कोरोना जितेर भात बाँड्न आउँछु : ‘आमा’ इन्दिरा रानामगर

एक साता अघिसम्म राजधानीका भोका पेटहरूलाई भात बाँड्दै गरेकी भेटिन्थिन् ‘आमा’ अर्थात इन्दिरा रानामगर।

उनी राजधानीका गल्ली-गल्ली चहार्ने भोका पेट खोज्दै दैनिक ७ सयजनालाई खाना खुवाइरहेकी हुन्थिन्।

तर, यतिबेला उनको शरीर लत्रिएको छ, पूरै शिथिल बनेर।

कारण हो, कोरोना संक्रमण।

उनको शरीरमात्र लत्रिएको छैन, मन पनि उस्तै बैराग लाग्दो बनेको छ।

सेवा गर्ने मनकारीहरूलाई पनि रोगले कहाँ छोड्दो रहेछ र?

भोका पेटको सहारा बनेकी उनी आफै संक्रमित बन्न पुगिन्।

संक्रमित बनेपछि जति उनलाई शरीर शिथिल बनेको चिन्ता छ, त्योभन्दा धेरै भोका पेटहरूको सुर्ता।

उनमा जाँगर छैन। बोल्न मन लाग्दैन। टाउको भनभन्ती दुखिरहेको हुन्छ। तै पनि तारन्तार उनलाई फोन आइरहेको हुन्छ।

‘फोन उठाउने पनि जाँगर छैन। तर, के गर्नु मनले मान्दैन!,’ इन्दिराले आयोमेलसँग भनिन्।

‘फोन उठाइनँ भने पनि कसैले चित्त दुखाउलान्, मेरो प्रतिक्षामा बसिरहेका भोका पेटहरूले छटपटाउँदै खोजिरहेका होलान् भनेर सकिनसकी फोन उठाइरहेकी हुन्छु,’ उनले भनिन्।

‘आमा भोक लाग्यो!’
‘खाना कहिले आउँछ?’
‘किन खाना आएन?’

‘फोन कानमा लगाउन नपाउँदै न्यास्रिएका स्वरहरूले यस्तै प्रश्न तेस्र्याइरहेका हुन्छन्। कटक्क मनै काट्ने गरी,’ उनी निराश हुँदै भन्छिन्।

मन भक्कानिन्छ। गह भरिलो हुन्छ। सन्चो छैन, भोलि–पर्सीबाट भातको पोका लिएर आउँछु है…! भन्दै आश्वासन दिन थालेको पनि हप्तादिन भइसक्यो।

सञ्चो छैन भनेपछि उनीहरूले विश्वास नै नगर्ने गरेको उनी सुनाउँछिन्।

र, अन्तिममा भन्न बाध्य हुन्छिन्, ‘मलाई कोरोना संक्रमण भएको छ। अहिले अस्पतालको बेडमा लडिरहेकी छु।’

उनीहरू फोनमा ‘भगवानले तपाईंको रक्षा गरुन् आमा, छिट्टै निको हुनुस्’ पुकार गरिरहेका हुन्छन्।

पछिल्लो नौ महिनादेखि काठमाडौंका भोकाहरूलाई भातका पोका बाड्दै आएकी थिइन् इन्दिरा।

‘आफ्नो ज्यानको पीर एकातिर छ, भोकाहरूको पीडा र दुःख अर्कोतिर,’ अस्पतालको शय्याबाट इन्दिरा भन्छिन्, ‘भोक लाग्यो भन्दै दिनमा आठ–दसजनाको फोन आउँछ। साह्रै नरमाइलो लाग्छ।’

घरमा उनका १५/१६ जना छोराछोरी छन्। ती उनका आफ्नै छोराछोरी भने होइनन्। उनले ‘बन्दी सहायता नेपाल’ नामक बालआश्रम सञ्चालन गरेकी छिन्।

र, त्यहीँ उनले बेसहारा बनेका १५/१६ जना बालबालिकाको हेरचाह गर्दै आएकी छिन्।

उनीहरूबाट कहिल्यै टाढा नभएकी इन्दिरालाई अहिले अस्पतालको बसाइ कारागारको बसाइभन्दा कम लागिरहेको छैन।

कोरोना बलियो आत्मविश्वासले सहजै जित्न सकिन्छ भन्ने उनमा पूर्णविश्वास छ। उनी अहिले दर्बिलो मुटुका साथ सशस्त्र प्रहरीको बलम्बुस्थित कोरोना विशेष अस्पतालको शय्यामा उपचाररत छिन्।

भोकाहरूको आशिर्वादले पनि आफू चाँडै कोरोना जित्नेमा उनी विश्वस्त छिन्।

उनले आफूमा संक्रमण पुष्टि भइसकेपछि खाना बाँड्न नसक्ने बताएकी थिइन्।

तर, खाना नपाएकाहरूले उनलाई दिनहुँ फोन गरिरहेका हुन्छन्। र, भोक लाग्यो भनेर रोइरहेका हुन्छन्।

