यसरी आउँदैछ नेपालमा कोरोना भ्याक्सिन

केही भ्याक्सिन परीक्षण सफल भएका समाचारसँगै कोरोनासँग लडिरहेको विश्वमा केही आसा पलाएको छ।

फाइजर–बायोएनटेकले बनाएको भ्याक्सिन ९० प्रतिशत सफल भएको छ।

त्यस्तै मोडेर्नालगायत कम्पनीले उत्पादन गरेका भ्याक्सिन ९४.५ प्रतिशत सफल भएको ती कम्पनीहरूले दाबी गरेका छन्।

ती अमेरिकी कम्पनी हुन्।

नेपालले के गरिरहेको छ?

कुनै महामारी तथा संक्रमणका बेला औषधी प्रयोगका लागि नेपालले कानुनी बाधा अडचन फुकाउने प्रयास गरिरहेको छ।

मंगलबार राष्ट्रपतिबाट एउटा अध्यादेश स्वीकृत भएको छ।

औषधी ऐन २०३५ का केही प्रावधान संशोधन गर्न ल्याइएको यो अध्यादेशले आपतकालीनरूपमा औषधी तथा यस्ता खोप ल्याउने कानुनी बाटो खुला गरिदिने छ।

यो अध्यादेश आएपछि अरू देशमा प्रयोग भइरहेका खोपलाई नेपालमा सिधै दर्ता गर्न सकिन्छ।

यसले खोप आएपछि नेपालमा सिधै आमनागरिकमा प्रयोगका लागि कानुनी अडचन हुँदैनन्।

खोप कहिले प्रयोगमा आउँछ?

अन्तिम चरणको परीक्षण सफल भएको घोषणा गरेका फाइजर, बायोएनटेक र मोडेर्नाका खोपले पनि आमप्रयोगका लागि अनुमति पाइसकेका छैनन्।

यी कम्पनीले अमेरिकी खाद्य तथा औषधी प्रशासन (एफडिए) मा आपतकालीन प्रयोगका लागि शुक्रबारमात्रै निवेदन दिएका छन्।

सम्भवतः चाँडै नै एफडिएले अनुमति दिए ती खोप आमनागरिकलाई लगाउन सकिने छ।

नेपालमा खोप ल्याउने तयारी कस्तो छ?

कुनै पनि खोपको ‘फाइनल’ तथ्यांक आइसकेका छैनन्। त्यसको बिक्री, वितरण र प्रयोगका लागि त्यही तथ्यांक विश्लेषणका आधारमा तय गरिन्छ।

‘त्यसैले हामीले अहिले नै धेरै कुरा भन्न सकिहाल्ने स्थिति छैन,’ स्वास्थ्य सेवा विभागका खोप शाखा प्रमुख डा. झलक शर्मा गौतमले हेल्थपोस्टसँग भनेका छन्।

डा. गौतम सरकारले खोप ल्याउन गठन गरेको एउटा कार्यदलको सदस्यसचिव हुन्। केही समयअघि सरकारले गठन गरेको कार्यदलमा अर्थ मन्त्रालयका सचिव शिशिरकुमार ढुंगाना र परराष्ट्र मन्त्रालयका सचिव भरतराज पौड्याल छन्।

नेपालसँग खोप किन्ने पैसा छ?

यो कार्यदलले नेपालमा कसरी खोप ल्याउन सकिन्छ भन्ने तयारीमा काम गरिरहेको छ।

यो कार्यदलले खोप ल्याउन अन्तर्राष्ट्रिय सम्बन्ध विस्तारदेखि आर्थिक जोहोसमेत गर्दैछ।

खोपका किन्न कानुनी बाधा फुकेपछि आर्थिक समस्या भने खासै नरहेको कार्यदलले जनाएको छ।

‘खोप कसरी, कहाँबाट किन्ने भन्नेबारे स्वास्थ्य मन्त्रालयले काम गरिरहेको छ। उसले तयारी गरिरहेको छ,’ कार्यदलका सदस्य तथा अर्थ मन्त्रालयका सचिव ढुंगानाले भने, ‘पैसाका समस्या छैन। तयारी पूरा भए पनि अर्थ मन्त्रालयले जहाँबाट जसरी भए पनि पैसा जुटाउँछ।’

खोप कसरी आउँछ? 

सुरुमा खोप ल्याउन सरकारले सिधै कम्पनी वा देशसँग कुरा गर्दैन। विश्वव्यापी महामारी चलिरहेका बेला यसको खोपलाई ‘समानुपातिक’ ढंगले वितरणका लागि एउटा खोप सञ्जाल बनेको छ, कोभ्याक्स।

विश्व स्वास्थ्य संगठन (डब्ल्युएचओ) को सहजीकरणमा काम गर्ने यो सञ्जालले नेपालजस्ता गरिब देशलाई पनि खोप पु¥याउन सहयोग गर्छ।

त्यसका लागि डब्ल्युएचओले पनि आफ्ना सदस्य राष्ट्रका लागि सहजीकरण गरिदिन्छ। नेपाल पनि डब्ल्यूएचओको सदस्य राष्ट्र हो र सुरुमा आउने भ्याक्सिन पनि यसैमार्फत आउने हो।

‘सुरुमा हामीले कुनै देश वा कम्पनीसँग डाइरेक्ट कुरा गर्दैनौं,’ डा. गौतम भन्छन्, ‘हामीले कोभ्याक्सलाई पछ्याइरहेका छौं। विश्वमा भ्याक्सिनबारे कहाँ के कस्तो विकास भइरहेको छ भन्नेबारे कोभ्याक्समार्फत हामीले अपडेट लिइरहेका छौं।’

