यौन तथा प्रजनन स्वास्थ्यका समस्या अझै बाहिर आउँदैनन्

हेल्थपोस्ट नेपाल

नेपाली मिडियामा यौन तथा प्रजनन् स्वास्थ्य सम्वन्धी सामग्री कम प्राथमिकतामा पर्ने एक अध्ययनले देखाएको छ।

मिडिया एक्सन नेपालले गरेको १० वटा मिडियाको अध्ययनमा ० दशमलव ५८ प्रतिशतमात्र यस्ता समाचार प्राथमिकतामा परेका छन्। मिडिया एक्सनले राजधानीबाट प्रकाशित हुने तीन वटा मिडिया र प्रदेश प्रदेशबाट एक एक वटा मिडियाको अध्ययन गरेको हो।

साउन, भदौ र असोज महिनाका २५ देखि २९ गते प्रकाशित समाचार सामग्रीको अध्ययनमा नेपाल छापा सञ्चार माध्यमले यौन र प्रजनन् स्वास्थ्य अधिकारबारे कम सामग्री प्रकाशित गर्ने गरेको मिडिया एक्सन नेपालको अध्ययनले देखाएको हो।

सो अवधिमा मिडिया एक्सनले ४ हजार ७ सय ९८ वटा समाचारको अध्ययन गरेको छ। जसमा २८ वटा मात्र समाचार यौन र प्रजनन् स्वास्थ्य अधिकार बारे रहेको छन्।
मिडिया एक्सन नेपालका अध्यक्ष लक्ष्मण दत्त पन्तका अनुसार काठमाण्डौँबाट कान्तिपुर, गोरखापत्र र नयाँ पत्रिकाको अध्ययन गरिएको हो।

अध्ययनमा सरकारी सञ्चार माध्यम गोरखापत्र दैनीकमा न्यून मात्रामा यौन तथा प्रजनन् स्वास्थ्य सम्वन्धी सामग्री प्रकाशन भएका छन्। साउन, भदौ र असोज महिनाका २५ देखि २९ गते प्रकाशित सामग्रीमा गोरखापत्ररले ० दशमलव १९ प्रतिशत मात्र यौन तथा प्रजनन् स्वास्थ्य सम्बन्धी समाचार सामग्री प्रकाशन गरेको छ। सो अवधिमा गोरखापत्र दैनिकको १ हजार ४९ वटा समाचार तथा सामग्री अध्ययन गर्दा जम्मा २ वटा मात्र समाचार प्रकाशन भएका छन्।

त्यस्तै, कान्तिपुर दैनीकले ० दशमलव ५१, नयाँ पत्रिकाले ० दशमलव ९१ प्रतिशत मात्र यौन स्वास्थ्य सम्बन्धी समाचार प्रकाशन भएको अध्यक्ष पन्तले बताए। सो अवधिमा कान्तिपुर दैनिकका ५ सय ८७ र नयाँ पत्रिकाका ३ सय ३१ वटा समाचार सामग्री प्रकाशन हुँदा समान ३ वटा समाचार यौन तथा स्वास्थ्य सम्बन्धी रहेका छन् ।

कर्णाली प्रदेशको युव आह्वान दैनिकले सबैभन्दा धेरै यौन तथा प्रजनन् स्वास्थ्य सम्बन्धी समाचार प्रकाशित गरेको छ । उसले १ दशमलव ५२ प्रतिशत समाचार प्रकाशन गरेको उल्लेख गरिएको छ । बाग्मती प्रदेशको थाहा सन्देशले कुनै पनि यस्ता समाचार प्रकाशन गरेको छैन । १ सय २५ वटा समाग्री अध्ययन गर्दा कुनै पनि समाग्री प्रकाशन नभएको पन्तले बताए।

यसको २ सय ६२ समाचार मध्ये ३ वटा समाचार यौन तथा प्रजनन् सम्बन्धित छन् । प्रदेश २ बाट प्रकाशित हुने जनकपुर टुडे दैनिक ० दशमलव ७४, लुम्बिनी प्रदेशको दैनिकपत्रले ० दशमलव १३, प्रदेश १ बाट प्रकाशित हुने ब्लाष्ट दैनीकले १ दशमलव २५ प्रतिशत, सुदुर पश्चिमको पश्चिम टुडे दैनिकले ० दशमलव ९९ प्रतिशत यौन तथा स्वास्थ्य सम्बन्धी समाचार प्रकाशन गरेको छ।

जीवनको अत्यन्तै महत्वपुर्ण स्वास्थ्य अधिकार, जनस्वास्थ्य माथिको पहुँच र अधिकारको प्रयोग गर्ने विधि जस्ता विषय नेपाली मिडियाको प्राथमिकतामा पर्ने पन्तले बताए ।

‘नेपाली मिडियाको मुलः प्रवृति राजनीतिक विषय केन्द्रित भएका छन्,’ पन्तले भने, ‘अझै यौन र प्रजनन स्वास्थ्यलाई नेपाली मिडियाले खासै चासो समेत राख्ने गरेको पाइदैन।’ जनस्वास्थ्य अधिकारको महत्वपुर्ण सवाल यौन तथा प्रजनन् स्वास्थ्यलाई प्राथमिकता दिएर अध्ययन गरिएको छ ।



Leave a Reply

Your email address will not be published. Required fields are marked *