चार बर्षको छोराले रुदै फोन गर्छ म के गरु ?

कृष्ण मल्ल/बुटवल
प्रकाशित
२०७७ मंसिर १ गते ९:४८

बुटवल उपमहानगरकी २७ बर्षकी एक महिला १४ दिनदेखि आइसोलेसन सेन्टरमा छिन् ।

संक्रमण भएको चार दिन घरकै छुट्टै कोठामा बिताएकी थिइन । उनको चार बर्षको छोरा छ ।

संक्रमित भएपनि उनि खुल्न चाहदिनन् । यसको कारणबारे उनि भन्छिन्, समाजको डर छ कोरोना लागेपछि सबै टाढिन्छन, खुल्नु भन्दा नखुल्नु नै बेश ।

पहाड घर भएकी उनि बुटवलमा डेरामा बस्छिन् । उनको श्रीमान बैदेशिक रोजगारीमा छन् ।

कोरोना संक्रमण देखिएपछि उनले माइतिरको आमालाई छोरा जिम्मा लगाएर आइसोलेसनमा आएकी हुन् ।

कोरोना संक्रमण भएपछि तीन वटा कुराले चिन्तित बनाएको उनले बताइन ।

पहिलो दैनिक रुपमा छोराको रुवाई सुन्नुपर्दा, दोश्रो समाजबाट अपहेलित हुनुपर्दा र तेश्रो तिहार पर्व मनाउन नपाउँदा ।

सानो छोरा भएका कारण दैनिक रुपमा छोरासँग फोनमा कुराकानी गर्नुपर्ने उनको बाध्यता छ ।

दिनमा पटक पटक उनको मोबाइलमा घण्टी बज्छ, घण्टी बजेसँगै छोरोको रोएको आवाज आउँछ ।

उनि भन्छिन मोबाइलमा फोन आउँछ छोराले रुन्छ, कहिले छिटो घर आउ भन्छ, कहिले कहाँ छौं म आउँछु भन्छ, छोरालाई छाडेर आइसोलेसनमा बस्न साह्ै कष्ट भयो ।

कोरोनाले भन्दा छोरोको रुवाईले मन पोलेको उनि बताउँछिन् । छोरालाई कहिल्यै छाडेकी थिइन उनले भनिन्, अहिले छुट्टीएर बस्न मलाई पनि गाहे भयो, छोरालाई पनि गाहे भयो ।

सामान्य रुघाखोकी लाग्यो, नाकले गन्ध थाहा नपाएपछि शंका लागेर जाँच गर्दा कोरोना देखिएको उनले बताइन ।

अहिले भने आफुमा कुनै पनि खालको लक्षण र समस्या नभएको उनको भनाई छ ।

कोरोना संक्रमण देखिएपछि समाजले गरेको व्यवहारले भने उनि दुखि छिन् ।

संक्रमण भएपछि अपराध गरेजस्तो गरी व्यवहार हुँदो रैछ उनले भनिन्, डेराबाट आइसोलेसनमा निस्कने क्रममा मलाई हेर्न टोलका मान्छेहरुको भिड लागेको थियो, त्यो देख्दा लाग्थ्यो मैले ठूलै पाप गरिरहकी छु ।

कोरोनाले यस पटको तिहार पनि खोसिदिएको उनले बताइन । तिहार पर्व खुबै रमाईलो लाग्ने पर्व मान्थे तर यो पटक तिहार आइसोलेसनमै बित्ने भयो ।

आफ्ना दाजुभाई नभएको भएपनि छेमाका छोराहरुलाई बर्षौदेखि टिका लगाइदिन्थे उनले भनिन्, यो पटक टिका लगाइदिन पाइन दुःख लागेको छ ।

अब कहिले पिसिआर चेक गर्ने त ? भन्ने जिज्ञासामा उनले भनिन्, भोली (मंगलबार) चेक गर्छु, मलाई लाग्छ मेरो रिर्पोट नेगेटिभ आउँछ । भोली म घर फर्किन पाउनेछु ।

दुई हप्तासम्म मिस गरेको सानो छोराको साथमा पुग्नेछु । र प्रार्थना पनि गरिरहेको छु मेरो रिर्पोट नेगेटिभ आओस्, भोलीबाट छोराको रुवाई फोनमा सुन्न नपरोस् । मेरो प्रार्थना भगवानले सुन्नु हुनेछ ।

 

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित समाचार

  • ताजा समाचार
  • जनप्रिय