कोभ्याक्सले आफूसँग समन्वय गरिरहेका नेपालजस्ता गरिब देशका लागि सुरुमा कूल जनसंख्याको करिब २० प्रतिशतलाई पुग्ने भ्याक्सिन दिनसक्छ।

त्यो खोप सरकारले निःशुल्क बाँड्न पनि सक्छ।

डा. गौतमका अनुसार खोपको शुल्क पर्ने वा नपर्ने भन्नेबारे त्यसको आर्थिक साझेदारीमा भर पर्छ।

किनकि, यो २० प्रतिशत खोप अनुदानमा दिइने हो वा केही पैसा तिरेर ल्याउनुपर्ने भन्नेबारे अहिलेसम्म डब्ल्युएचओले केही पनि बताएको छैन।

‘त्योबाहेक अरू खोपको आवश्यक प¥यो भने हामीले बल्ल कुनै देश वा कम्पनीसँग किन्न सक्छौं,’ डा. गौतमले भने।

सरकारले ‘जिटुजी’ प्रक्रियाबाट खोप किन्ने निर्णय पनि गरिसकेको छ।

त्यसका लागि कुनै टेन्डर वा सूचनाजन्य प्रक्रियाको झन्झट गर्नुपर्दैन।

‘अब खोप उत्पादन भएर आमप्रयोगमा आइसकेपछि कुन देशसँग कुन लेभलमा कुरा गर्ने भन्ने हामीले निक्र्याेल गर्ने हो,’ उनले भने।

नेपालले खोप किन्न सजिलो छ? 

पहिलो लटमै खोप किन्न नेपाललाई अलि सजिलो छैन।

अहिले खोप उत्पादन गरिरहेका देशले पहिलो लटमा हुने उत्पादनको धेरै मात्रा आफ्नै देशमा प्रयोग गर्ने गरी कम्पनीसँग सम्झौता गरिसकेका छन्।

फाइजर, बायोएनटेक, मोडेर्ना तथा रुस र बेलायती कम्पनीले उत्पादन गरिरहेका खोपका अर्बाै डोज धनी देशले अग्रिम ‘बुकिङ’ गरिसकेका छन्।

त्यसमाथि सुरुमा केही करोड डोजमात्रै उत्पादन गर्न सकिने यी कम्पनीले जनाएका छन्।

चीनले तीनवटा खोपको अन्तिम चरणको परीक्षण गरिरहेको छ। उसले आफ्ना सैनिक तथा केही नागरिकलाई यी खोप लगाइसकेको छ।

व्यावसायिक रूपमा चीनले आफ्नो खोपको अन्तिम चरणको परीक्षणमा सहभागी भएका देशलाई पहिलो प्राथमिकतमा राखेको छ।

‘तर, अरू देशले प्रयोग गर्दा नेपालले पनि खोप पाउँछ,’ डा. गौतमले भने, ‘कोभ्याक्समार्फत आउनुपर्ने २० प्रतिशतमध्ये तीन प्रतिशत खोप अग्रिम आइसक्छ।’

अरू समस्या के छन्?

नेपालमा सबैभन्दा ठूलो समस्या भनेको खोपको भण्डारण हो।

फाइजर कम्पनीको भ्याक्सिन करिब माइनस ७० डिग्री सेल्सियसमा भण्डारण गर्नुपर्छ। खोप ल्याउँदादेखि ल्याइसकेर त्यसलाई चाहिने यो तापक्रमअनुसारको भण्डारण नेपालमा छैन।

त्यसैले यो खोप ल्याउन पनि प्राविधिक समस्या छ।

मोडेर्नाको खोप भने माइनस २० डिग्री तापक्रमयुक्त फ्रिजरमा कम्तिमा ६ महिनासम्म भण्डारण गर्न सकिन्छ।

नेपालमा सुरुमा आउने भनेको किनेको खोप होइन, त्यो कोभ्याक्स सञ्जालमार्फत आउने खोप हो।

तर, अहिलेसम्म कोभ्याक्सले कुन खोप अनुदान–साझेदारीमा उपलब्ध गराउने भन्ने स्पष्ट पारेको छैन।

त्यसैले नेपालले कस्तो भण्डारणको तयारी गर्ने भन्ने कुरा पनि अन्योलमै छ।

‘हामीकहाँ कुन खोप आउँछ भन्नेमा निर्भर हुन्छ। माइनस ७० मा राख्ने हो भने हामीसँग त्यो पूर्वाधार छैन,’ डा. गौतमले भने, ‘माइनस २० डिग्रीमा राख्नुपर्ने भए हामीसँग भएका भण्डारणमध्ये केही साम्रगी थप्यौं भने पुग्नसक्छ, त्यसकारण खोपको फाइनल रिजल्ट नआउँदासम्म केही भन्न सकिने अवस्था छैन।’

उनका अनुसार फाइनल रिजल्ट हेरेपछि मात्र खोप कुन तापक्रममा राख्ने तथा कतिमात्रामा राख्न मिल्ने हो त्यसबारे भन्न सकिन्छ।

‘हामीले कानुनी बाधा फुकाउँदै गएका छौं। खोप तयार भएपछि तुरुन्तै ल्याउन अध्यादेश आएको छ,’ उनले भने, ‘कोल्ड चेनको अवस्था कस्तो छ? र त्यसमा के के कुराको ग्याप छ भन्ने अध्ययन पनि गरिरहेका छौं।’

Leave a Reply

Your email address will not be published. Required fields are marked *

  • ताजा समाचार
  • जनप्रिय