फाइजरको कोरोना खोप वितरण सुरु, एक डोजको मुल्य अमेरिकामै १९ डलर

कोरोना भाइरसविरुद्ध खोप बनाउन सफल मानिएको कम्पनी फाइजरले खोप वितरण गर्ने जनाएको छ।

फाइजरले अमेरिकाका चार राज्यलाई खोप वितरण गर्ने भएको हो। यो वितरण प्रक्रियालाई उसले ‘परीक्षण वितरण’ भनेको छ।

फाइजरले खोप वितरण गर्ने बताएपछि ती राज्य भण्डारण व्यवस्थापनमा जुटिसकेका छन्।

फाइजरले आविष्कार गरेको खोप कोरोना भाइरसविरुद्ध ९० प्रतिशतभन्दा बढी प्रभावकारी रहेको भन्दै अहिलेसम्मकै सबैभन्दा प्रभावशाली खोप भएको दाबी गरेको छ।

यो खोप ७० डिग्री सेल्सियसभन्दा कम तापक्रममा भण्डारण गरी सुरक्षित तरिकाले आपूर्ति गर्नुपर्ने चुनौति अमेरिकासामु छ।

‘यो खोपलाई डेलिभरी पाइलटले सुरक्षित तरिकाले अमेरिका र अन्य देशमा पठाइ नमुनाको काम गर्नेमा हामी आशावादी छौं,’ फाइजरले सोमबार साँझ जारी गरेको विज्ञप्तिमा छ, ‘पाइलटहरू कोरोना विरुद्धको लडाइँका लागि तयार छन्।’

कम्पनीका अनुसार पहिलो चरणमा कोरोना भाइरसविरुद्धको खोप अमेरिकी राज्य रोड आइल्यान्ड, टेक्सास, न्युमेक्सिको र टेनेसीमा वितरण गरिने छ।

सुरुवाती चरणमा खोप वितरणका लागि छनोट भएका राज्यको जनसंख्या, विकास पूर्वाधार र सहरका साथै ग्रामीण इलाकाका सर्वसाधारणसम्म पुर्‍याउनुपर्ने जोखिम नियालेर खोप वितरण गर्ने योजना बनाइएको फाइजरको भनाइ छ।

खोप वितरणका लागि चार राज्यको नाम सार्वजनिक भए पनि सबै राज्यले एकै समयमा खोप प्राप्त गर्ने भन्दै फाइजरले खोप वितरणमा कुनै विभेद नगरिएको विज्ञप्तिमार्फत प्रष्ट पारेको छ।

कम्पनीले खोपलाई सुरक्षित स्थानमा पुर्‍याउनु र भण्डारणका लागि आवश्यक पर्ने सबै मापदण्ड अपनाउनुपर्ने बताउँदै आपतकालीन प्रयोगको अधिकार मागिएको जानकारी दिएको छ।

खोप उत्पादक कम्पनीहरू फाइजर र बायोएनटेकले १ अर्ब ९५ करोड अमेरिकी डलरमा अमेरिकालाई १० करोड डोज खोप उपलब्ध गराउनुपर्ने सम्झौता गरेका छन्। यो हिसाबले एउटा खोपको मूल्य साढे १९ डलर पर्न आउँछ।

अमेरिकाले तिनै दुई कम्पनीसँग थप ५० करोड डोज खोप किन्न सक्ने विकल्प पनि तयार पारेको छ।

अर्को खोप उत्पादक कम्पनी मोडर्न इन्कर्पोरेटेड एमआरएनएले सोमबार आफ्नो उत्पादन कोरोनाविरुद्ध ९४.५ प्रतिशत प्रभावशाली रहेको जिकिर गरेको थियो।

अहिले कोरोना भाइरसविरुद्धका सबैजसो खोप परीक्षणको अन्तिम चरणमा छन्। फाइजरले कोरोना भाइरसविरुद्धका खोप छिट्टै उपलब्ध हुने विश्वास व्यक्त गरेको छ।

फाइजर र मोडर्न इन्कर्पोरेटेड दुवै कम्पनीले यो खोप उत्पादनका लागि एकदमै नयाँ प्रविधि प्रयोग गरेका छन्।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित समाचार

  • ताजा समाचार
  • जनप्रिय