बाँकेका आइसोलेसनमा रहेका ४२ कोरोना संक्रमितको अवस्था गम्भीर

बाँकेका विभिन्न अस्पतालका आइसोलेसनमा उपचाररत ४२ जनाको अवस्था गम्भीर रहेको छ।

बाँकेको दुईवटा अस्पतालको कोरोना आइसोलेसनमा रहेका ४२ जना कोरोना संक्रमितको अवस्था चिन्ताजनक रहेको जिल्ला कोभिड–१९ संकट व्यवस्थापन समितिका फोकल पर्सन नरेश श्रेष्ठले जानकारी दिए।

भेरी अस्पतालको आइसोलेसनमा रहेका ७२ मध्ये ३२ जनाको अवस्था गम्भीर छ भने शिक्षण अस्पताल कोहलपुरको आइसोलेसनमा रहेका ३९ मध्ये १० जनाको अवस्था गम्भीर रहेको श्रेष्ठले बताए।

स्वासप्रस्वासमा समस्या देखिएका कोरोना संक्रमितलाई मात्र आइसोलेसनमा राख्ने गरिएको छ।

यसैबीच, बाँकेमा हालसम्म ८१ जना कोरोना संक्रमितको मृत्यु भएको छ। मृतकमध्ये ४४ जना बाहिरी जिल्लाका र ३७ जना बाँकेका भएका श्रेष्ठले जानकारी दिए।

नेपालगञ्ज उपमहानगरपालिकाका नौ महिला र १५ पुरुष गरी २४ जना कोरोना संक्रमितको मृत्यु भएको छ। त्यसैगरी, कोहलपुरका सात, खजुराका दुई, जानकी, बैजनाथ, राप्तीसोनारी र नरैनापुर गाउँपालिकाका एक/एक जनाको मृत्यु भएको छ।

बाहिरी जिल्लाबाट उपचारका लागि आएका मध्ये सबैभन्दा धेरै दाङबाट उपचारका लागि आएकाको मृत्यु भएको श्रेष्ठले बताए। उनले दाङका तीन महिला र १५ पुरुष गरी १८, बर्दियाका ८, कैलाली र कञ्चनपुरका चार/चार, सुर्खेतका ३, दैलेखका दुई, अर्घाखाँची, पश्चिम रुकुम, अछाम र रोल्पाका एक/एक जना कोरोना संक्रमितको उपचारको क्रममा बाँकेका आइसोलेसनमा मृत्यु भएको जानकारी दिए।

बाहिरी जिल्लाबाट उपचार गराउन आएका अधिकांशको शिक्षण अस्पतालमा मृत्यु भएको उनले बताए।

यता, बाँकेका एक जनाको क्वारेन्टिनमा र एक जनाको होम आइसोलेसनमा मृत्यु हँुदा भेरी अस्पतालको आइसोलेसनमा १९ र शिक्षण अस्पतालको आइसोलेसनमा १६ जनाको मृत्यु भएको छ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित समाचार

  • ताजा समाचार
  • जनप्रिय