र, पनि काेराेना जितेँ…

कात्तिक १ को निस्पट्ट रात।

शरीरमा चिटचिट पसिना, मुख सुकेर प्याकप्याक भइरहेको छ।

एक्कासि निद्रा खुल्यो। उठ्न खोजेँ, सकिनँ। जीउ गले झैं भयो।

सिरानीमा राखेको मोबाइलमा समय हेरेँ। रातिको १ बजेको रहेछ।

जीउ पनि तातिरहेको थियो।

सकिनसकी उठेँ।

एक गिलास पानी कलकल पिएँ। टाउकोमा पानीपट्टीले भिजाएँ। अलिकति पनि ठिक भएन। छटपटी झन् बढ्दै गयो।

शरीर दुख्दै गयो। दुखाइ भुलिन्छ कि भनेर मोबाइलमा टिकटक हेर्न थालेँ। विस्तारै अलि ठिक भएजस्तो भयो। कतिबेला निदाएँ, थाहै पाइनँ।

बिहानै ५ बजे निद्राले छोड्यो। शरीर गलिरहेकै थियो। सँगै सुतिरहेको भाइलाई सोधेँ। उसले पनि शरीरमा तापक्रम बढेको सुनायो।

त्यो रात म मामाघरमा थिएँ।

दिउँसो घाममा हिँडेकाले थकान भयो होला भन्ने लाग्यो।

मामाघरबाट अफिस जान बिहान ९ बजे निस्किएँ।

१० बजे लरबराउँदै अफिस पुगेँ। केहीबेर काम गरेँ। टाउको र जीउ दुखाइ बढ्दै गयो। शरीर जोडले दुख्न थाल्यो। शरीर थकित हुँदै गयो। काम गर्न जाँगर लागेन। कार्यालयमै दिनभर सुतेर बिताएँ।

साँझ घर जान निस्कएँ। बल्लतल्ल लरबराउँदै बाइक घरमा पु¥याएँ। खाना कोठामा ल्याइदिनू भन्दै सुतेँ। एकदमै गाह्रो भइरहेको थियो। त्यसपछि मनमा अनेक कुरा खेल्न थाले।

कतै कोरोना नै त होइन? मन आत्तियो। ‘फ्ल्यास थर्मोमिटर’ बाट तापक्रम नापेँ। शरीर पूरै तातेको थियो। तर, पटक–पटक नाप्दा पनि ज्वरो ९९ भन्दा माथि पुगेको थिएन।

शुक्रराज ट्रपिकल तथा सरुवा रोग अस्पतालका डाक्टर अनुप बास्तोलासँग आफ्ना समस्या राखेँ।

उनले भने– एकचोटि परीक्षण गराउनुस् कोरोनासँगै डेँगुको पनि।

त्यसरात पनि निद्रा परेन। बेडमा यताउति फर्कंदैमा रात कट्यो।

स्वाब दिन सहकर्मी अगंदबहादुर सिहँसहित टेकु पुगेँ।

टेकु अस्पतालको लाइन बाटोसम्म आइपुगेको थियो। न दुरी कायम, न सबैले मास्क लगाएका। मास्क लगाउनेले पनि चिउँडोमा लगाएका।

त्यो भीडमा एकजना मात्रै संक्रमित भए पनि उसले धेरैलाई सार्ने जोखिम थियो। कोरोना भए–नभएको पुष्टि गर्न लाइनमा उभिएका हामी दुई त्यहीँबाट कोरोना सर्छ कि भनेर झस्किरहेका थियौं।

लाइन लामै थियो। मलाई उभिन निकै सकस भइरहेको थियो।

उभिरहन सकिनँ। अलि पर सिँढीमा गएर टुसुक्क बसेँ।

चर्को घाम थियो। टाउको फनफनी घुमिरहेको थियो। लागिरहेको थियो म बसिरहेको धर्ती नै जोड–जोडले फन्को मारिरहेको छ।

म नजिकै एक वृद्धा आमा बसिन्।

‘रिपोर्ट कतिबेला आउँछ?,’ उनले सोधिन्।

तर, उनले चिउँडोमा मास्क लगाएकी थिइन्। मास्क मुखमा लगाउन संकेत गर्दै भनेँ, ‘एकछिनपछि दिन्छ।’

उनले प्रयोग गरिरहेको मास्क निकै पुरानो र मैलो थियो।

मेरो आँखामा ती आमाको मास्क र सरकारको रबैया नाच्न थाल्यो।

म आफैं स्वास्थ्य पत्रकार, मैले सकेजति सावधानी अपनाएको थिएँ। तर, जति सावधानी अपनाउँदा पनि जोगिन सकिनँ।

तर, ती आमाले त त्यति बुझेकी छैनन्। बुझेकी भए त्यो भीडमा किन चिउँडोमा मास्क लगाउँदी हुन्।

उनले चिउँडोमा मास्क लगाएकोमा मलाई रिस उठेन र मन पनि दुखेन। बरु सोझा जनतालाई स्वास्थ्य सावधानीका बारेमा बुझाउन नसक्ने सरकार सम्झेर रिस उठ्यो।

किनकि, सरकार यत्रो महामारीमा जनताप्रति उत्तरदायी बनेको छैन। सत्ता टिकाउने र पार्टी जोगाउने, फुटाउने खेलमा व्यस्त छ।

एउटा मास्क किनेर लगाउन नसक्ने जनतालाई सरकार भनिरहेको छ– २ हजार तिरेर पिसिआर गर!

