भक्तपुर अस्पतालमा नमुना पिसिआर परीक्षण सुरु
भक्तपुर अस्पतालमा आइतबारदेखि नमुना पिसिआर परीक्षण सुरु भएको छ। चर्चाको झन्डै दुई महिनापछि परीक्षण सुरु गरिएको हो।
भक्तपुर अस्पतालका सूचना अधिकृत सुनिल डंगोलले आजबाट नमुना पिसिआर परीक्षण सुरु भएको बताए। ल्याब र जनशक्ति तयार भएपनि आवश्यक उपकरण नआएका कारण परीक्षणमा ढिलाई भएको थियो।
डंगोलले कुनै पनि ल्याब संचालनका लागि नमुना परीक्षण गराउनुपर्ने भएकोले एकदुई दिन पिसिआर मेसिनमा नमुना परीक्षण हुने बताए। ‘नमुना परीक्षण सफल भएपछि पूर्ण पिसिआर परीक्षण हुनेछ’, उनले भने, ‘मेसिनले ठिक काम गर्छ की गर्दैन, केही खराबी छ की छैन? हेर्नको लागि यो परीक्षण हुन्छ।’
भक्तपुर अस्पतालका बिरामीहरुको स्वाब परीक्षण हाल धुलिखेलस्थित राष्ट्रिय जनस्वास्थ्य प्रयोगशालामा हुँदै आएको छ।
डंगोलले बिरामीहरुका लागि सकेसम्म पिसिआर परीक्षण निःशुल्क हुनुपर्नेमा जोड दिए। निःशुल्क गर्न नसकेको खण्डमा स्वास्थ्य बीमामा भए पनि यो सुविधा दिनुपर्ने उनी बताउँछन्।
भक्तपुर अस्पतालका मेडिकल सुपरिटेन्डेन सुमित्रा गौतमले भक्तपुर अस्पतालमा संचालन हुने पिसिआर मेसिनले एकचोटिमा एक सय जनाको परीक्षण गर्न सक्ने बताइन्।
उनले अहिलेसम्म कोरोना संक्रमित सबैको निःशुल्क नै उपचार भैरहेको बताइन्। पिसिआर गर्न चाहनेहरुको लागि शुल्क लिने की नलिने भन्ने विषयमा निर्णय नभएको उनी बताउँछिन्। ‘सामाजिक विकास मन्त्रालयको निर्देशिका अनुसार निर्णय हुन्छ’, उनले भनिन्, ‘सकेसम्म निःशुल्क नै परीक्षण हुन्छ।’
समाजिक विकास मन्त्रालयबाट अस्पतालका लागि मेसिन खरिद गरिएको हो। भक्तपुर अस्पतालको आइसोलेसनमा नौ र आइसियुमा पाँच गरी जम्मा १४ बिरामी उपचाररत छन्।
भक्तपुर अस्पताललाई कोभिड अस्पताल बनाइए पनि बिरामीहरु उपचारबाट बन्चित नहुन् भन्दै अरु सेवा पनि दिइँदै आइएको छ।