शिवगञ्जमा अब १५ वेडको अस्पताल
झापाको शिवसताक्षी नगरपालिका ६ को शिवगञ्ज प्राथमिक स्वास्थ्य केन्द्रको स्तरोन्नति हुने भएको छ ।
अब सो स्वास्थ्य केन्द्र १५ वेडको अस्पतालमा रुपान्तरण हुनेछ । सरकारले १८ करोड रुपैयाँ उपलब्ध गराउने भएसँगै स्वास्थ्य केन्द्रको स्तरोन्नति हुने पक्का भएको हो ।
बहुवर्षीय योजना अन्तरगत सरकारले पहिलो चरणमा तीन करोड २३ लाख रुपैयाँ निकास गरिसकेको छ । अब दुई किस्ता गरेर बाँकी रकम उपलब्ध हुनेछ ।
सो अनुदान रकम हो । एमबीबीएस चिकित्सकको दरबन्दी सहितको तीन वेडको उक्त स्वास्थ्य केन्द्र अब १५ वेडको हुनेछ ।
एकीकृत स्वास्थ्य पूर्वाधार विकास कार्यक्रम अन्तरगत स्तरोन्नति हुने सो केन्द्रमा थप जनशक्ति समेत उपलब्ध हुने जनाइएको छ ।
तीन वर्ष भित्र निर्माण सम्पन्न गर्ने गरी सरकारले बजेट निकासा सुरु गरेको वडाध्यक्ष मनोज खुलाल कार्कीले बताए ।
त्यस क्षेत्रका नागरिकलाई अत्यावश्यक स्वास्थ्य सेवा स्थानीय स्तरमा नै उपलब्ध गराउने योजना अन्तरगत स्वास्थ्य केन्द्रको स्तरोन्नति गरिने लागेको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ ।
वडाध्यक्ष कार्कीले बजेट निकासाका लागि सर्वपक्षीय सहयोग मिलेको भन्दै स्तरोन्नतिले स्थानीय तहमा नै स्वास्थ्य सेवाको आधार खडा भएको बताए ।