रकम निकासा भएको पाँच महिना बित्यो, जिल्ला अस्पतालमा अझै छैन आइसियु

बेनी अस्पतालको आइसियु ।

स्याङ्जाको वालिङ नगरपालिकाका ७० वर्षे वृद्धमा ९ कात्तिकमा कोरोना पुष्टि भयो। रक्त अल्पता, निमोनिया र क्षयरोगबाट ग्रसित थिए उनी।

अवस्था जटिल बनेपछि उनलाई पश्चिमाञ्चल क्षेत्रीय अस्पतालको आइसियुमा राखियो। उपचारकै क्रममा १४ कात्तिकमा उनको मृत्यु भयो।

जिल्लामा आइसियु सेवा नहुँदा ती वृद्धजस्तै स्याङ्जाका सबै गम्भीर बिरामी पोखरा, काठमाडौं पुग्नुपर्ने बाध्यता छ। कति पोखरा ल्याउँदाल्याउँदै मृत्युवरण गर्न बाध्य छन्।

यही अवस्थाको अन्त्य गर्न गण्डकी प्रदेश सरकारले पाँच महिनाअघि आइसियु र भेन्टिलेटर किन्न जिल्ला अस्पताल स्याङ्जालाई झन्डै दुई करोड रुपैयाँ दियो। तर पाँच महिनासम्म प्रगति शून्य छ।

‘हामी खरिद प्रक्रियामा छौं तर ल्याएर राख्ने ठाउँको समस्या छ,’ जिल्ला अस्पताल स्याङ्जाका मेसु डा. सुशील मरासिनीले भने।

स्वास्थ्यमा समस्या भएपछि म्याग्दीकी २१ वर्षीया युवती कात्तिक पहिलो हप्ता जिल्ला अस्पताल बेनी पुगिन्। उनको मुटुको चाल एक्कासी बन्द भएको थियो।

कृत्रिम श्वासप्रश्वास दिएपछि उनको मुटु धडकन सुरु ग¥यो। मुटुको समस्या गम्भीर हुने भएकाले तत्काल भेन्टिलेटरमा राख्नुपर्ने भयो। भेन्टिलेटरलाई कामचलाउ जनशक्ति भएको बेनी अस्पतालमा राख्न उनलाई सम्भव भएन।

सोही दिन त्यही कामचलाउ जनशक्तिको भरमा राखे पनि स्वास्थ्यमा सुधार नआएपछि ती युवतीलाई रेफर गर्ने निर्णय त्यहाँका डाक्टरले गरे। उनलाई पश्चिमाञ्चल क्षेत्रीय अस्पताल पठाए।

बेनी अस्पतालमा पाँच बेडको आइसियु र दुई वटा भेन्टिलेटर छ। त्यो चलाउने दक्ष जनशक्ति नहुँदा गम्भीर बिरामीलाई पोखरा रेफर गर्नुपर्ने बाध्यता छ।

‘त्यो पूर्वाधार चलाउन कन्सल्टेन्ट चाहिन्छ। जटिल बिरामी केही समय सम्हाल्न सकिएला तर नियमित सेवा दिन गाह्रो छ,’ बेनी अस्पतालका निमित्त मेसु डा. अमृत अधिकारीले सुनाए।

गण्डकी प्रदेश मन्त्रिपरिषद्को १६ वैशाखको बैठकले सबै जिल्ला अस्पतालमा आइसियु स्थापना गर्ने निर्णय गरेको थियो। प्रदेश सरकारले मनाङ र मुस्ताङमा दुई÷दुई बेड र बाँकी जिल्ला अस्पतालमा पाँच÷पाँच बेडको आइसियु स्थापना गर्न निर्णय भएको २० दिनमै बजेट दियो।

११ वटै जिल्लाका अस्पताललाई गरेर प्रदेश सरकारले ६ जेठमा १३ करोड ७८ लाख ५३ हजार रुपैयाँ पठाएको थियो। तर, अधिकांश जिल्ला अस्पताल अझै आइसियु र भेन्टिलेटर सेवाविहीन छन्।

