कोरोनाको हटस्पट बन्दै झापा, कुल ४५ मृत्यु, एकै दिनमा ७६ जना संक्रमित
केही समय संक्रमण मत्थर भएको झापामा फेरी नयाँ संक्रमण र मृत्युदर समेत बढ्न थालेको छ । आइतबारमात्रै ७६ नयाँ संक्रमित थपिए ।
कोरोना थप एकजनाको मृत्यु भएको छ ।
मृत्यु हुनेमा दमक नगरपालिका २ का दंगाल थरका ६७ वर्षीय बृद्ध छन् ।
उनको दिउँसो नोबल हस्पिटल विराटनगरमा मृत्यु भएको हो । उनलाई कात्तिक १० गते उपचारका लागि विराटनगर लगिएको थियो ।
योसँगै झापामा कोरोनाका कारण मृत्यु हुनेको संख्या ४५ पुगेको छ।
झापामा २४ घण्टामा ७६ जना कोरोना संक्रमित थपिएका छन् । त्यसमा ४५ पुरुष र ३१ महिला छन् ।
सबैभन्दा बढी दमक नगरपालिकामा ४५ जना छन् । जिल्ला जनस्वास्थ्य कार्यालय झापाको रेकर्डअनुसार दमकमा २० महिला सहित ४५ जना संक्रमित भएका हुन् ।
त्यसमा चारदेखि ८० वर्ष उमेर समूहका छन् । उनीहरू दमक १, २, ५, ६, ७, ८ र ९ का बासिन्दा हुन् । कमल गाउँपालिकामा ११ जना संक्रमित थपिएका छन् ।
त्यहाँ सात पुरुष र चार महिलामा संक्रमण देखिएको हो । मेचीनगर नगरपालिकामा चार पुरुष र दुई महिला, बिर्तामोडका तीन पुरुष र दुई महिला , गौरादहमा दुई पुरुष र एक महिलामा संक्रमण पुष्टि भएको छ ।
शिवसताक्षी नगरपालिकामा एक महिला र एक पुरुष, कनकाई, अर्जुनधारा र बुद्धशान्तिमा एक र एक जना पुरुष तथा बाह्रदशी गाउँपालिकामा एक महिलामा कोरोना संक्रमण भएको जनस्वास्थ्य कार्यालयले जनाएको छ ।
झापामा अहिलेसम्म दुई हजार ९५ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । त्यसमध्ये एक हजार ३०७ जना निको भएर घर फर्किएका छन् ।