‘कोरोनाको खोप निःशुल्क दिने’ प्रदेश सरकारको घोषणा, प्रवक्ता भन्छन् –खोप नै छैन के निःशुल्क ?

कोरोना भाईरस (कोभिड–१९) संक्रमणका कारण विश्व नै डगमगाएको छ । संक्रमणका कारण दशौँ लाख मानिसहरुले ज्यान गुमाईसकेका छन् ।

यतिखेर कोरोना भाईरसकोविरुद्व भ्याक्सिन निर्माणका लागि सारा विश्व लागिपरेको छ । विभिन्न्न परिक्षणहरु भईरहेका छन् ।

तर यता कर्णाली प्रदेशमा भने यहाँका नागरिकलाई कोरोना भ्याक्सिन निःशुल्क उपलब्ध गराउने तयारी थालिएको छ ।

कर्णालीको प्रदेश विपद् व्यवस्थापन केन्द्रले कोरोनाको भ्याक्सिन निःशुल्क उपललब्ध गराउने तयारी थालेको हो ।

मुख्यमन्त्री महेन्द्रबहादुर शाहीको अध्यक्षतामा बसेको उक्त बैठकले कर्णालीका नागरिकलाई निःशुल्क रुपमा भ्याक्सिन उपलब्ध गराउने निर्णय नै गरेको छ ।

‘कोभिड–१९ को उपचारको क्रममा विभिन्न राष्ट्रहरुबाट तयार भएको भ्याक्सिन प्रयोग गर्ने सम्वन्धमा संघीय सरकारबाट स्वीकृत भएको भ्याक्सिन मात्र प्रयोग गर्ने’, उक्त बैठकको निर्णयमा उल्लेख छ, ‘संघीय सरकारको नीति अनुसार कर्णाली प्रदेशका लागि के कति भ्याक्सिन आवश्यक पर्ने हो ? सोको आंकलन गरी कर्णाली प्रदेशका आम जनतालाई निःशुल्क भ्याक्सिन उपलब्ध गराउने सम्बन्धमा सामाजिक विकास मन्त्रालयले पुर्व तयारी गरी राख्ने’ ।

तर यता स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवत्ता प्राध्यापक डा. जागेश्वर गौतमले भने, भ्याक्सिन तयार नहुँदै निःशुल्क उपलब्ध गराउँछु भन्ने ?’ प्रश्न गरे ।

उनले भने, ‘भ्याक्सिन तयार हुन कति समय लाग्ने हो, त्यसको मुल्य कति पर्छ, आवश्यकता कति पर्छ, अहिले केहि जानकारी छैन । यो समयमा कसरी निःशुल्क भ्याक्सिन उपलब्ध गराउँनेबारे निर्णय गर्न सकिन्छ ?’

नेपालमा फाभिर २०० नामको औषधि क्लिनिकल परीक्षण सुरु भएको छ । तर बाह्य देशबाट कुनैपनि भ्याक्सिन नझिकाइएको गौतमले जानकारी दिए ।

क्वारेन्टाइन सेन्टर बन्द
यसका साथै कर्णालीमा हाल रहेका सबै क्वारेन्टाइन सेन्टरहरु हटाईने भएको छ ।

प्रदेश विपद् व्यवस्थापन केन्द्रको बैठकले कर्णालीमा रहेका क्वारेन्टाइनहरु हटाएर सोको सबै सामानहरु नेपाली सेनाको जिम्मा लगाई भण्डारण गर्ने निर्णय गरेको हो ।

बिरामीको चाप अनुसार कर्णालीका जिल्लाहरुमा २५ देखि ५० वेड सम्मको आइसोलेसन सेन्टर बनाउन सामाजिक विकास मन्त्रालयले आवश्यक अध्ययन समेत गर्ने भएको छ ।

 

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित समाचार

  • ताजा समाचार
  • जनप्रिय