भक्तपुरमा पिसिआर परीक्षण : कतै बन्द, कतै सञ्चालनमा

भक्तपुर जिल्लामा चारवटा नगरपालिका छन्। मध्यपुर थिमि, सूर्यविनायक, भक्तपुर र चाँगुनारायण।

सबै नगरपालिकामा निःशुल्क पिसिआर परीक्षण हुँदै आएको थियो। तर, पछिल्लो समय नेपाल सरकारले पिसिआर परीक्षणको शुल्क तोकेपछि केही नगरपालिकाले परीक्षण गर्न बन्द गरेका छन् भने केही नगरपालिकाले सञ्चालन गर्दै आएका छन्।

सूर्यविनायक र चाँगुनारायणले कन्ट्याक्ट ट्रेसिङमा परेका व्यक्तिहरुको हालखबर मात्र बुझ्ने तर स्वाब लिन बन्द गरेका छन्।

सूर्यविनायक नगरपालिका स्वास्थ्य शाखाका इन्चार्ज बसन्त चापागाईंले नेपाल सरकारले शुल्क तोकेपछि स्वाब संकलन र पिसिआर परीक्षण बन्द गरेको बताए।

अहिले कोरोना पोजेटिभ भएका व्यक्तिहरुको डाटा संकलन गर्ने र उनीहरुको हालखबर बुझ्ने काम मात्रै भइरहेको उनले बताए। चापागाईंले पिसिआर परीक्षणलाई कसरी निःशुल्क गर्न सकिन्छ भन्ने विषयमा छलफल भइरहेको बताए।

चाँगुनारायण नगरपालिकाले पनि कन्ट्याक्ट ट्रेसिङमा आएका व्यक्तिहरुको स्वाब संकलन बन्द गरेको नगरपालिकाका सूचना प्रविधि अधिकृत सिद्धान्त न्यौपानेले बताए। नेपाल सरकारले शुल्क लिने निर्णय गरेपछि परीक्षण बन्द गरिएको जानकारी उनले दिए।

भक्तपुर अस्पतालमा पिसिआर संचालन भएसँगै समन्वय गरेर अस्पतालमा नै पिसिआर परीक्षणका लागि पठाइने न्यौपानेले बताए।

यता, शुल्क तोकिए पनि भक्तपुर नगरपालिकामा भने नेपाल सरकारको मापदण्डमा पर्ने व्यक्तिहरुकाे स्वाब संकलन हुँदै आएको भक्तपुर जनस्वास्थ्य सेवा केन्द्रका इन्चार्ज रत्नसुन्दर लासिवाले बताए। ‘अहिले पनि निरन्तर स्वाब कलेक्सन भइरहको छ’, उनले भने, ‘पिसिआर परीक्षण नेपाल सरकारले निःशुल्क नै गर्नुपर्छ।’

अहिले विकासनिर्माणका लागि छुट्याएको बजेट पनि स्वास्थ्य क्षेत्रमा प्रयोग गर्नुपर्नेमा लासिवाले जोड दिए। ‘मान्छे नै नरहे विकास निर्माणका कामहरु गरेर के काम होइन् र?’, उनले प्रश्न गर्दै भने, ‘अहिलेको अवस्थामा जनतालाई स्वस्थ बनाइराख्नु पहिलो प्राथमिकता हो। जनता नै अस्वस्थ भए विकास निर्माण गरेर कसले प्रयोग गर्ने?’

त्यस्तै मध्यपुर थिमि नगरपालिकाका स्वास्थ्य शाखा इन्चार्ज ऋषीराम कँडेल निःशुल्क पिसिआर परीक्षण भइरहेको बताउँछन्। कँडेल भन्छन्, ‘अहिले नेपाल सरकारले नै लक्षण भएमा मात्र टेष्ट गराउनु भनेपछि कन्ट्याक्ट ट्रेसिङमा आएका व्यक्तिहरुले पनि लक्षण नदेखिँदा परीक्षण नगराएको अवस्था छ। शुल्क तोकेपछि पहिलाको भन्दा अहिले परीक्षणहरु कम भएका छन्।’

उनले निजी अस्पतालमा कोरोनाको उपचार गराउने बिरामीको एकसातामा करिब तीनदेखि चार लाख खर्च भइरहेको जानकारी दिँदै सरकारले परीक्षण र उपचारलाई निःशुल्क बनाउनु पर्नेमा जोड दिए।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित समाचार

  • ताजा समाचार
  • जनप्रिय