मन भारी भयो। ती आमाको माया पनि लाग्यो।

निःशुल्क परीक्षण गरिरहेको टेकुले पनि केही समयदेखि शुल्क लिन थालेको थियो।

गरिबको अस्पतालले पनि पैसा लिन थालेपछि कहाँ उपचार सेवा पाइन्छ त? दुखिरहेको टाउकोले त्यतिसम्म सोच्न भ्यायो।

त्यतिकैमा हाम्रो स्वाब दिने पालो आयो। भोलि रिपोर्ट आउने आसामा अस्पतालबाट निस्कियौं। अफिस आएर काम गर्ने जाँगर थिएन। घरै गएँ।
बहिनीलाई नआउनू भन्दै कोठा बन्द गरेर बसेँ।

सुत्दा पनि छटपटी भइरहेको थियो। बेला–बेला ज्वरो नापिरहेको थिएँ। तर, ज्वरोको तापक्रम ९९ भन्दा बढेको थिएन।

अब त धेरै गाह्रो बनायो।

पिसिआरको नतिजा भोलिपल्ट मात्र आउने थियो। बेडमा छटपटाइरहेँ।

कोरोनाका लक्षण देखिरहेको हुँदा म संक्रमित भएको हुनसक्नेमा पक्काजस्तै थिएँ।

अघिल्लो दिन जस्तै समस्यासँग जुध्दै बसिरहेँ। बिहान १० बजे फोनमा घण्टी बज्यो। मैले सोचेको थिएँ। रिपोर्ट पोजिटिभ नै आयो।
सिटी भ्यालु १७। तर, साथीको रिपोर्ट नेगेटिभ।

मन आत्तियो। अब के गर्ने? कहाँ बस्ने? समस्या बढ्दै थियो।

तत्काल डाक्टर अनुपलाई फोन घुमाएँ। सिटी लेभलसहित आफूमा भएको समस्या राखेँ। श्वास—प्रश्वासमा केही समस्या छ कि सोधे। तर, मलाई श्वास–प्रश्वासमा त्यस्तो समस्या केही थिएन।

श्वासप्रश्वासमा केही समस्या नभएको कारण अआत्तिन उनले सुझाए। तर, जीउ दुखाइ यति थियो कि केही हुने हो कि भन्ने मनमा डर पनि उब्जियो।

नआतिनुस्। घरमा आराम गर्नुस्। केही दिनमा तपाईंमा भएको समस्या हटेर जानेछ। डाक्टर अनुपले आवश्वासन दिए।

केही औषधी खान सुझाए।

‘यो औषधीले पूरै निको गराउने होइन, निको हुन केही हदसम्म सहयोग गर्नेछ’, डा. अनुपले भने।

बहिनीहरूलाई सम्झाएँ। केही हुन्नँ, त्यस्तो गाह्रो छैन भन्दै उनीहरूलाई आश्वस्त पारेँ।

त्यस दिन पनि दिनभरि निकै गाह्रो बनायो। संक्रमण कहाँबाट स-यो? मानसपटल घुम्न थाल्यो। तर, संक्रमणको स्रोत पत्ता लगाउन सकिनँ। अफिसबाट सहकर्मीहरूले मलाई बेला–बेला फोन गरेर स्वास्थ्य अवस्थाबारे जानकारी लिइरहेका थिए। आत्मबल बढिरहेको थियो।

कोरोना लागेको केहीबेरमै प्रिय दाइ रुपकलाई आफ्नोबारे जानकारी गराएँ। दाईले मलाई नआत्तिनु भनेर मनोबला बढाउन साथ दिए। साथ मात्र दिएनन्।

डा. बास्तोलाले फोनबाटै औषधि सिफारिस गरेका थिए। आफू बन्द कोठाभित्र बसेकाले दाईलाई नै सो विषय सुनाएँ।

सानैदेखि निकै आत्मिय दाजुले भोलिपल्टै ती औषधि बजारबाट कोठासम्म ल्याइप¥याइदिए । कोठाबाहिरैबाट मलाई केही सुुझाव दिँदै आत्मबल बलियो बनाउन अनुरोध पनि गरे।

