कोरोना संक्रमितको शव व्यवस्थापन अब परिवारले गर्न पाउने

कोरोना संक्रमणपछि ज्यान गुमाएकाको शव व्यवस्थापन आफन्तले गर्न पाउने भएका छन्। जिल्ला स्वास्थ्य कार्यालय चितवनका अनुसार कोरोना भाइरस संक्रमित भई घरमै रहेका व्यक्तिको मृत्यु भएमा आफन्तले शव व्यवस्थापन गर्न पाउने भएका हुन्।

कोभिड–१९का कारण मृत्यु भएका व्यक्तिहरुको शव व्यवस्थापन सम्बन्धी पछिल्लो कार्यविधिले यस्तो व्यवस्था गरेको हो। तर, घरकै आइसोलेशननमा मृत्यु भएमा स्थानीय प्रतिनिधि र प्रहरीलाई खबर गर्नुपर्ने स्वास्थ्य कार्यालयका प्रमुख दिपक तिवारीले जानकारी दिए।

संक्रमितको शव व्यवस्थापनको तरिका थाहा नहुँदा उनीहरू त्रसिद बन्ने गरेका छन्। उनीहरूलाई सचेतना दिन स्थानीय सरकारले समन्वय गर्नुपर्ने देखिन्छ।

व्यक्तिगत सुरक्षाका सामग्री लगाएर शवलाई र्‍याप गरी बडी ब्यागमा राख्ने काम सम्बन्धित आफन्तले नै गर्नुपर्ने उनले बताए।

भौतिक दूरी कायम गरेर मलामीसमेत जान मिल्ने उनको भनाई छ।

‘परिवारको सदस्यले माक्स, ग्लोबस र गाउनलगायतका सुरक्षा साम्रगी लगाएर शवको व्यवस्थापन गर्न सक्नुहुन्छ,’ उनले भने, ‘तर शवलाई घर परिवार वा अरुले बोक्न पाइदैन। आइसोलेशनमा राखेको स्थानबाट शव बोक्ने गाडीसम्म शव पनि आफन्तले नै लैजानु पर्छ। शव बहान नभएको स्थानमा शव बोक्न प्रयोग हुने खट बोक्ने व्यक्तिले मृत शरीर नछुने गरी बनाउनु पर्छ र उनीहरूले सुरक्षा सामग्रीको प्रयोग गर्नु पर्छ।’

अहिले सरकारको निती अनुसार घरमै आइसोलेसनमा मृत्यु भएमा शव जलाउन नेपाली सेना नजाने उनले बताए। मृत्यु भएका व्यक्तिबाट कोरोना भाइरस सर्ने सम्भावना कम हुने उनको भनाई छ।

‘शवलाई राम्रोसँग र्‍याप गरी प्याक गरेमा अरुमा सर्ने सम्भावना न्यून हुन्छु, उनले भने, ‘वैज्ञानिकहरूले पनि मृत्यु भएका व्यक्तिबाट भाइरस अरु व्यक्तिमा नसर्ने पुष्टि गरेका छन्।’ तर, मृत्यु हुनुभन्दा पहिले नै शरीर बाहिर रहने भाइरस सर्न सक्ने भएकाले सावधानी अपनाउनुपर्ने उनले बताए।

आफन्तहरू पनि भौतिक दूरी कायम गरि दाहासंस्कारमा सहभागि हुन सक्ने उनले बताए। ६० डिग्री तापक्रममा भाइरस मर्ने गर्दछ।

अहिलेसम्म चितवनमा ५ जना संक्रमितको होम आइसोलेसनमा मृत्यु भएको छ। सबैको नेपाली सेनाले नै शव व्यवस्थापन गरेको छ। अहिलेसम्म भरतपुरमा रहेको नेपाली सेनाको कालीबहादुर गणले १ सय १७ जनाको शव निःशुल्क व्यवस्थापन गरेको छ।

तर, शव बहानको व्यवस्था मृतकका आफन्तले नै गर्नुपर्ने छ। तीन जनाको शव र्‍यापिङ गरि परिवारलाई बुझाइएको, ४ जनाको शव र्‍यापिङ गरेर बाहिरी जिल्लामा रहेका सम्बन्धित परिवारले लगेको तथ्यांक छ।

शव व्यवस्थापनमा मात्रै ७ सय पिपिई प्रयोग

चितवनमा शव व्यवस्थापनका लागि सात सय पिपिई प्रयोग भएको छ। तिवारीका अनुसार नेपाली सेनाले शव व्यवस्थापनमा सो पिपिई प्रयोग भएको हो। जिल्लामा कोरोना संक्रमित मृत्युहुने क्रम बढेकाले पिपिईको बढि खपत भएको उनले जानकारी दिए।

‘सय जना जतिको मृत्यु होला भन्ने आँकलन गरेका थियौं। त्यसै अनुसार पिपिई खरिद गर्‍याे, उनले भने,  ‘चितवनमा मृत्युदर बढ्दा पिपिईको समेत सटेज हुँदै गएको छ।’

सुरुआती चरणमा मृतकका आफन्तलाई पनि स्वास्थ्य कार्यालयले पिपिई उपलब्ध गराउँदै आएको थियो। तर, सिमित पिपिईको कारण उपलब्ध गराउन नसकिएको उनले जानकारी दिए।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित समाचार

  • ताजा समाचार
  • जनप्रिय