तिलोत्तमाका १२ सामुदायिक विद्यालयमा स्टाफ नर्स

कृष्ण मल्ल/बुटवल
प्रकाशित
२०७७ कार्तिक २५ गते ८:२२

तिलोत्तमा नगरपालिकाले सामुदायिक विद्यालयमा विद्यालय नर्सिङ्ग सेवा कार्यक्रम सुरु गरेको छ । ‘एक विद्यालय ः एक नर्स’ कार्यक्रमलाई तिलोत्तमा नगरपालिकाले १२ जना स्टाफ नर्स नियुक्त गरेर अघि बढाएको हो ।

विद्यालयमा बालबालिकाको उपस्थिति नियमित गराउन र उनीहरूको नियमित स्वास्थ्य जाँचका लागि सुरु गरिएको कार्यक्रमअनुसार तिलोत्तमामा पहिलो चरणमा १२ सामुदायिक विद्यालय छनौट भएका छन् ।

विद्यार्थीको स्वास्थ्य, सरसफाई र पोषणमा प्रवद्र्धन गर्दै मानसिक स्वास्थ्य र किशोर–किशोरीको यौन तथा प्रजनन स्वास्थ्य अवस्थामा सुधार ल्याउन विद्यालय नर्सिङ्ग सेवा कार्यक्रमको शुरुवाद गरिएको नगरपालिकाका शिक्षा शाखा प्रमुख गंगाराम आचार्यले बताए ।

कार्यक्रमअनुसार विद्यालयमा खटाइएका नर्सहरुले विद्यालयमा स्वास्थ्य सम्बन्धी प्रवद्र्धनात्मक सेवा, पोषण सम्बन्धी सेवा, प्रतिकारात्मक सेवा, परामर्श सेवा, स्वास्थ्य परीक्षण तथा परामर्श सेवा प्रदान गर्नेछन् ।

तिलोत्तमा नगरपालिकामा नर्स पाउने विद्यालयहरुमा शान्ति नमूना मावि, पशुपति मावि, शिवपुर मावि, जनभावना मावि, टिकुलिगढ मावि, जनहित मावि, गौतमबुद्ध मावि, जनता मावि, जनज्योती मावि, शंकरनगर दुर्गादत्त मावि, जनजागृति मावि र बरौलिया मावि रहेका छन् ।

ति विद्यालयहरुलाई पहिलो चरणमा विद्यालय नसिङ्ग कार्यक्रम सञ्चालनको लागि छनौट गरेको हो ।

ति विद्यालयले एक एक जना स्टार्फ नर्स पाउनेछन् । बाँकी रहेका सामुदायिक विद्यालयका लागि पनि विद्यालय नर्स नियुक्त गरिने नगरपालिकाले जनाएको छ ।

विद्यालयमा खटाइएका स्टाफ नर्सहरुले स्थानीय स्वास्थ्य संस्थासँगको समन्वयमा विद्यार्थीहरुको नियमित स्वास्थ्य परीक्षण गर्ने, पोषणको अवस्था मापदण्डअनुसार भए/नभएको यकिन गर्ने, विद्यार्थीको स्वास्थ्य स्थितिको लेखाजोखा गर्ने, घाउ, खटिरा तथा अपर्झट आइपर्ने स्वास्थ्य समस्याको व्यवस्था गर्ने, महिनावारीसँग सम्बन्धित समस्याको समाधानमा किशोरीलाई सहयोग गर्ने, दीर्घ रोग लागेको विद्यार्थीको कार्ययोजना बनाइ स्वास्थ्य सेवा प्रदान गर्ने काम पनि गर्नेछन् ।

सामुदायिक विद्यालयको भौतिक तथा शैक्षिक गुणस्तर सुधारको लागि विभिन्न नमूना काम गर्दै आएको तिलोत्तमाले यो कार्यक्रम सञ्चालनपछि सामुदायिक विद्यालयमा विद्यार्थी र अभिभावकको थप आकर्षण बढ्ने विश्वास लिएको छ ।

नगर प्रमुख बासुदेव घिमिरेले विद्यालयबाटैं स्वास्थ्य सेवा प्रवाहले बालबालिकाको स्वास्थ्यमा सकारात्मक प्रभाव पार्ने बताउँदै यो कार्यक्रमले सामुदायिक विद्यालयमा थप आकर्षण बढाउने बताए । जनप्रतिनिधि आएसँगै सुरु गरिएका सुधारका कार्यक्रमले तिलोत्तमाका सामुदायिक विद्यालयमा विद्यार्थीको संख्या बढ्दै गएको छ ।

नगरपालिकाले नयाँ नियुक्ती गरिएका नर्सहरुलाई चार दिने सेवा प्रवेश सम्बन्धी तालिम दिइसकेको छ ।

कोरोना महामारीको कारण हाल विद्यालयहरु बन्द रहेकोले नियुक्त गरिएका स्टाफ नर्सलाई कोरोना महामारी नियन्त्रण तथा बिरामीहरुको उपचारमा खटाउने तयारीमा नगरपालिका छ ।

अहिलेका लागि ति मध्ये केही नर्सलाई शंकरनगर आइसोलेशन सेन्टरमा बनाउने तयारीमा रहेको आइसियुमा खटाइनुको साथैं केहीलाई संक्रमितहरुको घर–घरमैं पुगी उनीहरुको स्वास्थ्य अवस्थाको बारेमा अपडेट रहने गरी खटाइने नगरपालिकाको तयारी छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित समाचार

  • ताजा समाचार
  • जनप्रिय