पूर्वाधार जडान गरेका कुनै पनि अस्पतालसँग त्यो चलाउने जनशक्ति नै छैन। त्यही कारण विभिन्न जिल्लाका गम्भीर बिरामी पोखरा आउँछन्। लमजुङ, गोरखा, मनाङका बिरामी चितवन वा काठमाडौं जान्छन्।

कोरोनाका गम्भीर बिरामीलाई आइसियु र भेन्टिलेटर चाहिने भए पनि पोखराबाहिर बागलुङबाहेक अरु जिल्लामा दक्ष जनशक्ति छैनन्।

बेनी अस्पतालका निमित्त मेसु डा. अधिकारीका अनुसार जनशक्ति व्यवस्थापनका लागि प्रदेश सरकार र स्वास्थ्य विभागमा अनुरोध गरिए पनि सुनुवाइ भएको छैन।

‘हामीले दक्ष जनशक्तिको अभावमा कोरोना संक्रमितको उपचार आइसियुमा गर्न सक्दैनौं,’ उनले भने, ‘यहाँ पूर्वाधार भएपनि जनशक्तिकै अभावमा बिरामी महँगो खर्चमा पोखरा वा काठमाडौं जानुपरेको छ।’

जनशक्तिमात्रै समस्या होइन, जिल्ला अस्पतालसँग आइसियु राख्ने गर्ने ठाउँ नै छैन। लमजुङ सामुदायिक अस्पतालका प्रमुख हेमन्त श्रेष्ठ आइसियु बेड ल्याउने तयारी अन्तिम चरणमा पुगे पनि त्यसलाई कहाँ राख्ने भन्ने टुंगो लाग्न नसकेको बताउँछन्।

११ वटै जिल्ला अस्पताललाई प्रदेश सरकारले ६ जेठमा १३ करोड ७८ लाख रुपैयाँ पठाएको थियो । तर अधिकांश अस्पताल अझै आइसियु र भेन्टिलेटर सेवाविहीन छन्

‘त्यसलाई त एमडिजिपी डाक्टर, फिजिसियन, एनेस्थेसियोलोजिस्ट चाहिन्छ। जनशक्ति नभएकाले पूर्वाधार आए पनि सोचेजस्तो गर्न सकिँदैन,’ उनी भन्छन्, ‘अझै आइसियु राख्न छुट्टै ठाउँ चाहिन्छ। प्रदेश सरकारलाई भनेका छौं।’

दमौली अस्पतालका मेसु डा. सुनील पौडेल पनि जनशक्ति नआउँदासम्म आइसियु चलाउन सम्भव नभएको बताउँछन्। ‘यसको छुट्टै कोर्स नै तीन वर्षको हुन्छ। एक दिनको तालिमले हुँदैन,’ उनले भने, ‘प्रदेशले केही गर्ला।’

प्रदेश स्वास्थ्य निर्देशनालयले जेठ र भदौमा गरी दुई पटक विभिन्न जिल्लाका स्वास्थ्यकर्मीलाई आइसियु व्यवस्थापन तालिम दिएको थियो।

जनशक्ति थप्ने तयारी गर्दै प्रदेश

गण्डकी प्रदेशमा कात्तिकमा दैनिक दुई सयभन्दा बढीमा कोरोना पोजेटिभ देखिएको छ। संक्रमितको मृत्यु नभएको दिनै छैन। अन्य जिल्लाका गम्भीर संक्रमितले पोखराका अस्पतालको आइसियुमा ज्यान गुमाइरहेका छन्।

शुक्रबारमात्रै बागलुङका एक सहित कास्कीका तीन जनाले पोखरामा उपचारकै क्रममा मृत्युवरण गरे। गत आर्थिक वर्ष बजेट पठाएको सरकार बल्ल जनशक्ति थप्नेतर्फ अघि बढेको छ।

