उपचार गर्दागर्दै काेराेनाले श्रीमती लग्यो, किरिया बसेका श्रीमान पनि
भोलिपल्ट दसैं थियो। टीका लगाउने/नलगाउने अन्योल उस्तै। परिवारकै सदस्य अस्पतालमा छटपटिएकाबेला खुसी साट्न कसलाई पो मन लाग्थ्यो!
अरु रोगले भएको भए अस्पतालमै गएर पनि टीका लगाउन मिल्थ्यो। तर कोरोनाले आफ्नैलाई पनि टाढा बनायो। ७६ वर्षे आमा स्याहार्न अस्पताल बसेकी कान्छी छोरीले आँखैअघि आमाको मृत्यु देखिन्।
‘भाउजू हस्पिटलमा हुनुहुन्थ्यो। दसैंको टीका अरु कारणले रोकिएको थिएन। टीका लगाउने/नलगाउने अन्योल थियो,’ मृतक वृद्धाका देवरले भने, ‘अघिल्लो दिन भाउजू बित्नुभो।’
बुढ्यौलीमा श्रीमान–श्रीमती दुवैलाई मुटुरोगको समस्या देखियो। औषधि खान थालेको सात वर्ष भइसकेको थियो। दुवैलाई डर त्यतिबेला लाग्यो जतिबेला कोरोनाबाट दीर्घरोगीलाई खतरा हुन्छ भन्ने थाहा भयो।
पोखरा रामबजार बस्ने उनीहरू लकडाउनपछि घर बाहिर कमै निस्कन थाले। बिहान ओमशान्तिमा प्रवचन सुन्न जान्थे। वडामा रहेका विभिन्न संघसंस्थामा दुवै सक्रिय थिए। कोरोना संक्रमण हुने डरले सचेत थिए। मुखमा मास्क टुट्थेन अनि हातमा स्यानिटाइजर।
सायद मनमा डर थियो – बुढो शरीर कोरोना लागे हार्छ कि ! संक्रमितको संख्या डढेलोजसरी फैलन थाल्यो। छरछिमेकसम्म आइपुग्यो। गर्दागर्दै घरमा कोरोना छिरिहाल्यो। तर हप्ता दिनसम्म थाहै भएन। कात्तिकको पहिलो दिन वृद्धालाई ज्वरो आउने, सुक्खा खोकी लाग्ने भयो।
मौसम नै रुघाखोकीको थियो, कोरोना नै हो भन्ने भएन। दुई दिनपछि फिस्टेल अस्पताल लगियो। त्यहाँ तीन दिन राखियो। निमोनिया देखिएपछि ८ कात्तिकमा फिस्टेलले चरक मेमोरियल अस्पताल रेफर गरेको थियो। त्यही दिन कोरोना पोजेटिभ आयो।
अवस्था गम्भीर बन्दै गयो। दसैंको अघिल्लो दिन ९ कात्तिकमा उनी कोरोनासँग हारिन्। दसैं दशामा बदलियो। ८२ वर्षका श्रीमान र पाँच सन्तानलाई छोडेर उनी चिरनिद्रामा गइन्। कान्छी छोरी र दुई छोराले कपाल फालेर किरिया थाले।
तीन दिनपछि परीक्षण गराउँदा श्रीमानलाई पनि पोजेटिभ देखियो। कोरोना पोजेटिभ आउँदा उनी श्रीमतीको काजकिरियामा थिए। शरीर शिथिल भएको थियो। श्रीमतिको कन्ट्याकमा आएपछि स्वाब दिए। रोगसँग जुधिरहेको बुढो शरीरलाई कोरोनाले खाइसकेको रहेछ। घरमा बस्दाबस्दै उनले पनि सास छोडे।
‘दाइभाउजू दुवैलाई मुटुको समस्या थियो। भाउजू बिरामी भएपछि अस्पताल लगेको। निमोनिया देखियो,’ मृतक वृद्धका ६३ वर्षे भाइले भने, ‘दाइ घरमै बस्दाबस्दै १४ गते जानुभयो। भाउजूलाई कहाँबाट लाग्यो थाहै भएन।’
३८ वर्षकी कान्छी छोरी र दुई छोराले आमाबुबाको काजकिरिया मंगलबार सकेका छन्। उनीहरूले बुबाको किरिया १२ औं दिनमा मंगलबार सकेका हुन्। आमाको चार दिन पहिल्यै अम्किसकेका थिए। आमाबुवा बित्दा जापान रहेका दुई दिदी आउन सकेनन्।
मृत्यु भएका वृद्ध फोटो स्टुडियो चलाउँथे। २०३६ सालतिर वडा सदस्य पनि भएका थिए। पोखरा १५ बस्ने भए पनि उनीहरूले पोखरा ४ स्थित बुढानीलकण्ड मन्दिरमा किरिया बसे।
पाँच दिन अस्पताल बस्दा भाउजूको उपचारमा तीन लाख रुपैयाँ खर्च लागेको मृतकका देवरले सुनाए।
‘चानचुन तीन लाख खर्च भयो। तर निजी अस्पतालको उपचार सबैले धान्न सक्दैनन् नि,’ मृतकका भाइले भने। कोरोनालाई खेलाँची नठान्न उनले आग्रह गरे। ‘यो खतरनाक हुँदो रहेछ। ध्यान दिनुपर्छ,’ उनले भने, ‘बेलाबेलामा नियमित औषधि खानुपर्यो। बाफ लिने गर्नुपर्यो। यत्तिकै हिँड्नु भएन।’
कुनैदिन कोरोना महामारी पक्कै अन्त्य हुनेछ। समयसँगै यसको चर्चा कम हुनेछ। तर यो परिवारलाई हरेक दसैंमा कोरोना भाइरसले विगत सम्झाइ रहने छ। हरेक वर्ष पाँच सन्तानले यो वर्षको दसैं सम्झने छन्।