किन घुर्छ मान्छे?

आफसेआफ निस्कने एक प्रकारको आवाज, जो सुतेर निदाएको बेला सास लिँदा निस्कन्छ, त्यसलाई घुर्नु (स्नोरिङ) भनिन्छ।

सामान्यतयाः निदाएका बेला घुर्र्नु कुनै रोगको परिभाषाभित्र पर्दैन। किनकि, यस्तो बेला घुर्ने मान्छेलाई न अप्ठेरो महसुस हुन्छ, न दुखाइ, न खान नरुच्ने नै हुन्छ। उसले आफूबाट त्यसरी आवाज आएको छ भन्ने पनि पत्तो पाउँदैन। यसले सँगै सुत्ने वा नजिकै सुत्ने अर्को व्यक्तिलाई असरमात्रै पार्ने काम गर्छ।

घुर्नेबारे पश्चिमा राष्ट्रमा रोचक तथ्य छन्। सन् ७०–८० को दशकमा बेलायतमा लोग्ने–स्वास्नीबीच पारपाचुके निकै बढेर गयो। आफैंले रोजेर प्रेम विवाह गर्ने संस्कृति बोकेको मुलुकमा यसरी एकाएक घरबार टुक्रिने कारण खोज्न राज्यले उच्चस्तरीय समिति बनायो।

त्यसबाट पत्ता लाग्यो, ७५ प्रतिशत पारपाचुके हुनुको कारण त्यही घुराइ नै रहेछ। कारण थाहापाएपछि बेलायतीले घुर्नुलाई पनि स्वास्थ्य समस्याका रूपमा लिएर अनुसन्धान अघि बढाए।

पछिल्लो समय वैज्ञानिकहरूले घुराइ आफैंमा रोग नभए पनि रोगको संकेत हो भनेर भनेका छन्। बढी घुर्ने व्यक्तिमा कुनै न कुनै समस्या हुन्छ भनेर जान्दा हुन्छ भन्ने वैज्ञानिकहरूको तर्क छ। त्यसैले बढी घुर्ने व्यक्ति आफ्नो स्वास्थ्यमा बढी चनाखो हुन जरुरी छ।

घुर्नुका कारण के हुन्?

हाम्रो शरीरको एउटा महत्वपूर्ण प्रणालीमध्येको हो पाचन प्रणाली। त्यसको लागि मुखबाट नै अंग जोडिएर पेटसम्म पुगेको हुन्छ। त्यस्तै, अर्को महत्वपूर्ण प्रणाली श्वासप्रश्वास प्रणाली मानिन्छ।

त्यसको अंग पनि नाकबाट जोडिएर पेटसम्म पुगेको हुन्छ। यी दुई छुट्टाछुट्टै प्रणाली भए पनि यसका अंगको कतिपय भागले एउटै काम गरेको हुन्छ। त्यसलाई हामीले ‘एरो डाइजेस्टिक ट्र्याक’ भन्छौं।

अझ सजिलोसँग बुझौं, हामी मुखले पनि स्वास लिन्छौं र नाकले पनि। नाकबाट जाने श्वासनली र मुखबाट जाने अन्ननली रुद्रघण्टीमुनि पुगेपछि मात्रै आ–आफ्नो प्रक्रियाका लागि छुट्टिन्छन्। त्यसभन्दा माथिको भागमा एकैरूपमा आउँछ। त्यही भागलाई हामी ‘एरो डाइजेस्टिक ट्र्याक’ भन्छौं। श्वासप्रश्वास प्रक्रियामा जब त्यही (एरो डाइजेस्टिक ट्र्याक) भागमा अवरोध हुन्छ, मान्छे घुर्न थाल्छ।

मुखको ठ्याक्कै पछाडि भएको जिब्रोभन्दा माथि र तालुभन्दा तल घाँटीको भाग (मुखेघाँटी) भन्छौं। त्यस्तै, त्यसभन्दा मुनि रुद्रघण्टीभन्दा पछाडिको अर्को भाग जसलाई नाकेघाँटी भन्छौं। यी भागमा कुनै पनि कारणले समस्या आए मान्छे घुर्न थाल्छ।

कस्ता व्यक्ति बढी घुर्छन्?
– नाकमा समस्या भएका व्यक्ति।
– तालुको समस्या भएका व्यक्ति।
– लिगलिगे (मुखको भित्री भागमा झुन्डिएको सानो मासुको भाग) मा समस्या भएका व्यक्ति।

अन्य कारण?
– नाकभित्रको मासु सुन्निएको छ भने।
– नाकको डाँडी टेढो छ र श्वास फेर्न बाधा पुगेको छ भने।
– नाकमा मासु पलाएको (पालिक) छ भने।
– तालु (प्यालेट) सुन्निएको छ भने।
– लिगलिगे मोटो भएमा।
– मुखेघाँटीको भाग साँघुरियो भने।
– नाकेघाँटीको भाग साँघुरियो भने।

घुर्नुका अरू कारण पनि हुन्छन् कि?

मानिसलाई घुर्ने बनाउने एकप्रकारको रोग पनि हुन्छ। त्यसलाई हामीले ‘स्लिप अप्निया सिन्ड्रम’ वा ‘अक्सट्रप्टिभ अप्निया सिन्ड्रम’ भन्छौं। यो रोग लागेका व्यक्ति दिउँसा पनि बढी निदाउने, बोल्दाबोल्दै छिटो निदाउने र घुरिहाल्ने गर्छन्।

कतिपय कार्यक्रमका बेला मञ्चमा अतिथि बनेका व्यक्ति घुरेर निदाएको देखिन्छ। यता, कार्यक्रम चलिरहेको भए पनि उनीहरू निदाउँछन्। त्यो आनन्दले निदाएको वा बेवास्ताले निदाएको होइन, यही ‘अक्सट्रप्टिभ अप्निया सिन्ड्रम’ का कारण भएको हो। त्यस्ता व्यक्तिलाई निदाए पनि झक्झक्याउन पर्छ। नत्र, कहिलेकाहीँ अप्ठेरो पर्नसक्छ।

समाधानका उपाय

यसको उपचार भनेको माथि उल्लेखित समस्याको सर्जरी वा अप्रेसन गर्नु नै हो। त्यसबाहेक भरपर्दो उपचार छैन। यद्यपि, खानपिन, शारीरिक व्यायामले पनि कहिलेकाहीँ नियन्त्रण गरेको पाइन्छ किनभने बोसोले नली साँघुरो बनाउने काम गर्छ। त्यसैको अवरोधले मान्छे घुर्न थाल्छ।

कस्ता व्यक्तिलाई हुन्छ यो समस्या?

यस्तै व्यक्ति भन्ने हुँदैन। किनकि, सबैको अंग एकैनासको हँुदैन तर प्रायः लोग्नेमान्छेमा बढी देखिन्छ। मोटो व्यक्ति, शारीरिक व्यायाम नगर्ने व्यक्ति, मांसाहारी व्यक्ति, सूर्तिज्यन्य पदार्थ तथा मदिराजन्य पदार्थ सेवन गर्ने व्यक्तिमा यो समस्या बढेको पाइन्छ।

(हाडजोर्नी विशेषज्ञ डा. गोविन्द केसीको फेसबुकबाट साभार)

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित समाचार

  • ताजा समाचार
  • जनप्रिय