डा. केसीको स्वास्थ्य सुधारोन्मुख
चिकित्सा शिक्षा सुधारका अभियन्ता डा. गोविन्द केसीको स्वास्थ्य अवस्था सुधारोन्मुख भएको चिकित्सकले बताएका छन्।
उपचारमा संलग्न त्रिवि शिक्षण अस्पतालका डा. सन्तकुमार दासका अनुसार केसीको अवस्था सुधार हुँदै गएको छ।
उनका अनुसार सुरूका दिनमा उच्च ज्वरो, श्वासप्रश्वास तथा छातीमा समस्या देखिएको थियो।
‘उहाँ निमोनिया तथा श्वासप्रश्वासबाट ग्रसित भएर अस्पताल आउनु भएको थियो। पहिला पूरै अक्सिजनको सहायतमा राखिएको थियो,’ डा. दासले हेल्थपोस्ट नेपाल भने, ‘अहिले स्वास्थ्य अवस्थामा सुधार भइरहेको छ। अक्सिजन पनि बेला—बेलामा मात्रै दिएका छौं।’
अहिले डा.केसीलाई अक्सिजन तथा केही औषधी पनि चलाइएको छ।
‘हामीले रेमडिसिभिर, डेक्सोना र एन्टीकोस्सेजन चलाएका छौं। ती औषधीले राम्रो काम गरिरहेका छन्’, डा. दासले भने।
केसीलाई दिएको रेमडिसिभिर डोज सकिएपछि चाँडै नै डिस्चार्ज गर्ने तयारीमा रहेको डा. दासले बताए।
‘अहिले उहाँलाई ज्वरो छैन, छातीको सुख्खा रहेको छ,’ डा. दासले भने, ‘रेमडेभिर डोज सकिएपछि सायद २–३ दिनमा डिस्चार्ज नै गर्छाैं।’
डा. केसीलाई कार्तिक २८ गते संक्रमण पुष्टि भएको थियो।