अलबिदा डा. निलम!

दीपक दाहाल/काठमाडौं
प्रकाशित
२०७७ कार्तिक १८ गते १३:४७

 

शरीरमा क्यान्सर सेल फैलिँदै थियो। देश–विदेशका अस्पताल धाएर लिएका उपचारले क्यान्सर फैलिने दर नियन्त्रण गर्न सकिरहेको थियो। त्यसमा पनि केमोले शरीर जीर्ण बनाउँदै थियो।

क्यान्सर र केमोले गलाएको शरीरले डा. निलम अधिकारीलाई क्लिनिकल तथा प्राज्ञिक पदचाप घरमै सीमित गर्न सक्थेन।

उनी प्रतिकूलताबीच आफ्नो पुरानो संस्था पाटन अस्पताल एवं स्वास्थ्य विज्ञान प्रतिष्ठानका कक्षा कोठादेखि सेमिनारहरूमा पुगेकै हुन्थिन्।

दुई दशकभन्दा लामो अवधिसम्म डा. निलमसँग काम गरेका पाटन अस्पतालका मेडिकल डाइरेक्टर डा. इमरान अन्सारी भन्छन्, ‘डा. निलमजस्तो कामप्रति त्यतिधेरै लगाव भएको मान्छे मैले जीवनमा निकै कमै मात्र भेटेको छु।’
‘उहाँ मेरो सहकर्मीभन्दा मेन्टर, टिचर र आमाजस्तै हुनुहुन्थ्यो,’ उनी थप्छन्।

चार दशकअघि शान्त भवन अस्पतालका रूपमा चिनिँदादेखि नै पाटन अस्पतालसँग आबद्ध डा. निलम पाटन स्वास्थ्य विज्ञान प्रतिष्ठानकी संस्थापक रेक्टरसमेत हुन्।

त्यस अवधिमा उनले लाखौं बालबालिकालाई जीवन दिइन् र लाखौ बालबालिकाले जीवन पाउने आधार बसाइन्।

दुई दशकभन्दा लामो अवधि अस्पतालको बालरोग विभाग प्रमुखका रूपमा पूर्वाधार, उपकरण र जनशक्ति विस्तारमा डा. निलमले निकै काम गरिन्।

प्राज्ञिक र क्लिनिकका रूपमा पनि विभाग गुणस्तरीय सेवामा स्थापित भयो।

‘उहाँले नेतृत्व सम्हालेको केही महिनाभित्रै नेपालको कामले अन्तर्राष्ट्रिय ख्याति पायो,’ डा. उप्रेती भन्छन्, ‘एक वर्षभित्र विश्व स्वास्थ्य संगठनले भ्याक्सिन सुरक्षा कमिटी बनायो र डा. निलम ग्लोबल कमिटीकै उपाध्यक्ष हुनुभयो।’

‘उहाँले नेतृत्व गरेको समय पाटनको बालरोग विभागका लागि स्वार्णकाल थियो,’ डा. अन्सारी भन्छन्, ‘अक्सफोर्ड विश्वविद्यालयको सहकार्यमा अनुसन्धानसमेत सुरु भयो।’

कुनै संस्थामा रहेर जति प्रतिबद्ध भएर सेवा गरिरहँदा पनि सञ्चारमाध्याममा डा. निलमका कामबारे खासै चर्चा भएनन्।

किनकि, उनको धेरैसँग संगत गर्ने स्वभाव थिएन। समयमै अस्पताल आएर साँझैसम्म विभाग, वार्ड र ओपिडीमै खटिन्थिन्।

सायद, पाटन अस्पतालका प्रत्येक इँटासँग पनि उनको अमिट साइनो थियो।

जतिले चिने निकै सरल, शालिन र आदर्श चिकित्सककारूपमा चिने ।

सहकर्मीहरूका अनुसार उनलाई संस्थाभित्रका राजनीति, सहकर्मीका प्रतिस्पर्धा, सुविधा वा आम्दानीसँग कहिल्यै मोह भएन।

‘उहाँलाई संस्थाप्रति माया थियो र कामप्रति मोह,’ डा. अन्सारी सम्झिन्छन्।

उनको कामप्रतिको लगाव भनेको अवकासपछि पनि उनी प्रतिष्ठान र विभागले गर्ने सेमिनार, कन्टिनियस मेडिकल एजुकेसन (सिएमई) कार्यक्रममा पुग्ने गर्थिन्।

उनको उपस्थितिले कार्यक्रमको गुणस्तरमा धेरै अन्तर पाथ्र्यो। बालरोगकै विशेषज्ञ रहेका पति एवं चिकित्साशास्त्र अध्ययन संस्थान (आइओएम) का पूर्व डिन डा. रमेशकान्त अधिकारी पनि विधागत कार्यक्रममा सँगै हुन्थे।

