चितवनमा पिसिआर परीक्षण गराउनेकाे संख्या घट्दो

चितवनमा पिसिआर परीक्षण गर्नेको संख्या घट्दै गएको छ। सरकारले हाल पिसिआर परीक्षण निःशुल्क गर्ने भनेपनि केही समय अघि शुल्क तोकेपछि कोरोना परीक्षण गराउनेको संख्या घटेको हो।

जिल्ला स्वास्थ्य कार्यालय चितवनका अनुसार पछिल्लो समय दैनिक तीन सयको हाराहारीमा मात्र कोरोना परीक्षण हुने गरेको छ।

‘असार, साउन, भदौमा जिल्लाबाट एक हजार भन्दा बढी स्वाब संकलन हुथ्यो’, स्वास्थ्य कार्यालय चितवनकी सूचना अधिकारी गीताञ्जली ढकालले भनिन्, ‘कात्तिक पहिलो सातादेखि कोभिड–१९ परीक्षण गराउनेको संख्या घटेको छ।’

जिल्लामा हालसम्म २९ हजार २ सय ६२ स्वाब परीक्षण भएका छन्।

सरकारले शुल्क तोकेपछि जिल्लामा स्वाब संकलनमा कमी आएको  हुनसक्ने ढकालको अनुमान छ।

चितवनमा भरतपुर अस्पताल, चितवन मेडिकल कलेज र वीपी कोईराला क्यान्सर अस्पतालमा पिसिआर परीक्षण हुने गरेको छ। त्यसमध्ये चितवन मेडिकल कलेजमा बढी स्वाब परीक्षण हुन्छ।

मेडिकल कलेजका अनुसार पछिल्ला दिनमा दैनिक दुई सयको हाराहारीमा परीक्षण हुने गरेको छ। आजभोलि भरतपुर कोभिड–१९ परीक्षण प्रयोगशालामा एक सयको हाराहारीमा स्वाब आउने गरेको प्रयोगशाला प्रमुख डा. नितु अधिकारीले बताइन्।

‘बैशाख र जेठ महिनामा कोरोनाको त्रास थियो। त्यतिखेर स्वाबको चाप एकदम भयो’, अधिकारीले भनिन्, ‘असार र साउनमा दैनिक एक हजार भन्दा बढि स्वाब आउँथ्यो। त्यसपछि घट्दै दैनिक चार सय ५० सम्म आउन थाल्यो। कात्तिकदेखि घटेर अहिले दैनिक एक सय भन्दा बढी स्वाब आएको छैन।’

भरतपुर अस्पताल कोभिड-१९ प्रयोगशालाले अहिलेसम्म ३२ हजार पिसिआर परीक्षण गरेको छ। भदौ महिनासम्म यहाँ बाहिरी जिल्लाबाट समेत स्वाब बढि आउने गर्दथ्यो। परीक्षण मध्ये पोजेटिभ देखिने दर पनि घटेको अधिकारीले बताइन्। पहिले परीक्षणको ४५ प्रतिशतसम्म नतिजा पोजेटिभ आउने गरेकोमा हाल यो घटेर २५ प्रतिशतमा सीमित भएको उनले बताइन्।

परीक्षण कम हुन थालेपछि संक्रमितको संख्या पनि घट्दै गएको छ। ‘कात्तिक पहिलो सातासम्म दैनिक एक सय ५० को हाराहारीमा पिसिआर पोजिटिभ देखिने गरेको थियो। अहिले ५० को हाराहारीमा मात्र संक्रमित फेला परेका छन्’, ढकालले भनिन्, ‘निको हुनेको संख्या पनि बढिरहेको छ।’

सरकारले केही दिनअघि पिसिआर परीक्षण निःशुल्क गर्ने भनेको छ। चार्डपर्व पनि सकिने भएकाले कोरोना संक्रमितको संख्या अब भने बढ्न सक्ने ढकालले बताइन्।

कात्तिकमा मात्रै चितवनमा दुई हजार एक सय ४४ जनामा कोरोना संक्रमण पुष्टि भएको छ। त्यस्तै, असोजमा एक हजार सात सय ६०, भदौमा एक हजार एक सय ४५, साउनमा एक सय पाँच जनामा संक्रमण देखिएको थियो। जिल्लामा पहिलो पटक बैशाख ५ गते दुई जनामा कोरोना संक्रमण पुष्टि भएको थियो।

चितवनमा मंगलबार साँझसम्म पाँच हजार तीन सय ६२ जनामा कोरोना संक्रमण पुष्टि भएको छ। त्यसमध्ये निको हुनेको संख्या ७१ दशमलव ४ प्रतिशत रहेको छ। सोमबार साँझसम्म तीन हजार आठ सय ९५ जना संक्रमित निको भएको स्वास्थ्य कार्यालयको तथ्यांकमा उल्लेख छ। जिल्लामा संक्रिय संक्रमित एक हजार दुई सय ८८ जना रहेका छन्।  मृत्यु हुनेको संख्या भने ८१ पुगेको कार्यालयले जानकारी दिएको छ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित समाचार

  • ताजा समाचार
  • जनप्रिय