सार्वजनिक स्थान, सडकका भोकाहरूलाई मात्रै खाना खुवाउँदिनन् इन्दिरा।

अशक्त, असहायहरूका लागि घरमै भातका पोका दिन्छन्।

कतिपय भोकाहरू त घरमै आउँछन्।

घरमा आएका भोकाहरूलाई स्टाफले दालचामल दिएर पठाउने गरेका छन्।

अघिल्लो आइतबार कोरोना परीक्षण गराएकी इन्दिराको रिपोर्ट अर्काे दिन (बिहीबार) सम्म खाना वितरण गरिरहिन्।
कोरोना भाइरस रिपोर्ट आउन करिब तीन दिन लाग्यो।

त्यतिका दिनसम्म उनी मौन बस्न सकिनन्।

भोकाहरू फोन गर्थे। भातका लागि भौंतारिएको उनी हेर्न सक्थिनन्।

कतिपय भोकाहरू इन्दिराको तातो भातको पर्खाइमा हुन्थे।

रिपोर्ट आउँदासम्म पनि पर्खिन नसक्नुको कारण थियो भोकाहरूको पीडा र विलाप।

‘महिनाैंदेखि भोकको पीडा र छटपटी देखेकी छु, कसरी मैले रिपोर्ट कुर्न सक्थेँ?, मैले निस्वार्थ भावले सेवा गरेकी हुँ। उनीहरूको आशिर्वादले छिट्टै निकोे भई फेरि भातका पोका बाँड्ने छु,’ उनी भन्छिन्।

आमालाई सञ्चो नभएको र केही दिन खाना बन्द हुने खबर दिन उनले भात वितरण गर्ने स्थानमा छोरीलाई पठाइन्।

खबर दिँदा छोरीले सानो भिडियो बनाएर आमालाई पठाइन्।

‘खबर सुन्दा कतिले आमै भोकै परिने भयो भनेका थिए त कतिले आँखाबाट आँशु झारेका,’ इन्दिरा भन्छिन्, ‘रहरले कोही भातका लागि भौंतारिँदैन, मनमा पीडा नभई आँशु झर्दैन।’

त्यो भिडियो हेरेपछि उनलाई छिटो घर जान पाए हुन्थ्यो लाग्न थालेको छ।

उनी छिट्टै कोरोना जित्न चाहन्छिन्।

ती भोकाएका अनुहारका खातिर, आफ्ना सन्तानहरूका खातिर।

चैतमा गरिएको ‘लकडाउन’ देखि निरन्तर अहिलेसम्म भोकाहरूलाई भातका पोका वितरण गर्दै आएकी थिइन् उनी।

सुरुमा दैनिक २-३ सयलाई भातका पोका बाँड्ने गरेकी इन्दिराले केही दिनपछि दैनिक ७ सयलाई भात बाँड्न थालिन्।

अहिलेसम्म उनले कबि डेढ लाख भोकाहरूलाई भात खुवाइसकेकी छिन्।

बिहीबार बलम्बुमा रहेको सशस्त्र प्रहरीको कोरोना विशेष अस्पतालमा भर्ना भएकी थिइन्।

उनलाई लक्षणसहितको कोरोना भाइरस संक्रमण भएको थियो।

सुख्खा खोकी र झाडापखाला लाग्ने भएपछि उनले कोरोना परीक्षण गराएकी थिइन्।

भाइरस संक्रमण भएको हुनसक्ने आशंका भएपछि तीन-चार दिन आइसोलेसन बसिन्।

दुई दशकअघि सन् २००० मा ‘बन्दी सहायता नेपाल’ संस्था खोलेकी इन्दिरा लामो समयदेखि समाजसेवामा तल्लिन छिन्।

पहिले बा-आमा जेल परेका बालबालिका र बन्दीहरूको सेवा गर्थिन् त अहिले भोकाहरूको र सडक बालबालिकाको।

सडक बालबालिकालाई काख दिने इन्दिरा बालबालिकाकी मात्रै आमा होइनन्।

उनी त काठमाडौंका हजारौं भोकाहरूकी आमा हुन्।

बुढापाका, बालबालिका, युवा, ट्याबे, मुन्द्रे सबैकी आमा।

इन्दिरा भोकाहरूलाई भातमात्रै बाँड्दिनन्।

उनी देशभरका ५ सय बन्दीका बालबालिकाको हेरचाह गरिरहेकी छिन्।

करिब २ हजार बालबालिकालाई हुर्काइसकेकी छिन्।

अहिले बन्दी सहायता नेपालमा उनका १४/१५ छोराछोरी छन्।

उनले खाना पकाउन तथा वितरण गर्न केही सहयोगी पनि राखेकी छिन्।

उनलाई भाइरस संक्रमण देखिएपछि सबैको पिसिआर गरिएको छ। उनीहरू सबै सकुशल छन्।

सहयोगीले घरमा आउने भोकाहरूलाई भात तथा खानेकुरा दिएर पठाउने गरेका छन्।

धरै सहयोगीहरू आइसोलेसनमा भएकाले खाना वितरण गर्न नसकेको इन्दिराले दुखेसो पोखिन्।

‘म अस्पतालमा छु, सहयोगीजति सबै होम आइसोलेसनमा, सोमबारदेखि खाना बाँड्ने काम रोकिँदा पीडा भएको छ,’ अस्पतालको शय्याबाट इन्दिराले भनिन्, ‘निको भएर छिट्टै भातको पोका बाड्न आउँछु।’

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित समाचार

  • ताजा समाचार
  • जनप्रिय