‘यो साल भाइटिका गर्न नपाएर के भो त!’

रेणु त्वानाबासु/काठमाडौं
प्रकाशित
२०७७ कार्तिक २९ गते १०:४३

बुटवलकी २५ वर्षीया हेमा पौडेलको यसपालि तिहार खल्लो हुनेछ। फेरि, तिहार खल्लो भन्दा ‘जुठो परेको’ वा ‘दाजुभाइ नै नभएको’ वा ‘विदेशमा होलान्’ भन्ने अर्थ लाग्न सक्छ।

उनी स्वदेशमै छिन् र उनको भाइ पनि स्वदेशमै छन्। तर, भाइटिका भने गर्न पाउँदिनन्। किनकि, उनी वर्षेनि आउने भाइटिका भन्दा पनि बढी जिम्मेवारीको काममा खटिरहेकी छिन्। अहिले काठमाडौं टेकु अस्पतालमा कोरोना संक्रमित आइसियुका बिरामीका सेवामा जुटेकी छिन्।

‘यो वर्ष एकचोटि भाइटिका गर्न नपाएर के भो त? अर्को वर्ष पनि आउँछ नि तिहार, त्यतिबेला धुमधामसँग मनाउँला, हेमा भन्छिन्, ‘यो वर्ष भिडियो कल गरेर भाइटिका मनाउने विचार छ। अस्ति दसैं पनि भिडियो कल गरेरै टिका थापेकी थिएँ।’

सबैलाई आफ्नो घर जान मन लाग्छ तर आफ्नो खुसीमात्र नभई अहिले संसारभर फैलिरहेको कोरोना माहामारीबाट बच्न र बचाउन जरुरी भएको उनी बताउँछिन्।

देशभरि अहिले तिहारको चहलपहल छ। त्यो चहलपहल देख्दा सबैजना खुसी छन् र सबैले मनाउन पाएका छन् जस्तो उनलाई लाग्छ।

मैले अहिलेसम्म भाइटिका छुटाएकी छैन तर यो वर्ष पहिलापल्ट भाइटिका गर्न नपाउने भएँ,’ हेमा भावुक हुँदै भन्छिन््, ‘भाइलाई सम्झाएको तर जसरी भए नि मिलाएर आउनू न दिदी भन्छ। आफूलाई नि जान मन छ। अनि भाइलाई भोलिपर्सी तिमीले काम गरेपछि थाहा हुन्छ नि भनेर टाल्ने गरेको छु। फेरि भाइ कहिलेकाहीँ रिसाएर तपाईंलाई मभन्दा बढी त्यही कामको माया लाग्छ है पनि भन्छ।’

‘भाइ सानो छ भनेकाले अचम्म नमान्नुहोला,’ हेमा हाँस्दै भन्छिन्, ‘हामी सात दिदीबहिनी छौं। सात दिदीबहिनीपछि जन्मेको हो। यसपालि एसईई दिएर बसेको छ। म साहिँली दिदी हो उसको, त्यही भएएर भाइ सानै लाग्छ। म ७ कक्षामा हुँदा भाइ जन्मिएको थियो।’

त्यति बेलासम्म फुपुहरू आएर बुबालाई भाइटिका गरेको हेरेर मन बुझाउने गरेको उनको अनुभव छ।

‘भाइ जन्मिएपछि त सबैजना असाध्यै खुसी भएका थियौं, त्यही भएर भाइटिका नगरेको कुनै साल छैन,’ उनले भनिन्, ‘यो वर्ष ममात्र भाइटिकामा छुट्ने भएँ, एकदम दुःख लागेको छ।’

नभएका बेला त भाइ नै छैन भनेर मन बुझाउने गरेकी थिइन् हेमाले। तर, अहिले भाइ भएर पनि घर जान नपाउँदाको पीडा उनको मनमा पहाड बनेर उभिएको छ। त्यही भएर कोठामा एक्लै भएका बेला रुनसमेत भ्याउँछिन्।

अहिले त आइसियुबाट क्वारेन्टिन, क्वारेन्टिनबाट आइसियुमात्र हुने भएकाले तिहार आएको जस्तो महसुस नै नभएको हेमाले बताइन्। तर, सामाजिक सञ्जाल फेसबुकतिर झिलिमिली देख्दा घरको धेरै याद आउने गरेको उनले सुनाइन्।

‘पहिला त तिहार आयो भनेर फूलमाला उन्ने, देउसीभेलो खेल्न जाने गथ्र्यौं। परिवारमा फेरि कोही खेल्न नजाने। बुबा अलि कडा स्वाभावको भएर सबै दिदीबहिनी जान डराउँथे। तर, म अलि अटेरी स्वभावकी थिएँ,’ उनी विगत सम्झिएर हाँस्दै भन्छिन्, ‘म त देउसीभैलो खेल्न चोकचोकमा एकदम खुसी हुँदै जान्थेँ। त्यतिबेला लुकिलुकी देउसीभैलो खेल्न जानुको मज्जा नै बेग्लै थियो। तर, अहिलेसम्म पनि थाहा छैन बुबालाई म देउसीभैलो खेल्न जान्थेँ भनेर।’

हेमाका अनुसार बुटवलमा कुकुर तिहारदेखि एकादशीसम्म देउसीभैलो खेल्ने परम्परा रहेको बताइन्। बुटवलमा फेरि घरघरमा गएर नभई चोकचोकमा देउसीभैलो खेल्ने चलन छ। सबै चोकमा घर भएकाले पैसा दिन ल्याउने र एउटै चोकमा नै २–३ हजार रुपैयाँसम्म जम्मा हुने गथ्र्यो। त्यतिबेला देउसीभैलो खेलेर पाएको पैसा गन्दाको मज्जा अहिले जागिर खाएर कमाएको पैसामा पनि छैन।

‘यी सबै बितेका कुरा भए। अब यिनलाई भन्दा कोरोना माहामारीलाई ध्यानमा राखेर चाडपर्व मनाउन अनुरोध गर्छु,’ हेमाले भनिन्, ‘यसपालि सकेसम्म देउसीभैलो नखेलौं। अहिले कोरोना कोसँग छ कोसँग छैन थाहा छैन। विश्व स्वास्थ्य संगठनले जारी गरेको मापदण्ड पालना गरेर पर्व मनाउनुहोला।’

कोरोना रोग आफ्नो परिवारका कोही सदस्यलाई लागेपछि वा आइसियुमा बस्नुपरेकाले पीडा बुझे पनि बाँकीले कोरोनालाई अझै हल्कारूपमा लिएको उनको भनाइ छ।
‘सबैजनाले कारोनालाई सामान्य ठान्नुभएन,’ हेमा भन्छिन्, ‘आफू पनि सुरक्षित रहांै र अरूलाई पनि सुरक्षित रहन आग्रह गरौं। चाडपर्व भनेको अर्को साल पनि आउँछ।’

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित समाचार

  • ताजा समाचार
  • जनप्रिय