५१ विद्यार्थीमा कोरोना देखिएपछि हुम्लाका शैक्षिक संस्था बन्द

लामो समयको बन्दाबन्दीपछि कात्तिक दोस्रो साताबाट सञ्चालनमा आएका हुम्लाका शैक्षिक संस्था आजबाट पुनः बन्द भएका छन्।

बुधबार बसेको जिल्ला कोभिड–१९ संकट व्यवस्थापन समितिको बैठकले आजदेखि जिल्लाभर शैक्षिक संस्था बन्द गर्नुका साथै जिल्लाका सातवटै गाउँपालिकामा प्रवेश गर्ने मुख्य नाकामा सुरक्षा जाँचमा कडाइ गरिने निर्णय गरको छ।

जिल्ला बाहिरबाट प्रवेशमा रोक लगाउनुका साथै अन्तरपालिका आवतजावतमा समेत कडाइ गरिने भएको छ।

कोरोना संक्रमणको जोखिमलाई मध्यनजर गर्दै मंसिर ४ गतेदेखि अर्को व्यवस्था नहुँदासम्मका लागि पठनपाठन बन्द गरिने भएको हो।

उत्तरी नाम्खा गाउँपालिकाको याल्वाङमा रहेको महाबौद्ध माध्यमिक विद्यालयका ५१ विद्यार्थीमा कोरोना संक्रमण पुष्टि भएपछि जिल्लाभरका शैक्षिक संस्था बन्द गरिएका हुन्।

यस्तै नाम्खा र सिमकोट गाउँपालिकामा आवतजावत तीन दिनका लागि बन्द गर्ने निर्णय भएको छ। उत्तरी नाम्खा गाउँपालिकामा पाँच दिनको अवधिमा ५६ कोरोना संक्रमित भेटिएपछि जिल्ला कोभिड-१९ व्यवस्थापन समिति तातिएको छ।

नाम्खा गाउँपालिकामा कोरोना संक्रमणको दर बढ्दो क्रममा रहेकाले यसको नियन्त्रण तथा रोकथाममा लागि स्वास्थ्य सेवा कार्यालय हुम्लाले जिल्लाका सातवटै स्थानीय तहसँग समन्वय गरेर परीक्षणको दायरालाई बढाउनुका साथै भीडभाड बढी हुने र सम्पर्कमा आउने व्यक्तिलाई प्राथमिकताका साथ परीक्षण गर्ने भएको छ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित समाचार

  • ताजा समाचार
  • जनप्रिय