‘नजिकिएको दशैंमा तँ संगै नहुने भईस’ दाजुले पनि गहभरी आशुँ निकाले । म निशब्द रहेँ।

गत वर्ष माघ १० गते स्वास्थ्य मन्त्रालयले अकस्मात पत्रकार सम्मेलन गरेको थियो। पत्रकार सम्मेलनमा स्वास्थ्य मन्त्रालयका तत्कालीन प्रवक्ता महेन्द्र श्रेष्ठले चीनको वुहान क्षेत्रबाट नेपाल आएका एक व्यक्तिलाई प्रारम्भिक जाँच गरी सोको निश्चित निदानका लागि डब्लुएचओ कोल्याबोरेटिङ सेन्टर हङकङ पठाइएकोमा रिपोर्ट पोजिटिभ आएको र हाल उक्त व्यक्ति लक्षणविहीन रहेको र प्रत्यक्ष निगरानीमा रहेको जानकारी दिँदा मेरो मन र खुट्टा डरले एकसाथ काँपेका थिए।

मैले सोचेको थिएँ– अब नेपालमा पनि संक्रमण फैलिने भयो। तत्कालीन बेला संक्रमण लागेको मान्छे बाँच्दैन भन्ने भ्रम बढी थियो। त्यसबेला चिकित्सकदेखि सर्वसाधारणसमेत सोही भ्रममा थिए। र, सबैमा एक किसिमको त्रास थियो।

स्वास्थ्य बिटमा रिपोर्टिङ गर्ने भएकाले कोरोनासम्बन्धी धेरै समाचार लेखेँ।

नेपालमा पनि जेठ अन्तिम सातादेखि कोरोना संक्रमण दर बढ्न थाल्यो। काम घरमा मात्रै बसेर सीमित हुने थिएन। स्वास्थ्य मन्त्रालय, विभागदेखि अस्पताल र चिकित्सकसँग सुरक्षा अपनाएर भेटघाट हुने क्रम चलिरह्यो।

कोही व्यक्तिसँग भेट गर्दा कोरोना पो सर्‍यो कि भन्ने मनमा डर भइरहन्थ्यो। तर, पछिल्लो समय काठमाडौंमा पनि समुदायस्तरमा संक्रमण फैलिएपछि बाहिरी रिपोर्टिङ कम गर्न थालेको थिएँ।

संक्रमित हुनुभन्दा पाँच–सात दिनअघि रिपोर्टिङका लागि अस्पतालहरू चहारेको थिएँ। सायद, संक्रमण सरेको स्रोत त्यही हुनसक्ने अनुमान लगाएँ।

दसैंमा घर जान पाइनँ, आमा रुनुभयो…

चार–पाँच दिनपछि विस्तारै शरीर दुख्न कम हुँदै गयो। तर, रुघाखोकीले सताउन थाल्यो।

मुख तीतो हुने, खानेकुराको स्वाद जिब्रोले टिप्न छाड्यो।

बेला–बेला श्वासप्रश्वासमा समस्या भएको जस्तो हुन्थ्यो। घोप्टो परेर सुत्थेँ।

जीवनमा पहिलोपटक कोरोनाकै कारण दसैंमा घर जान सकिएन।

नत्र, यसअघिका हरेक वर्ष दसैं मनाउन घरमै पुग्थेँ। बहिनीहरूको रिपोर्ट नेगेटिभ भएसँगै घर पठाइदिएँ।

८० नाघेका हजुरबुबा बाटो हेरेर बस्नुभएको थियो। बहिनीहरूलाई केही दिन आमालाई पनि नभन्नू भनेको थिएँ। टिकाको अघिल्लो दिन आफंैले फोन गरेर जानकारी दिएँ।

भनेँ– आमा म यसपालि दसैंमा घर आउन सक्दिनँ। मलाई कोरोना संक्रमण भएको छ।

मैले यति भन्नेबित्तिकै आमा घ्वाँघ्वाँ रुन थाल्नुभयो। यता मेरो पनि गह भरियो।

आमालाई शान्त पार्नु थियो। आफू निकै ठिक रहेको र पूर्णिमासम्म घर आउने आश्वासन दिएँ।

आमालाई थाहा थियो, त्यो आश्वासनमात्रै हो भन्ने। उहाँले पनि ख्याल गर्नू, हिम्मत नहार्नू भन्दै मलाई हौसला दिनुभयो। हस् भन्दै फोन राखेँ। दिनभर आमा र घरपरिवार सम्झेर मन भारी भइरह्यो।

हजुरबालाई झुटो कुरा बोलेको कति दिनसम्म टिक्न सक्थ्यो र! दसैंको दिन जसरी पनि हजुरबुबालाई थाहा हुनु थियो। थाहा भयो।

थाहा पाउने बित्तिकै घरबाट भिडियो कल आयो।

हजुरबुबाले भन्नुभयो– ‘सानु’ कस्तो छ बाबु तिमिलाई?