महामारी फैलिरहँदा प्रदेश बल्ल तयारीमा जुटेको हो। मनाङ र मुस्ताङमा एमडिजिपी डाक्टर, फिजिसियन र एनेस्थेसियोलोजिस्टमध्ये एक जना पठाउने तयारी सामाजिक विकास मन्त्रालयले गरेको छ।

अन्य जिल्लामा दुई÷दुई जना खटाउने गरी प्रस्ताव तयार पारिएको मन्त्रालयका अस्पताल विकास महाशाखा प्रमुख डा. रामबहादुर केसीले जानकारी दिए।

कानुन मन्त्रालयबाट राय लिएपछि मन्त्रिपरिषद्मा उक्त प्रस्ताव पठाउने र जनशक्ति खटाइने उनले बताए। ‘मन्त्रिपरिषद्बाट स्वीकृत भएपछि जनशक्ति खटाइन्छ। मनाङ र मुस्ताङमा दुई जना स्टाफ नर्स र अरुमा चार÷चार जना पठाउने तयारी छ,’ डा. केसीले भने।

पोखराबाहिर पाँच आइसियु, चार भेन्टिलेटर

चैतसम्म गण्डकी प्रदेशमा एक सय ३३ आइसियु र ५४ भेन्टिलेटर थिए। कोरोना संक्रमण देखिँदा पोखराबाहिर धौलागिरी अस्पतालमा एउटामात्रै आइसियु थियो।

प्रदेश स्वास्थ्य निर्देशनालयको पछिल्लो तथ्यांकअनुसार प्रदेशमा अहिले १ सय ८५ आइसियु र ५४ वटा भेन्टिलेटर छ। सरकारी अस्पतालमा जम्मा २४ आइसियु र ९ वटा भेन्टिलेटर छन्।

सरकारीतर्फ सबैभन्दा धेरै पोखरा स्वास्थ्य विज्ञान प्रतिष्ठानमा १९ आइसियु र पाँचवटा भेन्टिलेटर रहेको निर्देशनालयको तथ्यांक छ। त्यसबाहेक धौलागिरी प्रादेशिक अस्पतालमा तीन÷तीन वटा आइसियु र भेन्टिलेटर, जिल्ला अस्पताल गोरखामा दुई आइसियु र एउटा भेन्टिलेटर छ।

प्रदेशमा सबैभन्दा धेरै गण्डकी मेडिकल कलेजमा ४८, मनिपाल शिक्षण अस्पतालमा ३२, चरक मेमोरियल हस्पिटलमा २४, कास्की सेवा हस्पिटलमा १०, फिस्टेल हस्पिटलमा १०, पश्चिमाञ्चल सामुदायिक अस्पतालमा ६ वटा आइसियु छन्।

त्यसबाहेक फेवासिटी हस्पिटलमा ६, ग्यालेक्सी हस्पिटलमा ६, रिजनल हस्पिटलमा पाँच, मेट्रो हस्पिटलमा चार, नमस्ते हस्पिटलमा पाँच र पार्कल्यान्ड हस्पिटलमा पाँच वटा आइसियु बेड छ।

प्रदेश स्वास्थ्य निर्देशनालयका अनुसार सबैभन्दा धेरै भेन्टिलेटर मनिपाल शिक्षण अस्पतालमा १५ वटा छन् । गण्डकी मेडिकल कलेजमा १०, चरक मेमोरियलमा पाँच, फिस्टेलमा पाँच, फेवा र मेट्रो सिटीमा दुई/दुई, पश्चिमाञ्चल सामुदायिकमा, कास्की सेवा, नमस्ते, पार्कलयान्ड, ग्यालेक्सी, र रिजनल अस्पतालमा एउटा भेन्टिलेटर छ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित समाचार

  • ताजा समाचार
  • जनप्रिय