श्वासप्रश्वासमा समस्या भए कोरोना संक्रमितलाई घरैमा अक्सिजन

बुटवल उपमहानगरपालिकाले श्वासप्रश्वासको समस्या भएका कोरोना संक्रमितका लागि घरघरमै अक्सिजन सिलिण्डर पुर्याउने गरी तयारी गरेको छ ।

बुटवलका अस्पतालमा आइसियु बेड अभाव भइ संक्रमितको ज्यान गएका खबर निरन्तर आउन थालेपछि उपमहानगरले यस्तो तयारी गरेको हो ।

 

अघिल्लो हप्ता मात्रै आइसियु बेड अभावकका कारण उपमहानगरकै एक कर्मचारीको ज्यान गएको थियो । त्यस लगत्तै कार्यपालिकाको बैठकले प्रदेश सरकारलाई आइसियु बेड थप्नका लागि निर्णय गर्दै अनुरोध गरेको थियो ।

 

बुटवल उपमहानगरले अहिले होम आइसोलेसनमा रहेकाहरूको परीक्षण, नियमित स्वास्थ्य निगरानी, योग र आयुर्वेद ओखती वितरण, एम्बुलेन्स तयारी अवस्थामा राखेको जनाएको छ ।

 

नगरका दीर्घ रोगीको विवरण संकलन गरेर घरमै अत्यावश्यक औषधी पुर्याएको उपमहानगरले अहिले दीर्घरोगी र संक्रमितको अवस्थालाई मध्यनजर गर्दै अक्सिजन सहितको स्वास्थ्य सेवा पुरयाउने तयारी गरेको हो ।

 

होम आइसोलेसनमा बसेकालाई तत्कालै अक्सिजन मात्रै भएपनि स्वास्थ्य अवस्था नबिग्रने देखिएपछि अक्सिजनको व्यवस्था गर्न लागिएको नगर प्रमुख सुवेदीले बताए ।

उनका अनुसार आवश्यक प्रक्रिया पूरा गरेर अक्सिजन उपलब्ध गराउने र स्वास्थ्यकर्मीलाई समेत घरमै पठाउने तयारीका लागि प्राविधिकसँग छलफल भएको छ ।

यसका लागि उपमहानगरको स्वास्थ्य तथा जनसंख्या महाशाखामार्फत स्वास्थ्यकर्मी, प्राविधिकलाई अक्सिजन उत्पादकसमक्ष छलफल गर्न प्रमुख सुवेदीले निर्देशन दिइसकेका छन् ।

 

अक्सिजन उत्पादक कम्पनी र कोरोना उपचारका लागि स्थापना भएका अस्पतालसँग प्राविधिक अध्ययनसँगै प्रक्रिया अगाडि बढाइएको प्रमुख सुवेदीले बताए ।

 

बुटवल उपमहानगरका सहरी स्वास्थ्य प्रर्बद्धन केन्द्र तथा स्वास्थ्य चौकीको सेवाप्रवाहलाई अझ व्यवस्थित गराउँदै जस्ता स्वास्थ्य संस्थामार्फत वडा तहको सहकार्यमा संक्रमितको नियमित स्वास्थ्य निगरानी शुरू गरिएको छ ।

 

यसका लागि उपमहानगरले वडा तहमै तत्काल रेस्पोन्स टीम बनाउने तयारी गरेको छ ।

 

प्रमुख सुवेदीले जनस्वास्थ्यको क्षेत्रमा उपमहानगर जिम्मेवार रहँदै आएको बताउँदै उपलब्ध रहेका साधन स्रोतको अभावमा कसैको पनि अकालमा ज्यान नजाओस् भनेर थप संवेदनशील बनेको बताए ।

 

उपमहानगरका कर्मचारीको कोरोना संक्रमण भइ आइसियु अभावमा निधन भपछि उपमहानगरमा जनप्रतिनिधिले थप तदारुकता देखाएका छन् ।

 

बुटवल उपमहानगरभित्र २ हजार ७ सय १३ जना कोरोनाबाट संक्रमित भइसकेका छन् ।

त्यसमध्ये २ हजार ६ जना निको भइसकेका छन् भने ७ सय ७ जना संक्रिय संक्रमित रहेकोमा ६८५जना होम आइसोलेसनमा रहेको स्वास्थ्य शाखाकी गीता पाण्डेले जानकारी दिइन ।

उनका अनुसार बुटवल उपमहानगरसँग कोरोनाबाट ३४ मृत्यु भइसकेको विवरण छ ।

 

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित समाचार

  • ताजा समाचार
  • जनप्रिय