सरुवा रोग विभाग स्थापना गर्न भरतपुर अस्पताललाई ८ करोड

चितवन देशकै मध्येभागमा छ। मानिसहरूको आवतजावत पनि बढी हुन्छ।

जसलेगर्दा यहाँ सरुवा रोगको जोखिम उतिकै छ।

त्यसलाई मध्यनजगर गर्दै भरतपुर अस्पतालले सरुवा रोग विभाग सञ्चालन गर्ने तयारी थालेको छ।

‘चितवन सरुवा रोगको राजधानी नै हो।

डेगु, स्क्रपटाइफस, ल्याप्टो स्पाईरोसि जस्ता सरुवा रोगको उच्च खोजिममा छ चितवन। तर, यसको छुट्टै उपचार गर्ने अस्पताल यहाँ छैन,’ भरतपुर अस्पतालका अध्यक्ष डा. भोजराज अधिकारीले भने, ‘भरतपुर अस्पतालले एक वर्षभित्र सरुवा रोग विभाग सञ्चालन गर्नेगरी तयारी थालेका छौं।’

सरुवा रोग विभाग सञ्चालन गर्न सरकारबाट स्वीकृतसमेत भैसकेको छ। पौष महिनामा टेण्डर सञ्चालन गरिने र विभाग सञ्चालन गर्न ८ करोड रुपैयाँ विनियोजन भइसकेको डा. अधिकारीले बताए।

सरकारले प्रत्येक प्रदेशमा प्रदेश स्तरिय सरुवा रोग अस्पताल निर्माण उपचार एवम् स्वास्थ्य विपत व्यवस्थापनको लागि बजेट विनियोजन गरेको थियो। तर, वाग्मती प्रदेशको हेटौडा नभई चितवनमा नै बनाउन लागिएको हो।

‘प्रादेशिक सरुवा रोग अस्पताल निर्माणका लागि ३ सय शैयाको केन्द्रिय र न्यूनतम ५० शैयाको प्रदेश स्तरिय र अत्याधुनिक सुविधा सम्पन्न सरुवा रोग अस्पताल स्थापना गर्न भनेको छ,’ डा. अधिकारीले भने, ‘भरतपुर अस्पतालबाट सञ्चालन हुने भएकाले सरुवा रोग विभाग भनेका हौं।’

भरतपुर अस्पतालको गुरुयोजना अनुसार आगामी बर्षका लागि २४ करोड ५० लाख बजेटका योजना सञ्चालन हुँदै छन्।

‘डि ब्लक तयार गर्दा सरुवा रोगलाई आवश्यक पर्ने प्रविधिसहितको संरचना निर्माण गर्दैछौं,’ उनले भने, ‘सरुवा रोग विभाग छुट्टै भवनमा निर्माण हुन्छ।’

सरुवा रोगका विभागका लागि भवन, प्रयोगशाला समेत छुट्टै हुनुपर्ने व्यवस्था छ। विभाग सञ्चालन गर्न १० चिकित्सक सहित ३० जना नर्सिङ दरबन्दी माग गरिएको डा. अधिकारीले बताए।

उनका अनुसार काठमाडौं बाहिर सरुवा रोगको विभाग सञ्चालन गर्ने तयारीमा रहेको भरतपुर अस्पताल मात्र हो।

भरतपुर अस्पतालमा अहिले आकस्मिक सेवा विस्तारमा ९ करोड, विशिष्टिकृत सेवा सञ्चालनमा ७ करोड र ट्रमा युनिटको विस्तार गर्न ५० लाख रुपैयाँ बजेट विनियोजन भएको छ।

चितवन मेडिकल सिटिको रुपमा परिचित छ। सरुवा रोगका बिरामी बढी देखिन्छन्। सन् २००६ मा देशमै पहिलोपटक डेंगे चितवनमा देखिएको थियो।

त्यसपछिका प्रत्येक २ बर्षको बिचमा महामारीकै रुपमा फैलिँदै आएको छ। यस्तै सन्२००८ मा ल्याप्टो स्पाईरोसि, गुनिया सन् २०१० र स्क्रपटाईफस वि.स.२०७४ मा चितवनबाट फैलिएको थियो। त्यसअघि अन्य जिल्लामा यी रोग देखा परेको थिएन।

यी बाहेक कालाजार, मलेरिया, इन्फ्यूएन्जा एच वान एन वान लगायतका सरुवा रोगका बिरामी चितवनमा प्रत्येक वर्ष देखा परेका छन्।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित समाचार

  • ताजा समाचार
  • जनप्रिय