चितवनका ७९ जनामा स्क्रब टाइफस र २७ जनामा डेंगु

चितवनमा स्क्रब टाइफस र डेंगुका बिरामी बढेका छन्। साउन १ गतेदेखि हालसम्मको तथ्यांक हेर्दा चितवनमा ७९ जनामा स्क्रब टाइफस र २७ जनामा डेंगु देखिएको छ।

यस्तै चितवनमा उपचार गर्न आएका बाहिरी जिल्लाका ८६ जनामा स्क्रब टाइफस र ६ जनामा डेंगु देखिएको छ। स्वास्थ्य कार्यालय चितवनका प्रमुख दिपक तिवारीले भरतपुर महानगरमा बिरामी धेरै रहेको बताए।

तिवारीका अनुसार भरतपुरका ४२ जनामा स्क्रब टाइफस र १५ जनामा डेंगु पाइएको छ। रत्ननगर, खैरहनीमा १०/१० जना, राप्तीमा नौजना, इच्छाकामनामा एकजनामा स्क्रब टाइफस देखिएको छ।

यस्तै रत्ननगरमा पाँचजना, खैरहनीमा तीनजना, कालिकामा दुईजना, राप्तीमा एकजनामा डेंगु देखिएको छ। प्रमुख तिवारीले विगतको तुलनामा हरेक परिवारले सरसफाईमा बढी ध्यान दिएकाले अतिजोखिम भने नरहेको बताए। डेंगुले हरेक ३ वर्षमा महामारीको रुप लिने गरेको पाइन्छ।

गत वर्ष चितवनमा ४ हजार ८ सय ३ जनामा डेंगु संक्रमण देखिएको थियो। गत वर्ष चितवनमा एकजनाको डेंगुका कारण ज्यान गएको थियो।

तिवारीले स्क्रब टाइफस मुसामा लाग्ने किर्नाको टोकाइबाट हुने भएकाले सरसफाइमा विशेष ध्यान दिन आग्रह गरे।

डेंगु एडिस जातको पोथी लामखुट्टेको टोकाइबाट हुने भाइरल ज्वरो हो। स्क्रब टाइफस र डेंगु रोगका लक्षण कोरोनाका लक्षणसँग मिल्दोजुल्दो हुन्छन्। ज्वरो आउने, श्वास फेर्न गाह्रो हुने, टाउको दुख्ने लगायतका लक्षण यसमा देखिन्छन्।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित समाचार

  • ताजा समाचार
  • जनप्रिय