उहाँको गला अवरुद्ध भयो।

यत्रो दिनसम्म मलाई कुरा लुकाएको?

उहाँ त घुँक्क घुँक्क नै गर्न थाल्नुभयो।

म नि बोल्न सकिनँ। केही छिनपछि ‘चिन्ता नलिनू हजुरबुबा मलाई निकै ठिक भइसकेको छ’ भन्दै आश्वस्त पारेँ।

कोरोनाकै कारण बुबा पनि घर आउन पाउनुभएन।

१४ दिनसम्म पनि कोरोना नजित्दा…

१०—१२ दिनपछि शरीर अलि फूर्तिलो भयो।

जानी नजानी नियमितजसो बिहान योग, व्यायाम गर्थें। कोरोनाको जित हासिलका लागि प्रभावकारी मानिएको आयुर्वेद औषधि बेसारपानी, ज्वानोपानी, गुर्जोलगायत पनि सेवन गरिरहेँ।

१४ दिन बित्यो।

शरीर चंगा भइसकेको थियो। लागेको थियो, सायद अब त कोरोना जितियो होला।

स्वास्थ्य मन्त्रालयले पनि १० दिनपछि लक्षण नदेखिए परीक्षण गर्न नपर्ने भन्दै बताउँदै आएको थियो।

चिकित्सक तथा साथीभाई पनि प्रायः संक्रमित भएको १४—१५ दिनपछि रिर्पोट नेगेटिभ आएको सुनाउथेँ।

एकपटक ढुक्क हुन १४औं दिनमा परीक्षण गर्ने निधो गरेँ। सामान्य थकानबाहेक अरू समस्या खासै थिएन। पुनः स्टार अस्पतालमा स्वाब दिएँ।

केही समस्या नभएकाले पनि अब निको हुन्छु भन्ने आत्मविश्वास थियो। स्बाव दिएको २४ घन्टामा फोनमा घन्टी बज्यो।

छिटो–छिटो आफ्नो भौचरमा रहेको रजिस्ट्रेसन नम्बरका आधारमा ल्याबको साइटमा गएर हेरेँ, रिपोर्ट पुनः पोजिटिभ। विश्वास गर्न गाह्रो भइरहेको थियो।

विश्वास लागेन। प्रयोगशालाको नम्बरमा फोन गरेँ। तपाईंलाई कोरोना पुष्टि भएको छ। केही दिन अझै एकान्तमा बस्नुहोस्।

आइसोलेसनमा बसेको १७ दिन बितिसकेको थियो। कोरोना संक्रमणबारे भएका अध्ययन अनुसन्धान पनि पढिरहेको थिएँ।

अब भाइरस निष्क्रिय भइसकेको र अरूलाई सार्न नसक्ने भएकाले चार–पाँच दिन आइसोलेसन रहेर निस्कन मिल्ने सुझाव दिए।

अब अरूलाई सार्न नसक्ने भएकाले आइसोलेसनबाट निस्किने विचार गरेँ र सतर्कता अपनाएर परिवारसँगै बस्न थालेँ।

कोरोना संक्रमित भएको २२ दिन बितिसकेको छ। अहिले पूर्णरूपमा स्वस्थ भएर काममा फर्किएको छु।

हामीले निकै सतर्कता अपनाइरहेका हुन्छौं। तै पनि कहिलेकाहीँ कहाँनेर चिप्लिइन्छ, भाइरसले छोइहाल्ने रहेछ। कोरोना संक्रमण सामान्य हेलचेक्य्राइँले पनि सर्ने रहेछ भन्ने थाहा भयो।

कार्यक्षेत्रमा खटिँदा विशेष सुरक्षा सतर्कता अपनाएकै थिएँ। कहीँकतै आफ्नै कमजोरीले कोरोना लाग्यो भन्ने लागेको छ।

होम आइसोलेसनमा बस्दा शारीरिकभन्दा पनि मलाई मानसिक पीडाको बढी अनुभव भयो। केहीगरी संक्रमण परिवारको अन्य सदस्यमा पनि सर्ने पो हो कि। प्रत्येक पल सावधानी अपनाउनुपर्ने। संक्रमित भएको चार–पाँच दिन मेरा लागि निकै कष्टकर नै भए।

कोरोनालाई त्यति धेरै हलुका रूपमा पनि लिनु हुँदैन। भइहाले पूरै आत्मबल नै खत्तम गर्नु पनि हुँदैन। कोरोनाको सबैभन्दा ठूलो औषधी भनेको नै आत्मबल रहेछ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित समाचार

  • ताजा समाचार
  • जनप्रिय