तलब र सञ्चयकोष माग्दै जानकी मेडिकल कलेजका कर्मचारी आमरण अनसनमा
सरकारले तोकेको न्यूनतम सुविधा माग गर्दै ६ दिनदेखि जानकी मेडिकल कलेजका कर्मचारी आमरण अनसनमा छन्। तलब र सञ्चयकोष माग गर्दै उनीहरु अनसनमा बसेको शुक्रबार छैठौं दिन हो।
उनीहरुले ६ महिनायताको तलब पाएका छैनन्। ६ महिनाको बाँकी बक्यौता र ६ वर्षयताको सञ्चयकोष तत्काल उपलब्ध गराउनुपर्ने भन्दै महिनादिनदेखि आन्दोलनरत कर्मचारीले बाध्य भएर आमरण अनसनमा बस्नुपरेको बताएका छन्।
समयमै तलब दिन नसकेको र सरकारले सम्पूर्ण कर्मचारीको सञ्चयकोषको व्यवस्था गरे पनि अहिलेसम्म मेडिकल कलेजले उपलब्ध नराएको भन्दै अनशनमा बस्न बाध्य भएको कर्मचारी हकहित संरक्षण समितिका संयोजक उमेश यादवले बताए।
‘हामी ६ वर्षयताको सञ्चयकोष पनि पाएका छैनौं। त्यतिमात्र होइन ६ महिना यताको तलब पनि पाएका छैनौं। शान्तिपूर्ण आन्दोलनबाट माग पूरा नभएपछि दुई जना कर्मचारी अहिले आमरण अनसनमा बस्नुभएको छ’, उनले भने।
मेडिकल कलेजका एकसय १५ जना कर्मचारी अहिले आन्दोलनरत छन्।