भक्तपुर अस्पतालमा अर्को सातादेखि पिसिआर परीक्षण हुने

This image shows Bhaktapur Hospital, in Bhaktapur, in March, 2019. Photo courtesy: Vijaya Malla

भक्तपुर अस्पतालमा पनि पिसीआर टेस्ट गरिने भएको छ। केही साताअघि पिसीआर टेस्ट गर्ने मेसिन अस्पताल आइपुगेपछि अस्पतालमा यो सुविधा पनि थपिने भएको हो। मेसिन आइपुगे पनि पिसिआर टेस्ट भने अहिलेसम्म हुन सकेको छैन्।

भक्तपुर अस्पतालमा पिसिआर टेस्ट हुन्छ भनिएको करिब २ महिना भइसकेको छ। अहिलेसम्म सुरु भने भएको छैन। अहिले पनि भक्तपुर अस्पतालका बिरामीहरुको स्वाव लिएर धुलिखेलमा अवस्थित राष्ट्रिय जनस्वास्थ्य प्रयोगशाला लगेर पिसिआर टेस्ट गरिँदै आएको छ।

यो भन्दा अगाडि टेकुमा अस्पतालमा स्वाब परीक्षण हुन्थ्यो। भक्तपुर अस्पतालका मेडिकल सुपरिन्टेन्डेन्ट सुमित्रा गौतमले पिसिआर मेसिनको सबै सामान नआएकोले परिक्षण सुरु हुन नसकेको बताइन्।

पिसिआर मेसिनको लागि विभिन्न सामग्रीहरु एकैचोटि आउनुपर्नेमा एउटा समान (मेसिन) आउन बाँकी भएकोले पिसिआर टेस्ट हुन नसकेको गौतमले जानकारी गराइन्।

‘अब आउँदो हप्तासम्ममा पिसिआर मेसिन सञ्चालन हुनेछ,’ गौतम भन्छिन्, ‘पिसिआर परीक्षणको लागि आवश्यक स्वास्थ्यकर्मीहरु तयारी अवस्थामा छन्।’

मेसिनको सबै समान आएको भए त केही दिनअघिबाटै परीक्षण सुरु गर्ने तयारी रहेको उनको भनाए छ। मेसिनको सबै सामान आइपुग्न समय लागेकैले ढिलाइ भएको उनले बताइन्।

उनले भक्तपुर अस्पतालमा सञ्चालन हुने पिसिआरमा एकचोटिमा एक सय जनाको पिसिआर टेस्ट गर्ने क्षमता भएको बताइन्। उनले अहिलेसम्म कोरोना संक्रमित सबैजनालाई निःशुल्क नै उपचार भइरहेको जानकारी दिइन्।

समाजिक विकास मन्त्रालयबाट मेसिन वितरण गरिएको हो। अहिलेसम्म भक्तपुर अस्पतालमा आइसोलेसनमा ११ जना र आइसियूमा ४ जना गरी जम्मा कोभिडका विरामी १५ जना विरामी रहेका छन्।

भक्तपुर अस्पताललाई कोभिड अस्पताल बनायता पनि बिरामीहरु उपचारबाट वञ्चित नहोस् भनेर अरु सेवा पनि सञ्चालनमा रहँदै आएका छन्। यहाँ दिनको करिब दुई सयको हाराहारीमा बिरामीहरु उपचारका लागि आउने गर्दछन्।

भक्तपुर अस्पताल भक्तपुरकै सबैभन्दा पुरानो अस्पताल हो। यो काठमाडौंको वीर अस्पतालपछि नेपालकै दोस्रो पुरानो अस्पताल हो। भक्तपुरमा यीबाहेक विभिन्न निजी अस्पतालहरु पनि छन्।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

  • ताजा समाचार
  • जनप्रिय