ४ गते छलफलको लागि बोलाइएको बैठक बिना निष्कर्ष टुंगिएपछि परीक्षा कहिले हुने भन्नेबारे अन्योल छाएको हो।

चिकित्सा शिक्षा आयोगका उपाध्यक्ष डा. श्रीकृष्ण गिरीका अनुसार बैठकमा कुन—कुन मुद्दा छन् भन्ने बारे छलफल भएको थियो।

स्नातकोत्तर तह (पिजी) अध्ययनका लागि विदेशी कोटा, आरक्षण र सरकारी र करारबीचको मुद्दमा एकीकृत छलफल गर्ने न्यायाधीशको राय आएपछि बैठक स्थगित भएको डा. गिरीले हेल्थपोस्टसँग बताए।

‘कुन—कुन मुद्दा छन् भन्ने बारे केही बेर छलफल भयो,’ डा. गिरीले भने,‘तर, विषयबस्तुमा प्रवेश गरेर बुद्दाँगत रूपमा छलफल हुन नै सकेन।’

‘एक एक मुद्दालाई मात्र छोडियो भने पनि अर्को मुद्दाको पुनः अदालतबाट स्टे आयो भने परीक्षा रद्द हुनसक्छ। त्यसकारण सबै मुद्दाको समस्यालाई एकैचोटी समधान गर्ने हिसाबले छलफल हुने हो’ डा. गिरीले भने।

प्रमुखतः परीक्षा रोकिनुको कारण नेपालमा आएर परीक्षामा सामेल हुर्ने अर्को विदेश विद्यार्थीले आफ्नो देशमा ल्याएको नम्बरको आधारमा पनि भर्ना हुन पाउने आयोगको निर्णय भएको थियो।

तर, विदेशी विद्यार्थीको हकमा नेपालमा आएर परीक्षामा सामेल नभएकाहरू लागि सिट नराखी बाँकी भएको सिट नेपालीलाई नै खुल्ला तर्फ राख्नुपर्ने नेपाली विद्यार्थीलेको मुद्दा हालेका थिए।

त्यसैगरी, सरकारी र करारबीचको सिट र आरक्षणको सिटको व्यवस्था हुनुपर्ने भन्दै अदालतमा मुद्दा परेको छ।

एमडी र एमएस, एमडिएस, एमपिएच, एमपिएचएन, एएचपिई, एमएन, एमएससी नर्सिङ, एम फर्मा एमएससी एमआइटी लगायतका विषयमा करीब ८ हजारभन्दा बढी विद्यार्थीले परीक्षा फारम भरेका छन्।

एक शैक्षिक सत्रको समय सकिँदा पनि उचित निर्णय नहुनाले विद्यार्थीको भविष्य अन्योलग्रस्त बन्दै गएको परीक्षामा सहभागी डा. बिदुर खतिवडा बताउँछन्।

‘परीक्षा दिन पाउने सबैको नैसर्गिक अधिकार हो तर ७ महिना बितिसक्दा पनि परीक्षा दिन पाएका छैनाैं,’ खतिवडाले भने, ‘१० प्रतिशत विदेशी विद्यार्थीको लागि सबै नेपाली विद्यार्थीले दुःख पाउनु न्यायोचित होइन।’

‘चैतमा हुनुपर्ने परीक्षा कहिले हुन्छ भन्ने अझै अन्योल छ। एक वर्षको पूरै समय गायब हुने भएको छ। जति—जति परीक्षाको समय लम्बिदै छ, उत्तिकै मानसिक समस्या पनि थपिएको छ,’ डा. खतिवडाले भने।

नेपालमा कुनै सम्भावना नरहेको कारण धेरै विद्यार्थी विदेश तर्फको तयारीमा रहेको खतिवडाले बताए।

‘लोकसेवा पनि खुलेको छैन। पिजीको परीक्षा पनि अन्योल छ। धेरथोर लगानी गरेर अध्ययन गरियो। अब सार्थकता दिनुपर्छ,’ खतिवडा भन्छन्, ‘यसरी अलपत्र बसेर हुन भनेर धेरै विद्याथी बाहिर जाने तयारीमा जुटेका छन्।’

यस्तै समस्या केन्द्रित रहिरकेको अवस्थामा भोलिका दिनमा देशले ठूलो संख्यामा दक्षजनशक्ति गुमाउने परिस्थित आएको खतिवडा बताउँछन्।

नेपाल चिकित्सक संघका महासचिव डा.बद्री रिजाल आयोगले यस्ता मुद्दाको पहल गरेर जतिसक्दो चाडैं समस्या टुग्याउनुपर्ने बताउँछन्।

‘परीक्षा गर्नेको लागि संघले दबाव दिँदै आएको छ। अदालतमा गएको विषयवस्तुलाई यसो—उसो गर भन्न मिल्दैन,’ डा. रिजालले भने, ‘शैक्षिक सत्र गायब हुन नदिएर जतिसक्दो चाँडो निर्णय लिएर परीक्षा सञ्चालन गर्नुपर्दछ।’

‘अदालतले ढिलो गर्यो भन्न मिल्दैन। यि मुद्दालाई आयोगले संवदनशील भएर सरोकार राख्दा चाडै निर्णय हुने थियो कि?’ डा. रिजाल भन्छन्।

डा. गिरीका अनुसार मुद्दाहरू एकैपटक टुंगाएउने हिसाबले छलफल हुने भएको छ। तर बैठक कहिले बस्ने हो टुंगो लागेको छैन।

‘जुन दिन अदालतले परीक्षा गर भनेर निर्णय दिन्छ। हामी त्यही दिन परीक्षाको तालिका निकाल्छाैं,’ डा. गिरीले भने, ‘परीक्षा लिनको लागि हाम्रो तर्फबाट तयार छौं।’

अदालतको आदेश स्वास्थ्य मन्त्रालयले टेरेन, पिजि पढ्ने विद्यार्थी अन्योलमा

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित समाचार

  • ताजा समाचार
  • जनप्रिय