‘दुवैजना उस्तै शालिन, मेडिकल इथिक्समा रहने र उच्च क्षमता भएका व्यक्ति हुनुहुन्छ,’ वरिष्ठ बालरोग विशेषज्ञ डा. ज्योतिरत्न धाख्वा भन्छन, ‘सभा, सेमिनारमा उहाँहरूले सोध्ने प्रश्न, गर्ने कमेन्ट र दिने इन्पुटले त्यो कार्यक्रमको स्तर नै अर्को हुन्थ्यो।’

अवकासपछि पनि पाटनमा ‘पिजी’ (पोस्ट ग्र्याजुएट) सुरु गर्ने कुरामा उनको निकै चासो थियो। डा. निलम पाटन पुग्दा कक्षा कोठामा पुग्ने र विद्यार्थीसँग अन्तक्र्रिया गरेकै हुन्थिन्।

क्लिनिकल्ली नेपालमा बालरोग उपचार बामे सर्दै गर्दादेखि पछिल्ला दिनसम्म पनि डा. निलमका क्लिनिकदेखि घरसम्म उस्तै भीड हुन्थ्यो। सहकर्मीहरू उनलाई बालरोगको ‘टम प्राक्टिसनर’ भन्छन्।

बालरोग विशेषज्ञ समाजका पूर्वअध्यक्ष डा. धाख्वाका अनुसार सल्लाहकारका रूपमा समाजका कार्यक्रमलाई उचाइ दिन डा. अधिकारी दम्पतीको निकै ठूलो भूमिका छ।

चार दशकअघिको शान्त भवन अस्पताल, पाटन अस्पताल, पाससँगै नेपालको खोप कार्यक्रम र बाल स्वास्थ्यको पब्लिक हेल्थतर्फ पनि डा. निलमले पु¥याएको योगदान अविष्मरणीय र अतुलनीय रहेको बाल स्वास्थ्य महाशाखाका पूर्वनिर्देशक डा. श्यामराज उप्रेती बताउँछन्।

डा. उप्रेतीले सन् २००९ मा डा. निलमलाई पहिलोपटक चिनेको र सहकार्य सुरु गरेपछि उनको क्षमता उच्चकोटीको पाएको बताए।

नेपालको बाल खोप कार्यक्रमलाई प्रभावकारी बनाउन २००९ मै खोपपश्चात् हुने अवाञ्छित घटना अनुसन्धान कमिटी बनेको थियो। त्यसको प्रथम अध्यक्ष डा. निलम नै थिइन्।

‘उहाँले नेतृत्व सम्हालेको केही महिनाभित्रै नेपालको कामले अन्तर्राष्ट्रिय ख्याति पायो,’ डा. उप्रेती भन्छन्, ‘एक वर्षभित्र विश्व स्वास्थ्य संगठनले भ्याक्सिन सुरक्षा कमिटी बनायो र डा. निलम ग्लोबल कमिटीकै उपाध्यक्ष हुनुभयो।’
डा. उप्रेती डा. निलमको क्षमता र मेहनत निकै अतुलनीय पाएको सुनाउँछन्।

सायद, सात दशकभन्दा लामो जीवन यात्रामा उनले कमै शब्द बोलिन् र कयौं गुणा बढी काम गरेर देखाइन्।

‘आफू कुनै क्षेत्रमा सहभागी भएपछि अब्बल बनेर काम गर्नसक्ने क्षमताको डाक्टर हुनुहुन्थ्यो,’ उप्रेति भन्छन्, ‘पछि विश्व स्वास्थ्य संगठनले उहाँलाई अफ्रिकी देशहरूमा पनि भ्याक्सिन सुरक्षाका लागि काम गर्न प्रशिक्षकका रूपमा पठायो।’

भारतको मध्यमवर्गीय परिवारमा जन्मिएकी डा. निलमले क्षमताकै बलमा एमबिबिए र प्रतिस्पर्धाबाट चर्चित अलइन्डिया मेडिकल इन्स्टिच्युटबाट बालरोगमा एमडी गरेकी थिइन्।

अध्ययन क्रममै डा. रमेशकान्तसँग भेट भएपछि विवाह जुरेको थियो। हतपत परिवारका कुरा नगर्ने डा. निलम बाल्यकालमा धेरै दिदीबहिनी भएका मध्यमवर्गीय परिवारमा छोरीको शिक्षाका लागि बाबुआमाले गरेको संघर्ष सुनाउँथिन्।

यो सबै आफ्ना कनिष्ठ र विद्यार्थीहरूले प्रेरणा लिन सकुन् भन्ने सोचबाट उनले सुनाउने गर्थिन्।

‘डा. निलमले अरूलाई प्रेरित गर्न कहिल्यै शब्द खर्च गर्नुपर्थेन,’ डा. अन्सारी थप्छन्, ‘शब्दले होइन कामले नै अर्कालाई मोटिभेट गर्नसक्ने क्षमता उहाँमा थियो।’

सायद, सात दशकभन्दा लामो जीवन यात्रामा उनले कमै शब्द बोलिन् र कयौं गुणा बढी काम गरेर देखाइन्।

 

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित समाचार

  • ताजा समाचार
  • जनप्रिय