वीर अस्पतालमा स्वास्थ्यकर्मीको आन्दोलन, निर्देशक भन्छन् –‘माग पुरा गर्न सकिन्न’
जोखिम भत्ता र नियमित तलबको मागगर्दै कार्तिक २ गतेदेखि आन्दोलनमा उत्रिएका वीर स्वास्थ्यकर्मी एवं कर्मचारीले विहीबार प्रदर्शन गरेका छन् ।
अस्पतालमा धर्नासहित, प्लेकार्ड प्रदर्शन र पदाधिकारीविरुद्ध नाराबाजीसमेत गरेका थिए ।
समयमा तलब र भत्ताका लागि अस्पताल प्रशासनसमक्ष मौखिक र लिखित माग गर्दा पनि चासो नदिएपछि आन्दोलनको स्वारुप फेरिँदै गएको हो । यसअघि बुधबारमात्रै आकस्मिक विभागका १६ चिकित्सकले सामूहिक राजिनामा दिएका थिए ।
अस्पतालका कर्मचारी तथा नेपाल स्वास्थ्यकर्मी संघका अध्यक्ष खुबराज आचार्य दसैंमा स्थगित अन्दोलन कार्तिक १७ गते सोमबारदेखि पुन सुरु गरेको बताए ।
उनका अनुसार अहिले अस्पतालमा दैनिक विहान १ घन्टा अस्पताल धर्ना कार्यक्रम भइरहेको छ । शान्तिपूर्ण आन्दोलन गर्दा पनि सुनुवाई नभए शुक्रबारदेखि कडा आन्दोलन गर्ने आचार्यको भनाई छ ।
‘२० दिनदेखि आन्दोलन गर्दा पनि पदाधिकारी केही नभएको जस्तो बसिरहेका छन्,’ उनले भने ।
उनले यतिका दिनसम्म माग सुनुवाई र वार्ताको समेत प्रयास नगरेको बताए ।
अस्पताल आन्तरिक स्रोत एवं आम्दानी घटेको भन्दै त्यसलाई बढाउन पहल नभएको कर्मचारीको भनाई छ । ‘अस्पतालका आयस्रोत बढाउने काम नगर्ने स्रोत छैन भनेर स्वास्थ्यकर्मी, चिकत्सकलाई शोषण गर्न पाइन्छ ?’ आचार्यले प्रश्न गरे ।
अहिले माग पुरा गर्न सकिन्न
वीर अस्पतालका निर्देशक डा.केदार सेन्चुरीले भने नियमित तलब वितरण भइरहेको दावी गरे ।
वीर अस्पतालको आन्तरिक सा्रेतबाट दिइरहेको सेवा विस्तार भत्ता, औषधी भत्ता र कोभिड भत्ता मात्र दिन नसकेको डा. सेन्चुरी बताउछन् ।
कोभिड भत्ताबाहेक अरु भत्ताहरु अस्पतालको आन्तरिक सा्रेतबाट दिने गरेको उनी सुनाउछन् । अहिले कोभिडको कारण आन्तरिक स्रोत घटेको र बिरामीहरुको चाप कम भएको कारण भत्ता दिन नसकेको सिन्चुरीले बताए ।
भाद्रदेखि त झन् कोभिड अस्पताल बनाइसकेपछि अन्य बिरामी आउन बन्दजस्तै भएको उनले बताए । ‘स्वास्थ्य मन्त्रालयबाट नै कम बजेट आएको छ, हामीले के गर्ने? डा. सिन्चुरीले भने ।
उनले अहिले पनि स्वास्थ्य मन्त्रालयबाट ४ करोड ३३ लाख मात्रै बजेट आएको जानकारी दिए । सोही बजेटबाट भएपनि कोभिड भत्ता दिने विषयमा छलफल भएको उनको भनाई छ ।
अस्पताल प्रशासनले बजेट भन्दा खर्च धेरै भएको कारण यस्तो अवस्था सिर्जना भएको जनाएको छ ।
कर्मचारीलाई भत्ता दिँदा अस्पताललाई चाहिने सामान किन्नसमेत कठिनाई हुने उनको सुनाए ।
त्यसकारण अहिले उहाँहरुको माग पुरा गर्न नसकिने उनले स्पष्ट पारे ।
निर्देशक डा. सिन्चुरीले नेपाल सरकार र स्वास्थ्य मन्त्रालयमा यस विषयमा कुरा राखेको समेत बताए । ‘हामीले केही गर्नसक्ने अवस्था छैन् मन्त्रालयबाट कहिले सुनुवाई हुन्छ, थाहा छैन्’ उनले थपे ।
स्वास्थ्य मन्त्रालयले कोभिड उपचारमा संलग्नबाहेकका स्वास्थ्यकर्मीहरुलाई विदा दिएर पठाउनु भनेको समेत उनको भनाई छ ।
साथै अहिले कोभिडको कारण कुनै अरु आन्तरिक स्रोत बढाउन नसकेको उनी सुनाउँछन् ।
अस्पतालमा आन्दोलन भएता पनि विरामीहरुको सेवा भने रोकिएको छैन् । स्वास्थ्यकर्मी तथा कर्मचारीहरु बिरामीलाई असर नपर्ने गरी आन्दोलनमा जुटेका छन् ।