चाहिने बेला बजारमा छैन वैद्यखानाको च्यवनप्रास

हेल्थपाेस्ट/काठमाडौं
प्रकाशित
२०७७ कार्तिक २६ गते १०:४९

कोरोना भाइरस महामारी रोकथामका उपाय तथा व्यवस्थापनका लागि आयुर्वेद तथा वैकल्पिक चिकित्सासम्बन्धी निर्देशिकामा भनिएको छ, ‘च्यवनप्रास एक ठूलो चम्चा (१० ग्राम) बिहान खाली पेटमा सेवन गर्ने।’

तर, नेपालमा एकमात्र आयुर्वेद औषधी उत्पादन गर्ने सरकारी निकाय ‘सिंहदरबार वैद्यखाना’ ले अझै बजारमा उत्पादित च्यवनप्रास पु-याउन सकेको छैन।

सिंहदरबार वैद्यखाना विकास समितिका प्रबन्ध निर्देशक डा. वंशदीपशर्मा खरेलले च्यावनप्रासका लागि आवश्यक कच्चापदार्थ अझै तयार भइनसकेको बताए।

‘छिप्पिएको, आलो (ताजा) अमलाबाट च्यवनप्रास उत्पादन हुन्छ। हामी छिप्पिएको अमलाबाट मात्र च्यवनप्रास उत्पादन गर्छौं। अमला सिजनल उत्पादन हो। कच्चापदार्थ प्राप्ति भएपछि मंसिर दोस्रो साताबाट उत्पादन सुरु हुन्छ,’ खरेलले आयोमेलसँग भने, ‘दसैं अघिसम्म वैद्यखानाले उत्पादन गरेका च्यावनप्रास बजारमा प्रशस्त पाइन्थ्यो।’

प्रबन्ध निर्देशक खरेलका अनुसार वार्षिक १५ हजार किलो च्यवनप्रास उत्पादन हुने गरेको छ। यो वर्ष कोरोना भाइरस महामारीका कारण पनि च्यावनप्रासको माग पहिलेको दाँजोमा बढेको छ। उत्पादन भएका च्यवनप्रास सबै खपत हुने गरेको छ।

वैद्यखानाको च्यवनप्रास, शीलाजित र तुलसी चिया उपभोक्तामाझ निकै लोकप्रिय छन्।

शासक र भाइभारदारको उपचार गराउने उद्देश्यले मल्लवंशी राजा प्रताप मल्लको समयमा आयुर्वेदिक औषधी उत्पादन गर्ने उद्धेश्यले स्थापना गरिएको थियो

सिंहदरबार वैद्यखाना  ३ सय वर्षको इतिहास बोकेको यसको नाम सुरुमा वैद्यखाना थियो। लामो समयपछि मात्र यसको नाम सिंहदरबार वैद्यखाना राखिएको थियो।

ऐतिहासिक आयुर्वेद औषधी कम्पनीले अहिले मागअनुसार औषधी भने पु¥याउन सकेको छैन। त्यसमाथि अहिले कोरोना महामारीका बेला आर्युेवेद औषधीको माग धान्नै गाह्रो छ।

सिंहदरबार वैद्यखाना विकास समितिका अध्यक्ष डा. बाबुराजा अमात्यका अनुसार हाल बजारमा च्यवनप्रास र शीलाजितको माग बढेको छ।

‘कच्चापदार्थ अझै तयार भएको छैन। तयार हुनासाथ बजारमा बिक्री गर्छौं। च्यवनप्रासको माग बढेको यथार्थ हो,’ उनले भने, ‘बजारको मागअनुसार वैद्यखानाले आयुर्वेदिक जडीबुटीको चूर्ण उत्पादन गरे पनि बजारमा आपूर्ति हुन सकिरहेको छैन। अन्यत्रभन्दा वैद्यखानामा औषधी सस्तो पर्ने भएकाले माग बढेको हुनसक्छ।’

उनले औषधी निर्माणको क्षमता वृद्धि गर्ने तयारी भइरहेको बताए। विश्व स्वास्थ्य संगठनको जिएमपी मापदण्डमा रहेर औषधी निर्माण गर्ने र वैद्यखानालाई प्रदेश संरचनामा लैजाने तयारी भइरहेको उनको भनाइ छ। वैद्यखानाले उत्पादन गरेका औषधी विदेशमा समेत निर्यात गर्ने तयारी भइरहेको उनले जानकारी दिए।

कुनै समय आयुर्वेदिक औषधी उत्पादनमा निकै परिचित थियो वैद्यखाना। तत्कालीन राजा त्रिभुवन शाहले सर्वसाधारणको पहुँचमा ल्याएको सिंहदरबार वैद्यखाना २०५१ सालदेखि विकास समितिमार्फत् सञ्चालन हुँदै आएको छ। आयुर्वेदिक उपचारमा एकछत्र राज गर्न सफल र निकै परिचित वैद्यखानाको व्यवस्थापन पक्ष २०६९ सम्म सबल नै थियो।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित समाचार

  • ताजा समाचार
  • जनप्रिय