कोरोनाबाट पूर्व सभामुख महरा पत्नीको निधन

हेल्थपोस्ट/काठमाडौं
प्रकाशित
२०७७ कार्तिक १९ गते १०:१४

पूर्वसभामुख तथा प्रतिनिधि सभा सदस्य कृष्णबहादुर महराकी पत्नी सीता महराको कोरोना संक्रमणबाट निधन भएको छ।

नर्भिक अस्पतालमा उपचाररत महराको कोरोना संक्रमणका कारण आज बिहान ६ः२५ बजे निधन भएको हो ।

रोल्पामा रहँदा स्वास्थ्यमा समस्या देखिएपछि उनलाई कार्तिक १३ गते दाङस्थित गोर्खा अस्पतालमा लगिएकोमा १४ गते हेलिकोप्टरबाट काठमाडौं नर्भिक अस्पतालमा ल्याइएको थियो।

जाँचका क्रममा उनमा कोरोना संक्रमण देखिएको थियो।

सीता महरा माइस्थेनिया नामक रोगबाट विगत १० वर्षदेखि पीडित थिइन्। उनको भेन्टिलेटरमा राखेर उपचार गर्ने क्रममै ज्यान गएको हो।

महरासँग उनको २०३५ सालमा विवाह भएको थियो। उनका दुई छोरा र दुई छोरी छन्।

यसैबीच प्रधानमन्त्री केपी शर्मा ओलीले सीता महराको निधनमा दुःख व्यक्त गरेका छन्।

उनले ट्वीट गर्दै लेखेका छन्, ’प्रतिनिधिसभाका सदस्य एवं पूर्वसभामुख माननीय श्री कृष्णबहादुर महराकी श्रीमती सीता महराको आज बिहान नर्भिक अस्पतालमा भएको निधनबाट अत्यन्त दुःख लागेको छ।

म दिवंगत सीता महराप्रति भावपूर्ण श्रद्धाञ्जलि अर्पण गर्दै पूर्वसभामुख महराजी सहित शोकाकुल परिवारजनमा गहिरो समवेदना व्यक्त गर्दछु।’

उनको निधनप्रति नेकपाका अर्का अध्यक्ष पुष्पकमल दाहाल, नेकपा नेता जनार्दन शर्मालगायतले दुःख व्यक्त गरेका छन् ।

 

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित समाचार

  • ताजा समाचार
  • जनप्रिय