मुख्यमन्त्रीको गृहजिल्ला लमजुङमा पनि अब जिल्ला अस्पताल

गैरसरकारी संस्थाको व्यवस्थापनमा चल्दै आएको लमजुङको बेंसीसहरस्थित सामुदायिक अस्पताल गण्डकी प्रदेश सरकार मातहत आएको छ।

उक्त अस्पताललाई जिल्ला अस्पताल बनाउन गण्डकी प्रदेश सरकार र अस्पताल व्यवस्थापन गर्दै आएको मानव विकास तथा सामुदायिक सेवा संस्था (एचडिसिएस) बीच बिहीबार समझदारी भएको छ।

प्रदेशको सामाजिक विकास मन्त्रालयका वरिष्ठ जनस्वास्थ्य अधिकृत शम्भु ज्ञवाली र अस्पतालका कार्यकारी निर्देशक कपिल शर्माले बिहीबार समझादारीपत्रमा हस्ताक्षर गरेका छन्।

उक्त अस्पताल २०५८ सालदेखि एचडिसिएसले व्यवस्थापन गर्दै आएको छ। प्रदेश सरकार मातहत आएपछि अब गण्डकीको अस्पताल सञ्चालक समिति गठन आदेश अनुसार अध्यक्ष तोकिनेछ। तर आन्तरिक व्यवस्थापन भने एचडिसिएसले नै गर्ने गरी प्रदेश सरकारसँग समझादारी भएको हो।

मुख्यमन्त्री तथा मन्त्रिपरिषदको कार्यालयमा आयोजित कार्यक्रममा मुख्यमन्त्री पृथ्वीसुब्बा गुरुङले लमजुङ अस्पतालका लागि आवश्यक सहयोग प्रदेश सरकारले गर्ने प्रतिबद्धता जनाए। लमजुङ मुख्यमन्त्रीको गृहजिल्ला हो।

२०५८ मा १५ बेडको रहेको उक्त अस्पताल अहिले ६० बेडको छ। यी २ दशकमा एचडिसिएसले सरकारी र बाह्य अनुदान सहयोग जुटाएर अस्पतालमा झन्डै २ अर्ब लगानी गरिसकेको जानकारी उक्त संस्थाका संस्थापक कार्यकारी निर्देशक डा. तीर्थ थापाले दिए। उपकरण, भवन लगायतमा गरी त्यतिका लगानी भएको हो।

उनका अनुसार व्यवस्थापन एचडिसिएसले गर्दै आए पनि नेपाल सरकारले वार्षिक २०÷३० लाख रुपैयाँ अनुदान भने दिँदै आएको थियो। लक्षित वर्गको निशुल्क औषधोपचार र निशुल्क औषधीका लागि पनि सरकारले सघाउँथ्यो। तर सरकारले दिएको औषधीको परिमाणले नपुग्दा एचडिसिएसले आफै किनेर पनि बिरामीलाई दिँदै आएको थियो। अस्पतालले वार्षिक १२ करोड रुपैयाँ कारोबार गर्छ ।

‘मुलुक संघीयतामा गएपछि संघ सरकारले अनुदान दिन छोड्यो,’ डा. थापाले सुनाए, प्रदेशको स्वामित्वमा पनि नभएकाले प्रदेशबाट पनि आएन ।’ अब भने सरकारी अनुदान लगायत सरसहयोगको जिम्मेवारी प्रदेश सरकारले लिएको उनले जनाए।

संघ सरकारले लमजुङ सामुदायिक अस्पताल प्रदेश सरकार मातहत हुने निर्णय गत असार २९ गते गरेको थियो। त्यसकै आधारमा अस्पताल र प्रदेश सरकारले बिहीबार समझदारीपत्रमा हस्ताक्षर गरेका हुन्। समझदारी अनुसार अस्पतालको स्वामित्व प्रदेशको भए पनि ५ वर्षसम्म आन्तरिक व्यवस्थापनको जिम्मेवारी भने एचडिसिएसले पाउनेछ।

११ जिल्ला रहेको गण्डकी प्रदेशको राजधानी पोखरामा क्षेत्रीय अस्पताल, बागलुङमा अञ्चल छ। लमजुङबाहेक अरु ८ जिल्लामा जिल्ला अस्पताल छन्। यसअघि गत वर्ष चैतमा प्रदेश सरकारले नवलपुरको मध्यविन्दु सामुदायिक अस्पताललाई जिल्ला अस्पताल बनाएको थियो।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित समाचार

  • ताजा समाचार
  • जनप्रिय