‘होम आइसोलसन बस्दा जटिल समस्या देखिनसक्छन्’

कोरोना संक्रमित भएपछि अस्पताल होइन, घरमै बस्नेहरूको संख्या अत्यधिक देखिएको छ।

विज्ञहरूले गम्भीर लक्षण नभए घरमै ‘आइसोलेसन’ बस्न सुझाए पनि अहिले भने गम्भीर लक्षणसहितका संक्रमित पनि घरमै छन्।

बिहीबारसम्मको तथ्यांक हेर्ने हो भने  ९० प्रतिशतभन्दा बढी कोरोना संक्रमित होम आइसोलेसन छन्।

लक्षणविहीन, सामान्य ज्वरो तथा रुघाखोकी देखिएका संक्रमित होम आइसोलेसन बस्नुपर्ने हो।

तर, गम्भीर लक्षण देखिए पनि ‘एक–दुई दिनमा ठिक भैहाल्छ’ भन्ने सोचेर होम आइसोलेसन बस्नेहरू बढ्न थालेको विज्ञको भनाइ छ।

घरै बस्ने कि अस्पताल?

चिकित्सकहरूले लक्षण देखिएका संक्रमितलाई होम आइसोलेसन नबस्न सुझाव दिएका छन्।

यद्यपि, सरकारले भने पटकपटक एकदमै गम्भीर नहुँदासम्म अस्पताल नआउन भनेको थियो।

त्यस्तै, अस्पतालमा बेड नभएका समाचार पनि तारन्तार बाहिरिए। अनि, त्यही बीचमा सरकारले उपचारका लागि पैसा लिने निर्णय पनि ग¥यो। जसका कारण अस्पतालभन्दा घरमै बसेर कोरोना ‘कटाउने’ हरू बढे।

पिसिआर नगराई घरमै बस्ने झन् धेरै

पछिल्ला दिनमा लक्षण भए पनि पिसिआर नगरी घर बस्ने बढ्न थालेको शुक्रराज ट्रपिकल तथा सरुवा रोग अस्पतालका निर्देशक डा. सागर राजभण्डारी बताउँछन्।

‘घर बसेका मानिसलाई कोरोनाको लक्षण छ थाहा छ तर, दुई–चार दिनमा ठिक भइहाल्छ भन्ने मानसिकताले जरो गाड्दै गएको छ,’ डा. राजभण्डारी भन्छन्, ‘जसले गर्दा होम आइसोलेसनमै मृत्यु हुने संख्या बढ्दै गएको छ।’

उनका अनुसार पिसिआर गर्ने बित्तिकै अस्पताल बस्नुपर्छ र अस्पतालमा धेरै पैसा खर्च हुने डरले पनि संक्रमित घरमै लुकेर बस्ने गरेको धेरै उदाहरण छन्।

अस्पतालले उपचार रकम लिन थालेपछि मानिसहरू होम आइसोलेसन बस्न थालेको संक्रामक रोग विशेषज्ञ डा. प्रभात अधिकारी बताउँछन्।

‘सरकारको नीतिले गर्दा होम आइसोलेसन बस्ने संख्या बढेको छ। परीक्षण गरेर घरमा बस्ने संख्या बढेका छन्,’ डा. अधिकारी भन्छन्, ‘अक्सिजन घरमा लैजाने संख्या उल्लेख्य छ। अक्सिजन चाहिएको बिरामीलाई अस्पतालमा अन्य औषधि चलाएर ठिक गर्न सकिन्थ्यो। एकैपटक गम्भीर अवस्थामा अस्पताल पुग्दा बचाउन सकिने सम्भावना कम हुन्छ।’

कति छन् घरमा?

