इलाम र तेह्रथुमका दुईसहित झापामा थप चारजना कोरोना संक्रमितको मृत्यु

इलाम र तेह्रथुमका दुईसहित झापामा कोरोना संक्रमणबाट थप चार जनाको मृत्यु भएको छ।

बिर्तामोड नगरपालिकामा दुई, शिवसताक्षी र दमक नगरपालिकाका एक र एक जना संक्रमितको मृत्यु भएको हो । मृत्यु हुनेहरु सबै पुरुष हुन।

बिर्तामोड नगरपालिका ४ मा ९२ वर्षीय देवीप्रसाद खरेलको सोमबार बिहान मृत्यु भएको हो । उनी बिर्तामोड ४ स्थित छोराको घरमा बस्दै आएका थिए । उनको स्थायी घर इलाम हो । करिब एक साताअघि गरिएको पिसिआर परीक्षणमा उनमा कोरोना संक्रमण पुष्टि भएको थियो ।

त्यस्तै बिएण्डसी हस्पिटल बिर्तामोडमा उपचाररत एक कोरोना संक्रमितको मृत्यु भएको छ । मृत्यु हुनेमा तेह्रथुमका ५८ वर्षीय रामबहादुर थापा छन् । उनको गएराति मृत्यु भएको अस्पतालले जनाइएको छ । योसँगै बिर्तामोडमा कोरोना संक्रमणबाट मृत्यु हुनेको संख्या १० पुगेको छ ।

त्यसैगरी शिवसताक्षी नगरपालिका ४ का ८६ वर्षीय बृहष्पति प्रसाईंको मृत्यु भएको छ । मनमोहन हस्पिटल बिर्तामोडमा उपचाररत उनको अवस्था गम्भीर बनेपछि थप उपचारका लागि विराटनगरतर्फ लादै गर्दा बाटैमा मृत्यु भएको शिवसताक्षी नगरपालिकाका प्रवक्ता नवीन इजमले जानकारी दिए ।

त्यसैगरी दमक ६ का ८३ वर्षीय थपलिया थरका बृद्धको मृत्यु भएको हो । उनको उपचारका क्रममा म्याक्स हस्पिटल बिराटनगरमा उनको मृत्यु भएको दमक नगरपालिकाका स्वास्थ्य शाखा सहायक कुवेर भट्टराईले बताए ।

कात्तिक ६ गते संक्रमण पुष्टि भएका उनलाई कात्तिक ८ गते उपचारका लागि विराटनगर लगिएको थियो । योसँगै दमकमा कोरोना संक्रमणबाट मृत्यु हुनेको संख्या दमकमा २३ पुगेको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित समाचार

  • ताजा समाचार
  • जनप्रिय