बुटवलको कोरोना अस्पतालका सात जना मेडिकल अफिसरले दिए राजिनामा

बुटवलको कोरोना विशेष अस्थायी अस्पतालमा कार्यरत मेडिकल अफिसरहरुले जोखिम भत्ता नपाएको भन्दै राजीनामा दिएका छन्।उनीहरुले जोखिम मोलेर काम गरेपनि तीन महिनादेखि भत्ता नपाउँदा राजीनामा दिएको बताए।

लुम्बिनी प्रदेश सरकारको लापरवाहीका कारण उनीहरुले भत्ता पाउन नसकेको गुनासो गरे।

अस्पतालले नौ जना मेडिकल अफिसरलाई करारमा राखेको भएपनि दुई जनाले यसअघि नै अस्पतालप्रति असन्तुष्टी जनाउँदै काम छाडिसकेका थिए। उनीहरु लुम्बिनी प्रदेश सरकारको बजेट व्यवस्थापनमा राखिएका करारका मेडिकल अफिसरहरु हुन्।

प्रदेश सरकारले समयमा बजेट नपठाएका कारण जोखिम भत्ता दिन नसकिएको लुम्बिनी प्रादेशिक अस्पताल प्रशासनको भनाई छ। दसैं अघि पनि तीन महिनासम्म मासिक पारिश्रमिक र जोखिम भत्ता नपाउँदा नौ जना स्वास्थ्यकर्मीले सामूहिक राजीनामा दिएका थिए।

सरकारले कोरोना महामारीमा खटिने स्वास्थ्यकर्मीलाई जोखिम भत्ताको व्यवस्था गरेको छ। तर, बुटवलस्थित कोरोना विशेष अस्थायी अस्पतालमा कार्यरत मेडिकल अफिसरहरुले तीन महिनादेखि जोखिम भत्ता पाएका छैनन्।अस्पताल प्रशासनलाई पटक-पटक जानकारी गराउँदासमेत सुनुवाई नभएपछि जागिर छोड्न बाध्य भएको उनीहरुको भनाई छ।

मेडिकल अफिसरहरुले राजीनामा दिएपछि बुटवल कोरोना विशेष अस्थायी अस्पतालको उपचार सेवा प्रभावित हुने देखिएको छ। अस्पतालमा ५ वटा भेन्टिलेटर, १६ वटा मोनिटर, १६ वटा आइसियु र ३६ वटा साधारण बेड रहेका छन्।

राजीनामा दिएपछि उनीहरुको मागको विषयमा लुम्बिनी प्रदेशका सामाजिक विकास मन्त्री सुदर्शन बरालसँग पनि छलफल भएको थियो। छलफलमा मन्त्री बरालले तिहारपछि जोखिम भत्ता उपलब्ध गराउने प्रतिबद्धता जनाएका बुझिएको छ। चिकित्सकहरुले काममा फर्कन सहमति जनाएको मन्त्रालयले भनेपनि उनीहरु अहिलेसम्म काममा फर्केका छैनन्।

लुम्बिनी प्रादेशिक अस्पताल बुटवलका सूचना अधिकारी डा.विष्णु गौतमले चिकित्सकहरुले काम छोडेको पुष्टि गर्दै अस्पतालको सेवा प्रभावित हुन नदिनका लागि वैकल्पिक व्यवस्था गर्ने जनाएका छन्।

‘राजीनामा  दिनुभएको छ’, उनले भने, ‘मन्त्रालयले उहाँहरुलाई जोखिम भत्ता दिने पत्र दिइसकेको हुँदा काममा फर्किनुहुन्छ होला।’

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित समाचार

  • ताजा समाचार
  • जनप्रिय