स्वास्थ्य मन्त्रालयको बिहीबारसम्मको तथ्यांकअनुसार देशभर २८ हजार १ सय ६ जना सक्रिय संक्रमित छन्।

उनीहरूमध्ये २५ हजार ३ सय ४७ जना होम आइसोलेसनमा छन्।

जम्मा २ हजार ७ सय ५९ संक्रमितमात्रै अहिले अस्पताल तथा संस्थागत आइसोलेसनमा छन्।

सरकारले पछिल्लो समय संक्रमितको कन्ट्याक्ट ट्रेसिङ पनि गर्न छोडिसकेको छ।

संक्रमितहरू घरमै बस्न थालेपछि अब अस्पतालमा बेड अभाव भने कम हुन थालेको छ।

होम आइसोलेसन बस्नेमा थप समस्या 

पछिल्लो समय घर बसेका संक्रमितमा ‘साइलेन्ट निमोनिया’ को समस्या देखिन थालेको चिकित्सक बताउँछन्। जसले गर्दा संक्रमितले थाहा नपाइकनै फोक्सोमा समस्या भइसकेको हुन्छ।

सामान्य ज्वरो तथा खोकीले पनि केही गर्दैन भन्ने मानिसमा भ्रम रहेको डा. अनुप बास्तोला बताउँछन्।

‘हेर्दा सामान्यजस्तो लाग्ने यस्ता बानी–व्यवहार महामारीका बेला निकै घातक हुने हुन्छ,’ डा. बास्तोलाले भने, ‘कोरोनाको लक्षण कसैलाई सामान्य हुनसक्छ, तर थुप्रैलाई सिकिस्त बनाएको छ।’

उनका अनुसार धेरै मानिसले पिसिआर परीक्षण गरेपछि १४–१५ दिन आइसोलेसन बस्नुपर्छ भनेर कोरोनालाई सामान्य लिएका छन्।

होम आइसोलेसनमा अक्सिजन कमी र मानसिक समस्या बढ्दो

डा.अधिकारीले डाँफे केयर नामक एक संस्थामार्फत होम आइसोलेसन बसेका संक्रमितलाई टेलिपरामर्श दिने गरेका छन्।

उनका अनुसार ३–४ सय मानिसमा गरिएको उक्त अध्ययनमा धेरैजसो मानिसलाई अक्सिजन कमी भएर अस्पताल पु-याउनुपरेको छ।

‘हामीले गरेको टेलिपरामर्शमा युवालाई मानसिक समस्या तथा दीर्घरोगीलाई अक्सिजन समस्या भएको पाइएको छ,’ डा. अधिकारीले भने, ‘पाँच प्रतिशतभन्दा बढीलाई अक्सिजन कम भएर अस्पताल जानुपर्ने देखिएको छ।’

दीर्घरोगीलाई लगातार झाडापखला तथा ज्वरो कम नहुने समस्या रहेको उनी बताउँछन्।

कस्ता संक्रमित अस्पताल जाने?

अक्सिजनको लेभल घटेर ९४ भन्दा कम हुन थालेको छ र सास फेर्न गाह्रो भएको छ भने चिकित्सकसँग सल्लाह गरिहाल्नुपर्ने डा. अधिकारी बताउँछन्।

डा. अधिकारीका अनुसार खोकी र ज्वरो आएको छ, सास फेर्न पनि गाह्रो भएको छ भने तुरुन्त अस्पताल जानुपर्छ।

नभए कडा निमोनिया भएर अक्सिजन कमी भई हातखुट्टा निलो हुने तथा कमजोरी बढ्दै जाने हुन्छ।

‘कडा किसिमको निमोनिया भएकालाई छिटो अस्पताल पु¥याइएन भने बचाउन सकिँदैन। अक्सिजनको लेभल घट्न थालेपछि केही समयमा बिरामीलाई अस्पताल पु-याउन सकिएन भने मृत्युसमेत हुन्छ,’ डा. अधिकारीले भने, ‘त्यसैले होम आइसोलेसन बस्दा बेलाबेला अक्सिमिटरले अक्सिजन लेभल नाप्नुपर्छ।’

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित समाचार

  • ताजा समाचार
  • जनप्रिय