कांग्रेसका ६ केन्द्रीय सदस्यलाई कोरोना पुष्टि

प्रमुख प्रतिपक्षी कांग्रेसका थप ६ जना केन्द्रीय सदस्यहरूलाई कोरोना संक्रमण भएको छ। शुक्रबार बस्ने भनिएको केन्द्रीय कार्यसमितिको बैठकअघि पिसिआर परीक्षण गर्दा केन्द्रीय सदस्य र आमन्त्रित सदस्यसहित ६ जनामा संक्रमण पुष्टि भएको हो।

सुजाता परियार, श्यामकुमार घिमिरे, किरण यादव, सुरेन्द्रराज पाण्डे, मो.नासिर सिद्धकी र कृष्णकिशोर घिमिरेमा संक्रमण देखिएको कांग्रेस केन्द्रीय कार्यालयका सचिव अमृत कार्कीले जानकारी दिए।

‘शुक्रबार हुने भनिएको बैठकपूर्व उहाँहरूको पिसिर परीक्षण गराइएको थियो, ६ जनामा संक्रमण देखिएको छ,’ कार्कीले भने। संक्रमण पुष्टि भएपछि आगामी २४ गते हुने केन्द्रीय समितिको बैठकमा पोजिटिभ देखिएका केन्द्रीय सदस्यहरू सहभागी नहुने उनले बताए।

वरिष्ठ नेता रामचन्द्र पौडेलले उठाएका मागबारे सहमति जुट्न नसक्दा शुक्रबार बस्ने भनिएको कांग्रेस केन्द्रीय समितिको बैठक आगामी २४ गतेलाई सारिएको थियो।

विहिबार सभापति शेरबहादुर देउवा निवास बुढानिलकण्ठमा बसेको पदाधिकारी बैठकमा वरिष्ठ नेता पौडेलले उठाएका विभाग गठन, विभागहरूमा नियुक्ति, महाधिवेशन तयारीलगायतका विषयमा छलफल भएपनि बिनानिष्कर्ष टुंगिएको थियो।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

  • ताजा समाचार
  • जनप्रिय